व्यंग्य :अम्रिकामा अध्यक्षहरूकाे सिँगौरी – Dcnepal

व्यंग्य :अम्रिकामा अध्यक्षहरूकाे सिँगौरी

” अध्यक्ष ” भन्ने शब्दसँग जुन भावना जोडिएको छ ,त्यो बडो सुखदायी हुन्छ। बडो प्रिय र मखलेल बनाउने खालको हुन्छ यो पद। म केही हुँ। अरु भन्दा ठुलै हुँ। बरिष्ठै हुं । भन्ने भाब जगाउन र लघुताभासबाट बाहिर निस्कन,यो शब्द र पद बडो सहायक हुन्छ।

आफ्नो नामको अगाडि “अध्यक्ष” जोडिएपछि सारा लघुताभास एकाएक गायब हुन्छ। अनि नाममा झुण्डिएर आएको यो शब्दले दिने राहत, आनन्द र अहम बर्णन गरिनसक्नुको गज्जब हुन्छ। किनभने, सन्ते पनि आफ्नो जमानामा कयौंपटक अध्यक्ष भएको छ। त्यो शब्दले बोक्ने भारी भर्कम अहमतालाई उसले अनुभूत गरेको छ।

सरस्वती पूजा मुल आयोजक समितिका अध्यक्ष श्री हरिप्रसाद चिमरियाज्यू भनेर माईकबाट सुन्दा, उबेला , सन्ते, यस्तै आनन्दको अनुभुती गर्थ्यो। अनेरास्ववियू प्रारम्भिक कमिटीका अध्यक्षमा श्री हरिप्रसाद चिमरियाज्यू सर्बसम्मतले चयन हुनुभएको छ, भनेर घोषणा हुँदा, सन्ते , आफू वरिपरि हेर्थ्यो र आफू जतिको कोही रहेनछ भनेर गजक्क पर्थ्यो।स्मरण रहोस् , हरिप्रसाद चिमरिया सन्तेको आधिकारिक नाम हो।

अझै पनि मेरा आफन्त र भाइसाथीको बृतमा बहुमत सदस्य अध्यक्ष नै छन्। मेरो गाउँमा मात्रै, मैले चिनेका, कम्तिमा दुई दर्जन छिमेकी कहीं न कहीं अध्यक्ष छन् ।  एक जना त , भिमसिने बोका संरक्षण समितिका अध्यक्ष पनि मैले चिनेको छु। 

सन्ते कयौंपटक अध्यक्ष मात्रै भएको छैन। खासमा सन्तेले अध्यक्ष भन्दा तलको मान्छेको खासै संगत पनि गरेको छैन। अध्यक्ष भन्दा तलकासँग सन्तेको उस्तो उठबस र चिनजान पनि छैन। खासमा , सन्तेका बाउ, काका, मामा, भिनाजु, जुवाँइं, फुपाजु , साथीभाइ , छरछिमेकी सबै, कुनै न कुनै समितिको गरिमामय अध्यक्षमा बिराजमान भएकै छन।

यसमा अब गर्व गर्ने कि लाज मान्न्ने भन्ने निचोड पुग्न नसकेर सन्ते सधैं हैरान हुन्छ , त्यो बेग्लै कुरा भयो। पछि पछि सन्तेलाई अध्यक्षले पत्याएन कि, सन्तेले अध्यक्षमा रुचि देखाएन म दाबीका साथ भन्न सक्दिन। तर दुई दशक भयो सन्तेका अगाडि अध्यक्ष झुन्डिन छोडेर सन्तेको नाम बुच्चो भएको , नसुहाँउदो भएको।

तर पनि , सन्तोकको कुरो के छ भने ,अध्यक्षहरुसँगको संगतको सौभाग्यले सन्तेलाई कहिलै पनि छोडेको छैन। अझै पनि मेरा आफन्त र भाइसाथीको बृतमा बहुमत सदस्य अध्यक्ष नै छन्। मेरो गाउँमा मात्रै, मैले चिनेका, कम्तिमा दुई दर्जन छिमेकी कहीं न कहीं अध्यक्ष छन् । एक जना त , भिमसिने बोका संरक्षण समितिका अध्यक्ष पनि मैले चिनेको छु।

उबेला सन्तेले एक दशक अरबमा बेल्चा हानेको त तपाईलाई थाहै छ। तर बेल्चा हानेको दुख बिर्साउने गरिको खुशी र सन्तोकको कुरो के छ भने, एक दशक अरब बस्दा पनि, सन्तेले अध्यक्ष भन्दा मुन्तिरका सानातिना मान्छेको संगत गर्नु परेन। त्यहाँ झन खजुरको रुखको संख्या र प्रवाशी नेपाली अध्यक्षहरुको जनसंख्या बराबरै थियो होला।

अझ गोर्खे अध्यक्षहरु बढ्तै पो थिए कि भन्ने मेरो अनुमान् छ। हुन त एकदुई जना , उपाध्यक्ष , सचिब र सदस्यहरु मैले नभेटेको होइन। तर अर्कोपटक भेट्दा ती सबै अध्यक्षमा उक्लिसकेका हुन्थे। त्यसैले पनि , अध्यक्ष भन्दा मुन्तिरका सान्तिना मान्छेसँग, सन्तेले उस्तो संगत गरेन। भएन।

 

अब यता अम्रिकातिरको अध्यक्ष महात्मेको ब्यथा पनि फलाकी नसक्नुको चर्को छ। सन्तेको सौभाग्य हेर्नुस् , यहाँ पनि सन्तेले अध्यक्ष भन्दा तलका मनुवासँग भेटघाट र गफगाफ गर्नु परेको छैन। यहाँ त झन , देउता भेटिएला तर अध्यक्ष भन्दा मुन्तिरको एउटा नेपाली भेटिँदैन।

कथंम त्यस्तो दुर्भाग्य घटिहालेछ भनेपनि, अर्कोपटक भेट्दा उ अध्यक्ष भैसकेको हुन्छ। भिसा लागेको प्रत्येक नेपाली , पहिला अम्रिका आएपछि अध्यक्ष बजाउंछ अनि मात्रै घन्टा बजाउनतिर लाग्छ भन्ने सन्तेको कठोर बिश्वास छ।

यिनै अमृकाने गोर्खे अध्यक्षहरुको, न्युयोर्कमा भएको महाकुम्भमा अस्ति घमासन पर्‍याे। टाईसुट ढल्काएका र हात हातमा लेटेस्ट लेटेस्ट आइफोन बोकेका अध्यक्षहरुले माइक खोसेको, पाखुरा सुर्केको, टेबुल बजारेको र पुंडे गोरुले सिँगौरी खेलेको मुद्रामा पुछर उचालेर जुध्न ठिक्क परेको देखेर म झसंग भए । हैट ! बेहोरा भनेको बेहोरै हुँदो रैछ जस्तो लागेर आयो ।

संसारले थाहा पाए के भन्ला जस्तो पनि लाग्यो । फेरि उत्तिनै खेर , नाथे गोर्खेहरुको भाले जुदाइमा संसारलाई के चासो होला भन्ने ठानेर , धेरैबेर तनाब लिइन ।

हुन पनि हो। यो धर्तीमा प्रत्येक गोर्खे अध्यक्ष हुन नै जन्मिएको हो। उसलाई त्यो भन्दा तल केही हुन स्वीकार छैन। त्यसैले , जुनसुकै मूल्यमा भएपनि ,गोर्खेलाई एउटा अध्यक्ष चाहिन्छ। नामका अगाडि अध्यक्ष नझुण्डिएको गोर्खे र खाइलाग्दा जाइफल नझुन्डिएको साँडे उस्तै उस्तै हुन्। अध्यक्ष र जाइफल नझुन्डिनु भनेको साँडे र गोर्खे दुबैका लागि शानको बर्खिलाप हो ।

यिनै बडे अध्यक्षहरुका छोटे छोटे कार्यकर्ता यता आइसकेपछि , अध्यक्ष हुन खोज्नु, भइरहन बल गर्नु र हुन नपाउदा आइफोन स्वास्नीलाई जिम्मा दिएर ,सिँगौरी खेल्दै र हुँक्का गर्दै मंचतिर जाइलाग्नु कुन ठूलो कुरा हो ? कुन अचम्म हो ?  म त भन्छु, यो स्वभाविक हो। धन्न दुईचार दाँत खसेनन्। दुईचार खप्पर फुटेनन्। दाँत नझर्नु र खप्पर नफुट्नु चाहिँ अस्वभाविक हो। 

त्यसैले त, प्रत्येक गोर्खेजन टाउकोले टेकेर भएपनि, एकबारको जुनिमा अध्यक्ष हुन, भइरहन र हुन नपाए अनेकौं तिकडम गर्न पछि पर्दैन। पुषका चिसामा सडकमा बस्न गाह्रो मान्दैन। ४० बर्ष अध्यक्ष डकारी सक्दा पनि अघाउँदैन। र , फेरि अध्यक्ष खान पनि लजाउँदैन।

यिनै बडे अध्यक्षहरुका छोटे छोटे कार्यकर्ता यता आइसकेपछि , अध्यक्ष हुन खोज्नु, भइरहन बल गर्नु र हुन नपाउदा आइफोन स्वास्नीलाई जिम्मा दिएर ,सिँगौरी खेल्दै र हुँक्का गर्दै मंचतिर जाइलाग्नु कुन ठूलो कुरा हो ? कुन अचम्म हो?

म त भन्छु, यो स्वभाविक हो। धन्न दुईचार दाँत खसेनन्। दुईचार खप्पर फुटेनन्। दाँत नझर्नु र खप्पर नफुट्नु चाहिँ अस्वभाविक हो।त्यसैले कुनै पनि एउटा गोर्खे अध्यक्षले , अर्को गोर्खे अध्यक्षको माइक खोस्नु ठूलो कुरो होइन। सिङ तिखार्नु अचम्म होइन। हुक्काँ गर्नु र सिँगौरी खेल्दै मंचतिर जानु अचम्म होइन।

किनभने , नेपाली भनेकै अध्यक्ष हो । र, अध्यक्ष भनेकै नेपाली हो । चिसो र कोकाकोला भनेजस्तै। कुरो बुझ्नु भो !

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो