गठबन्धन सरकारको चाहना, पूर्ण अवधिको संसद्

डिसी नेपाल
३१ असार २०७८ ६:१८
416
Shares

काठमाडौं। विपक्षी गठबन्धनबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको मिसन ‘पूर्ण अवधि संसद्’ भन्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्टिय जनमोर्चाको पाँच दलीय गठबन्धनबाट बनेको सरकारले संसद्लाई पूर्ण अवधि चलाउने लक्ष्य राखेको छ ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई दुईपटक विघटन गरी निर्वाचन घोषणा गरेपछि विपक्षी गठबन्धनमा रहेका दलहरूले पूर्ण अवधि संसद्को माग गर्दै आएका थिए ।

प्रधानमन्त्री देउवानिकट कांग्रेस नेता मीन विश्वकर्माले विपक्षी गठबन्धनको सुरुदेखिको लक्ष्य नै मिसन गर्भमेन्ट र पूर्ण अवधि संसद् रहेको उल्लेख गर्दै संसद्को पूर्ण अवधिलाई सरकारले ख्याल गर्ने बताए ।

‘विपक्षी गठबन्धनको लक्ष्य नै पूर्ण अवधिको संसद् हो, पाँच दलीय गठबन्धनले हिजो आन्दोलनका क्रममा पनि त्यही भनेको हो, यो संसद्ले आयु पूरा गरोस् भन्ने सबैको चाहना छ,’ प्रधानमन्त्री देउवा निकट नेता विश्वकर्माले भने ।

उनले प्रधानमन्त्री देउवाले हतार नगरी ३० दिनभित्र संसद्बाट विश्वासको मत लिने र संसद्लाई पूर्ण अवधि लैजाने दाबी गरे । ‘यो सरकारले ३० दिनभित्र विश्वासको मत लिन्छ, विश्वासको मतसँगै संसद्ले पूर्ण जीवन पाउँछ,’ विश्वकर्माले थपे ।

संविधान अनुसार प्रधानमन्त्री देउवाले आगामी २९ साउनभित्र अर्थात् प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने आजको राजधानी दैनिकमा खवर छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *