मानव अधिकार आयोगद्वारा विदेश जाने श्रमिकलाई खोप सुनिश्चिताको आग्रह

डिसी नेपाल
१ साउन २०७८ १८:५५

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि एकपटक मात्र लगाए हुने तथा गन्तव्य मुलुकले समेत मान्यता दिएको कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार आयोगले विज्ञप्तीमार्फत नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि स्वदेशमै एक पटक लगाउदा हुने खोपको व्यवस्था गरिदिन आग्रह गरेको हो ।

आयोगले रोजगारीका लागि जाँदा गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई पर्न सक्ने कठिनाइको न्यूनीकरणका लागि आवश्यक सहजीकरण गरी नेपाली श्रमिकहरुको मानव अधिकारको संरक्षण गर्न पनि आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा कतार, साउदी अरबलगायतका मुलुकहरुमा कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप नलगाई प्रवेश गरेका नेपाली श्रमिकहरुलाई तोकिएको समय अनिवार्य क्वारेण्टिन बस्नुपर्ने, पिसिआर परीक्षण गर्नुपर्ने तथा पिसिआर परीक्षण नेगेटिभ आए पनि क्वारेण्टिनमा रहनै पर्ने व्यवस्था गरेको स्मरण गरिएको छ । साथै, श्रम गन्तव्य मुलुकहरुमा कोभिड–१९ महामारी नियन्त्रणका लागि अपनाइएका ति प्रावधानले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई आर्थिक व्ययभार बढ्ने देखिएको आयोगले जनाएको छ ।

तसर्थ आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई कोभिड–१९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलगायत अन्य सम्बन्धित निकायहरुलाई पत्रचार गरिसकिएको जनाएको छ ।

आयोगले कोभिड–१९ महामारीमा नेपाली आप्रवासी श्रमिकहरुको मानव अधिकारको अवस्थाका बारेमा गत वर्षदेखि नै अध्ययन तथा अनुगमन गर्दै आइरहेको छ । आयोगले गरेको अध्ययन तथा अनुगमनबाट गन्तव्य देशहरुमा एकतर्फी रुपमा करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने, कामबाट निष्काशन गर्ने, पूरा तलब/सुविधा भुक्तानी नदिने, जबरजस्ती श्रममा लगाउने, मापदण्डभन्दा बढी समय वा जोखिमयुक्त काममा लगाउने लगायतका तथ्यहरु प्राप्त भएको जनाइएको छ ।

सो तथ्यहरुको आधारमा आयोगले आप्रवासी श्रमिकहरुलाई उद्धार, स्वदेश फिर्ती तथा पुनर्एकीकरण गराई उनीहरुको मानव अधिकार संरक्षणका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई सिफारिस पनि गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *