युरोकपको फाइनल भिडन्त आज, ‘इट्स कमिङ होम’ रहला त घरमै

उपेन्द्र शाही
२७ असार २०७८ १२:२०

काठमाडौं। युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कप २०२० को उपाधिका लागि इङ्ल्यान्ड र इटाली भिड्दै छन्।
इङ्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा हुने फाइनल खेल आइतबार (आज) राति १२ः ४५ बजे सुरु हुँदैछ।

युरोपका विभिन्न ११ शहरमा भइरहेको प्रतियोगितामा सहभागी २४ टिमहरुमध्ये उपाधि चुम्ने एक टिमको छिनोफानो आइतबार राति हुँदैछ। जसमा पहिलो पटक युरोकपको फाइनल पुगेको इंग्ल्याण्ड र एक पटकको विजेता बनीसकेको इटालीबीच प्रतिस्प्रधा हुँदैछ।

घरेलु टोलि इंग्ल्याण्डका लागि यो खेल धेरै अर्थमा खास हुने छ। इंग्ल्याण्डको फुटबल इतिहासले सन् १९६६ मा घरेलु मैदानमा चुमेको विश्वकपको उपाधि बाहेक अन्य गर्विलो इतिहास बनाउन सकेको छैन।

५५ वर्ष पहिले घरेलु मैदान वेम्बलीमा घरेलु समर्थकमाझ वेस्ट जर्मनीलाई ४ – २ गोलले पराजित गरेर इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।

१९६६ मा पहिलो पटक विश्वकफ फुटबलको उपाधि हासिल गरे पश्चात इंग्ल्याण्डले उपाधिको त कुरै छाडौं कुनै पनि मुख्य प्रतियोगिताको फाइनलसम्म समेत पुग्नन सकेकाे छैन। सन् २०१८ को विश्वकपमा सेमिफाइनलसम्म पुग्नु नै यस अवधिमा इंग्ल्याण्डको सर्वाधिक उच्च प्रतिफल रहेको थियो।

तर, मुख्य प्रतियोगिताको फाइनल सम्म पुग्न इंग्ल्याण्डले ५५ वर्ष कुर्नु पर्यो। र इंग्ल्याणड १६ औं संसकरणको युरोकप फुटबलको फाइनलमा पुग्न सफल भएको हो।

इंग्ल्याण्डको उपाधि यात्रामा एउटा गज्जबको संयोग जुरेको छ। कि ५५ वर्ष पहिलेको सोही इतिहास दोहर्याउने। उही मैदान, घरेलु दर्शकको समर्थनमाझको पहिलो युरोकपको उपाधि।

आइतबार इटालीविरुद्ध मैदानमा उत्रिदा इंग्ल्याण्डका समर्थकहरुको मुखारविन्दुमा झुण्डिएको हुने छ ‘इट्स कमिङ होम’ को नारा। सोही नारा हरेक इंग्लिश समर्थकको मन्त्रले मैदान गुन्जयमान बनेपछि १२ औं खेलाडीको रुपमा दर्शकको साथ रहनेछ।

तर, उत्कृष्ट प्रर्दशन जारी राखेर पछिल्ला ३३ खेलमा अपराजित इटालीलाई हराउन इङ्ल्यान्डलाई पक्कै पनि सहज हुने छैन।

इटालीले पनि युरोकपको उपाधि जित्न नसकेको ५३ वर्ष वितिसकेको छ। पछिल्ला ३३ खेलमा अपराजित इटाली इङ्ल्यान्ड विरुद्धको खेलमा पनि सोही नतिजालाई कायम राख्ने सोचमा हुनेछ।

सन् १९६८ मा आफ्नो एकमात्र युरो कप उपाधि जितेको इटाली त्यसपछिका संस्करणमा दुई पटक फाइनलसम्म पुगेर पराजय भोगेको छ।
इङ्ल्यान्डलाई हराउँदै इटाली आफ्नो पुरानो घाउ मेट्न चाहन्छ। पुरानो घाउ यस अर्थमा कि युरो २००० र युरो २०१२ मा फाइनलसम्म पुगेर पनि इटाली उपविजेतामा सिमित बनेको थियो।

विश्व फुटबलमा गर्विलो इतिहास बोकेको इटाली अर्को घाउमा मलम पनि लगाउन चाहान्छ। तीन पटक विश्व विजेता बनीसकेको इटाली सन् २०१८ मा विश्वकपमा छनोटसम्म पनि हुन सकेन र विश्वभरका समर्थकबाट आलोचनाको शिकार बनेको थियो।

छनोट हुन नसकेपछि खेलाडीहरु मैदानबाट बाहिरीदै गर्दाका तस्विरहरुले विश्व फुटबललाई नै भावुक बनाएको थियो। त्यसको ३ वर्षपछि उक्त घाउमा मलम लगाउन र समर्थकलाई खुसी फर्काउने इटालीका लागि यो सुनौलो अवसर हुनेछ।

लगातार दुई पटक १९३४ र १९३८ मा विश्व विजेता बनेको इटालीले त्यसपछि २००६ मा तेस्रो पटक विश्वकप जितेको थियो। इटालीले विश्वकपमा पनि दुई पटक फाइनमा पराजय भोगेको छ।

हेड टु हेड

इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इटालीसँगको फाइनल भेट पक्का गरेको हो। इंग्ल्यान्डले सोचे जस्तो प्रर्दशन गर्न नसके पनि डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो।

यस्तै इटालीले सेमिफाइनलमा तीन पटकको युरोपियन च्याम्यिन स्पेनलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। रोमान्चक खेलमा स्पेनलाई ४ २ गोलले पराजित गर्दै इटालीले फाइनलको यात्रा सुनिश्चित गरेको हो।

हालसम्म यी टिमले २७ खेलमा एक अर्काको सामना गरेका छन्। जसमा इटाली ११ खेलमा विजयी भएको छ भने इंग्ल्यान्ड ८ खेलमा विजयी भएको छ। यस्तै ८ खेल बराबरीमा सकिएका छन।

यी दुईले एक अर्काविरुद्ध मुख्य प्रतियोगितामा ४ पटक खेलेका छन्। जसमा चारै खेल इटालीले आफ्नो पक्षमा पारेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *