अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी सिरिज वेस्ट इन्डिजलाई

डिसी नेपाल
२९ असार २०७८ १७:१६

काठमाडौं । अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिज घरेलु टोली वेस्ट इन्डिजले जितेको छ । सेन्ट लुसियामा मंगलबार भएको तेस्रो टी–ट्वान्टीमा अष्ट्रेलियामाथि ६ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले दुई खेल अगावै सिरिज ३–० ले जितेको हो ।

अष्ट्रेलियाले दिएको १ सय ४२ रनको लक्ष्य वेस्ट इन्डिजले १४ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजको जितमा क्रिस गेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यससँगै गेलले टी-ट्वान्टी क्रिकेटमा १४ हजार रन पूरा गरेका छन् ।

यस्तै कप्तान निकोलस पुरनले अविजित ३२ रन जोड्दा लेन्डल सिमोन्सले १५ रन बनाए । अष्ट्रेलियाका रिले मेरेडिथले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । अष्ट्रेलियाका मोइसेस हेन्रिक्सले ३३ रन जोड्दा कप्तान आरोन फिन्चले ३० रन बनाए । एस्टन टर्नरले २४ र म्याथ्यु वेडले २३ रन बनाए । वेस्ट इन्डिजका ह्येडेन वाल्सले २ विकेट लिए ।

यससँगै वेस्ट इन्डिजले २६ वर्षपछि वेस्ट इन्डिजले अष्ट्रेलियाविरुद्धको सिरिज जित्न सफल भएको छ । सन् १९९५ को मार्चपछि अष्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजले कुनैपनि फर्म्याटको सिरिज जित्न सकेको थिएन । दुई टोलीबीचको चौंथो खेल बिहीबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *