मेस्सी करिअरमै पहिलो पटक क्लवविहीन, प्रत्येक दिन १ लाख युरोको दरले पैसा गुमाउँदै

डिसी नेपाल
२७ असार २०७८ १४:५८

काठमाडौं। अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनेल मेस्सीले अहिले प्रत्येक दिन १ लाख युरोको दरले पैसा गुमाइरहेका छन् । १ जुलाइका दिन मेस्सीको बार्सिलोनासँगको सम्झौताको म्याद सकिएको छ र पछिल्लो ११ दिनदेखि उनी क्लवविहीन छन् । मेस्सी आफ्नो करिअरमै क्लवविहीन भएको यो पहिलो पटक हो ।

आजै आफ्नो करिअरमै पहिलोपटक देशको लागि उपाधि जितेका मेस्सीले बार्सिलोनाबाट भने धेरै उपाधि जितेका छन् । तर, मेस्सी अहिले बार्सिलोनाका खेलाडी होइनन्, उनी अहिले फ्रि एजेन्ट हुन् । अब उनको भविष्य के हुने र बार्सिलोनामा उनको करिअर अगाडि बढ्ने वा नबढ्ने भन्ने कुरा निर्णय हुन बाँकी नै छ ।

फ्रेन्च अखबार एल इक्विपका अनुसार बार्सिलोनासँग सम्झौता सकिएसँगै मेस्सीले प्रत्येक दिन १ लाख युरोका दरले पैसा गुमाइरहेका छन् र हिजोसम्म मात्रै उनले १ मिलियन युरो गुमाइसकेका छन् । यसअघि एल मुन्डोले बार्सिलोनाबाट मेस्सीले गर्ने कमाइको हिसाब गरेको थियो । सोही आधारमा एल इक्विपले मेस्सीले गुमाइरहेको पैसाको हिसाब निकालेको हो ।

एल मुन्डोका अनुसार मेस्सीले बार्सिलोनामा छँदा प्रत्येक सिजन १३८.९ मिलियन युरो कमाइरहेका थिए । यसबाट उनले सबै किसिमका करहरु तिरेर ७४.९० मिलियन युरो खुद कमाइ गरिरहेका थिए । एल इक्विपका अनुसार यदि मेस्सी र बार्सिलोनाबीच १ जुलाइबाट पारिश्रमिक घटाउने सम्झौता भएको भए मेस्सीले अहिले प्रत्येक दिन १ लाख युरो पाइरहेका हुन्थे ।

अर्को सिजन सुरु हुन १ महिनाभन्दा थोरै बढी समय बाँकी रहँदासम्म मेस्सीको भविष्य अनिश्चित छ । यद्यपि मेस्सी अहिले घाटामा गइरहेको भए पनि उनका कुनै पनि प्रायोजकले उनी बार्सिलोनामा नरहने अवस्थामा सम्झौता तोड्ने भनेका छैनन् । उता पिएसजीले बार्सिलोनासँग सम्झौता अगाडि नबढ्ने अवस्थामा मेस्सीलाई आफ्नो क्लवमा ल्याउन प्रयास गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *