नियात्रा : साहित्यको जक्सनमा होमोसेक्सुअल ज्याक्सन हाइट

डिसी नेपाल
२ साउन २०७८ ७:४२

सुनेको नाम थियो न्युयोर्कको ज्याक्सन हाइट। महेश विक्रम शाहको एउटा कथा यसै ज्याक्सन हाइटको जिन्दगीको पेरिफेरिमा बुनिएको पढेको थिएँ। संसारकै सबैभन्दा बढी आप्रवासी बसोबास गरेको यो सहरमा नपुगी न्युयोर्क घुमेको स्वाद नै आउन्न भन्थे जानिफकारहरू।

त्यस कारण मेरो सपनाको गन्तव्यमा सुसुप्त नै भए पनि ज्याक्सन हाइट परेकै थियो। अमेरिकामा कोरोना विदा हुन थालेको थियो। निर्धारित स्थानबाहेक अन्यत्र मास्क लगाउनु पर्ने नियम सरकारले नै औपचारिक रूपमै हटाइसकेको थियो।

हामीले पनि फाइजरका दुई डोज खोप लगाइसकेका थियौँ। अब जे त होला भन्ने विचार आइरहेको थियो। यस्तैमा सुसंयोग २०२१को मे महिनामा पारिवारिक कारणले हामी याने कि म र मेरी श्रीमती सुशा सशरीर न्युयोर्क पुगेका थियौँ।

न्युयोर्क पुगको मौकामा म त्यहाँका साहित्यिक मित्रहरूसँग सशरीर भेट्न चाहन्थेँ। परिचय गर्न चाहन्थेँ। रमाउन चाहन्थेँ। रौसिन चाहन्थेँ। यसो भएकाले मैले फेसबुकमा चिनेकी साहित्यकार रश्मी भट्टलाई म न्युयोर्क आएको सूचना दिएको थिएँ। हामी साहित्यका खातिर भेटिन चाहन्थ्यौँ।

तर परिस्थिति हाम्रा अनुकुल थिएन। रश्मी बहिनी बस्ने लङ्ग आइल्यान्ड र म बस्ने ट्यापोनका बीचमा गाडीदूरी झण्डै ३ घण्टाको थियो। यसै बीच साहित्यकार रश्मीले मलाई भन्नुभएको थियो कि शनिबारका दिन कवि जानुका वस्ती ढकालको कवितासङ्ग्रह ‘झरीको किरण’को विमोचन कार्यक्रम छ। त्यसमा दाइ आउनू। न्युयोर्कका प्रायः सबै साहित्यकारहरूसँग भेट तथा परिचय हुन्छ।

त्यो भनेको दिन सन २०२१ को मे महिनाको २९ तारिक थियो। म बस्ने ठाउँबाट न्युयोर्कको ज्याक्सन हाइट झण्डै एक घण्टाको गुड्ने दूरीमा थियो। बसेको ठाउँबाट रेलसम्म जाने र रेल चढी ज्याक्सन हाइटको सो कार्यक्रममा एक्लै जाने मेरो आँट थिएन। हुतिविहीन भएको हुनाले जान नपाइने कुरामा मनमनै चिन्तित थिएँ ।

तर साहित्यकार बैनीहरू रश्मी तथा जानुकालाई ‘अनुकुल मिले आउँला। समय बलवान छ । समयको आदेश’ जस्ता आलेटाले कुरा गरेर आउन नपाउने सङ्केत गरिरहेको थिएँ। काम तथा समय मिलानका कारणले मेरो सालो सुमेश भट्टराईले मलाई पुर्याउने सम्भावना ज्यादै क्षिण थियो।

यसै प्रसङ्गमा सुमेशले मलाई भनेका थिए–भिनाजु, अलि आफ्नो भाउ राख्नु पर्छ । उनीहरूलाई तपाईँ चाहिने भएपछि लिन÷पुर्याउन आउँछन् नि! त्यो कुरा सम्भव थिएन। किनकि पहिलो कुरा त म उसले सोचेजति भीआईपी थिइनँ।

त्यो कार्यक्रम मेरालागि तय भएको पनि थिएन। म त केबल पाएको मौकामा सहभागी हुन खोज्ने एक साहित्यिक रहरे मात्र थिएँ। त्यसमाथि न्युयोर्कको रेल र बसले धानेको नेपाली साहित्यकारहरूको जिन्दगीमा गाडी हुनु र त्यो गाडीले मलाई चिन्नु न जान्नु ल्याइ÷पुर्याइ गरिदिनु असम्भव नै थियो। त्यो सेवा मैले आस गरेको विषय नै थिएन।

त्यो न्युयोर्कको यात्रा, त्यो रश्मी बैनीसँगको भेट, जमुना बैनीको पुस्तक विमोचन कार्यक्रम सबैका सबै आकस्मिक हुन्। यस्तै आकस्मिक संयोगले मेरा जीवनमा घटना वा दूर्घटना भएका छन् भने मेरो भाउ नै के हुने हो र? भाउ नै पो किन चाहियो र? मरिजाने त्यो एकबारको जुनीमा त्यो भाउको नै के मूल्य छ र ? म यस्तै यस्तै सोच्दै थिएँ त्यो बेला।

यो कुराले मेरो सालोलाई छुँदैनथ्यो । उनी वेदान्त पनि पढ्ने भौतिकवादी हुन्। उनको जीवनको लक्ष मेहनत हो। पढाइमा मेहनत, जागिरमा मेहनत र कमाउनका लागि मेहनत। उनी आफ्ना विचारमा प्रस्ट थिए कि मान्छेको सफलता नै मेहनतमा अडिएको हुन्छ।

आधुनिक भाषामा भन्दा उनी सेल्फ मेड अग्राखझैँ थिए। उनी कर्मलाई प्रधान ठान्दथे। कर्मप्रधान हुनु भनेको विकासवादी हुनु हो। त्यसैले उनी मलाई भन्थे -६५ वर्षमै भिनाजुले लत्तो छोडेर। अमेरिकामा त ८० वर्षसम्म काम गर्नुपर्छ । बाँचुञ्जेल काम गर्नु पर्छ।

यद्दपि उनको कुरा मेराअनुकुलको थिएन। उनले भनेको कुराबाट म रिसाउनु पथ्र्यो । तर म रिसाइनँ। किनभने उनले भनेको कुरा ध्रुवसत्य थियो। उनी वेदान्त जीवनको कर्मवाद भनिरहेका थिए। वेदान्तको कर्मसार भनिरहेका थिए । उनको कुरा भौतक विचार मात्र थिएन। पूर्वीय शास्त्रसम्मत थियो । समयलाई शक्तिमा बदल्ने उच्छवास थियो उसको।

अर्कोतिर म बेफ्वाँकमा साहित्यमा लागेर ‘गाँठ भी गवाना, बेबकुफ भी बनना’ भइरहेको थिएँ। मलाई ज्ञात थियो कि यो मेरो रहरे वा खहरे साहित्यिक चेतले वा कृत्यले पुग्ने÷पुगिने कुनै ठाउँ थिएन। ६५ वर्षकै उमेरमा आयउद्यम छाडेर लमतन्न हुन खोजेको पानीमरुवा थिएँ म। र पनि म खुसी थिएँ।

अँ त प्रसङ्गमा आऊँ। त्यो २९ तरिकको दिन झमझम पानी परेको थियो। वातावरण चिसो र ओसिलो थियो। मेरो त्यो कार्यक्रममा जाने तिब्र इच्छा बुुझेर सुमेशले अन्ततः आफ्नो व्यस्त समयबाट अलिकति समय चोरेरै भए पनि मलाई त्यो कार्यक्रममा मात्र एक घण्टाको लागि पुर्‍याइ दिने भए। याने कि भिनाजुको मन राखिदिए। यो सुनेर म खुसी मारे उफ्रेको थिएँ। उनलाई धेरैधेरै धन्यवाद पनि दिइरहेको थिएँ। किनकिन म त्यसैत्यसै आह्लादित भइरहेको थिएँ।

सूचनामा कार्यक्रम बिहानको ठीक ११ बजे सुरु हुने भनिएको थियो। मसँग एक घण्टाको मात्र समय उपलब्ध भएकाले जानीजानी हामी याने कि म, मेरी श्रीमती सुशा र भाइ सुमेश गरी ३ जना १२ बजे कार्यक्रम स्थल लाहौर रेस्टुरेन्ट, ज्याक्सन हाइट पुगेका थियौँ। म पुग्दा त कार्यक्रम नै सुरु भएको थिएन।

कार्यक्रम बल्लबल्ल १२.३० मा सुरु भएको थियो। प्राविधिक कारण केही थियो होला। तर मलाई भने नेपालको ढिलो गर्नुपर्ने रोग अमेरिका आइपुग्दा पनि उस्तै रहेछ भनेझैँ लाग्यो। कार्यक्रम सुरु भएपछि पनि औपचारिकतामा धेरै समय खर्च भएको थियो। मलाई पनि कार्यक्रमको अतिथि बनाइएको थियो । कृतज्ञ भएको थिएँ। खादा तथा ब्याड्ज लगाएर म हर्षले पुक्पुकिएको थिएँ।

कार्यक्रममा न्युयोर्कका धेरै साहित्यकारहरूको जमघट थियो। साहित्यकारहरू रश्मी भट्ट, ज्योति कु. श्रेष्ठ, अनेसासका अध्यक्ष सकुन ज्ञवालीलगायत धेरै साहित्यकार साथीहरूसँग भेट भयो। परिचय भयो। तर मुखमा मास्क लगाएको हुनाले कसैलाई अनुहारले चिन्ने सम्भावना थिएन।

त्यही पनि कतै मास्क लगाएरै कतै मास्क खोलेर फोटा खिचेका थियौँ। यसरी पुरै नाकमुख छोपेर गरिएको यो कार्यक्रम मेरो जीवनको पहिलो थियो। जे भए पनि मैले आफूलाई सो कार्यक्रममा भाग लिन पाएर भाग्यमानी अनुभूत गरेको थिएँ। ठीक १.२५ मा भाइले मलाई मञ्चबाट बोलाए।

मैले हतार हतार गरेर पालो उछिनेर केही छोटो शुभकामना भन्न भ्याएँ। हतारमा कति भाँती पुग्यो पुगेन थाहा भएन। कार्यक्रम स्थलमा खाने कुरा लाम लागेर खाने मान्छेको बाटो कुरेर बसेका थिए। हामीलाई खानका लागि आमन्त्रण पनि गरिएको थियो । तर न त भोक थियो न त परिवेश नै, न त समय नै।

ज्याक्सन हाइटबाट टाइम्स स्वायरको गाडी दुरी यस्तै १५÷२० मिनेटको होला। मान्छे टाइम्स स्वायरमा पनि असाध्य धेरै थिए। किरासरी गज्याङगुजुङ थिए। तर सफा थियो। फोहोरको नामनिसान थिएन। तर ज्याक्सन हाइटका बाटामा पान खाएर थुकेका धब्बाहरू देखिन्थे। पानीका बोतल, खैनीका प्याकेट तथा यस्तै यस्तै बस्तुहरू सडकमा छरिएका थिए। एउटै न्युयोर्क सहरका दुई भिन्न स्थानको यो फरक के कारणले गर्दा भयो होला? चेतना वा सुबिधा वा सभ्यता केले फरक पार्यो होला?

तर यो कार्यक्रममा मेरो लघुउपस्थितिलाई मैले जीवनकै एउटा सुखद क्षण ठोनेको छु। मैले पाएको त्यो अवसर, आतिथ्य तथा अन्तरहृदयी स्वागतका लागि समग्र अनेसास न्युयोर्क परिवार तथा कवि जानुका बैनीप्रति आभारी भएको छु। र साहित्यकार बहिनी रश्मीलाई विशेष धन्यवाद व्यक्त गरेको छु।

हामी कार्यक्रम स्थलबाट बाहिर निस्कँदा पानी परिरहेको थियो। चिसो स्याँठ चलिरहेको थियो। सडकमा निस्केर झोलामा राखेको स्वीटर झिकेर लाउन थालेँ। यो काममा केही मिनेट समय लाग्यो होला। मे महिनाको गर्मीमा अपर्झट आएको त्यो चिसोले भने समात्यो।

नाक तत्काल नै रसाउन थालेको थियो। यसै बेला आफ्नै जीवनलाई पछाडि फर्केर हेरेँ। कुनै दिन यस्ता थिए कि दिनभर पानीमा भिज्दा पनि ठाँगाले छुँदैनथ्यो। घोर गर्मी यामको न्युयोर्कको यस्तो जाबो चिसो त ‘हाच्छिउँ खाएँ बच्छिउँ खाएँ, जाबो तिते बारुलो’ भनेझैँ थियो। तर त्यो चिसोले चिस्याउँदा भने एक प्रकारको बुढारीबोध भएको थियो।

हाम्रो अबको गन्तव्य ज्याक्सन हाइटको भारतीय उपमहाद्वीपीय बजार थियो। गाडी पार्क गरेर ज्याक्सन हाइटको सो बजारमा हिँड्न थालेका थियौँ। बजारकै बीचबाट रेल र बसहरू कुदिरहेका थिएँ। रेल र बसको कर्कश आवाजले कोलाहल थपेकै थिए।

अन्ततः सौभाग्य, ज्यादै नाम सुनेको ज्याक्सन हाइट पुगेका थियौँ। पुगिसकेपछि यसका बारेमा अलिकति कुरा जान्न मन लागेको थियो। यसका विशेषताहरू बुझ्न मन लागेको थियो। ज्याक्सन हाइटको अवस्थिति न्युयोर्क सहरको क्विन्स नामक स्थानमा रहेछ।

यसको नाम सन १९०९ सम्म ट्रेन्स मिडो रहेछ। सन १९०९ भन्दा पहिले त्यो स्थानमा खेत रहेछ। खाली मैदान रहेछ। यो अवस्थालाई उपयोग गर्दै क्विन्सबोरो कर्पोरेसन नामक कम्पनीले सो खाली जग्गा मध्ये ३२५ एकड जमिन खरिद गरी ज्याक्सन हाइटमा भवन बनाई बसोबासको सुरुवात गरेको रहेछ।

क्विन्सका प्रशिद्ध अगुवा जोन सी ज्याक्सनको नाममा यो स्थानको नामाकरण गरिएको रहेछ। त्यसपछि गार्डेन अपार्टमेन्ट, गार्डेन होम्स जस्ता महत्वपूर्ण भवनहरू बनेका रहेछन्। यी भवनहरूमा मान्छेहरू बसोबास गर्न सुरुवात गरेका रहेछन्।

सन १९६० मा आइपुग्दा म्यानहटनमा बस्न महँगो भएका मध्यवर्गका गोराहरू पनि सोही क्षेत्रमा सरेर बसोबास गर्न थालेका रहेछन्। त्यसपछि त सस्तो भएकाले गैरगोरा आप्रवासीको आकर्षणको केन्द्र नै भएछ ज्याक्सन हाइट।

ज्याक्सन हाइटको प्रमुख वैशिष्ट्य नै आप्रवासीको सहर भन्ने रहेछ। यो सहरमा करिबकरिब संसारभरिका आप्रवासीहरू बसोबास गर्दा रहेछन्। भारतीय उपमहाद्वीपका भारत, पाकिस्तान, नेपाल, बङ्गलादेशलगायत कोरियन, चाइनिज, कोलम्बियन, इक्युडोरियन, अर्जेन्टिनियन, हिस्प्यानिक आदि ठूलो सङ्ख्यामा बस्ता रहेछन्।

रमाइलो कुरा के भने ती सबै आप्रवासीहरूले आफ्नोआफ्नो संस्कृति तथा पहिचानलाई जोगाएर नै बसेका रहेछन्। हरेक आप्रवासी बुझाउने कर्नर नै रहेछन्। ती आप्रवासीका अलगअलग ब्युटी सेलुन, सुपरमार्केट, नृत्यशाला आदि सडकका कुनाकुनामा रहेछन्।

ज्याक्सन हाइट भारतीय उपमहाद्वीपका आप्रवासीका लागि झन् धेरै प्रशिद्ध रहेछ। रेस्टुराँ, कम्युनिटी सेन्टर, भारतीय तथा बङ्गाली संगीत तथा सिनेमाका डिभीडीको बिक्री गरिने बजार रहेछ। ग्रोसरी स्टोर, आदिको व्यवस्था पनि रहेछ।

गहनाका दोकान, साउथ एसियन बुटिक, खुद्रा सारी, सुरुवाल, कमेज, लेहङ्गा, इमब्रोयडरी गरिएका कपडा, बेहुली तथा सामाजिक संस्कारमा लाउने लुगा पाइने रहेछ। कस्ट्युम ज्वेलरी, नेकलेस, अन्ती, बुलाकी, फुली, टीका, चुरा, औँठी, गाजल, तात्तातो फ्रेस फुड, सडक फुडको पनि व्यवस्था रहेछ।

जब बिहानबेलुकाको खाने बेला हुन्छ तब विभिन्न ठाउँबाट ठेलागाडामा खानेकुरा लिएर सडकमा निस्कने रहेछन् र दोकान थाप्दा रहेछन्। यी दोकानमा खानेकुरा सस्तो हुने भएकाले ती आप्रवासी मान्छेहरू घरमा नपकाएर प्रायः यस्तै दोकानमा छानीछानी खाँदा रहेछन्। र कामतिर कुद्दा रहेछन्।

ज्याक्सन हाइटको ब्युटी पार्लरहरूको पनि निकै महत्व रहेछ। आँखीभुइँ, अनावश्यक रौँ उखेल्न, फेसियल गर्न, मेकअप गर्न, मेहन्दी लागाउन, कपाल सजावट गर्न, कपाल काट्नका लागि ज्याक्सन हाइट निकै प्रशिद्ध रहेछ। झ्यालबाट चिया किनबेच हुने देखेर अनौठो लागेको थियो हामीलाई। हामी भारतीय उपमहाद्विप प्रभावित क्षेत्र घुमेका भएकाले त्यहाँ धेरैवटा मिठाइका दोकानहरू देखिएका थिए।

ती मीठाईका दोकानका नाम विशुद्ध हिन्दु थिए। जस्तो राजभोग। गहनाका दोकानहरू थिए। दक्षिण एसियाका परम्परागत लुगाकपडाहरू, क्युरियोका दोकानहरू थिए। पानका दोकानहरू थिए। ती सबै दोकानहरूको ढप हेर्दा भारतको पुरानो दिल्ली पुगेजस्तै वा नेपालको ठमेल, झम्सिखेल वा न्युरोड पुगेर सपिङ गरेको अनुभूति हुने रहेछ।

सडकबाट सोझै दोकानभित्र पसिने तथा काठमाडौँमा झैँ सडकमै बिक्रिका सामान राखिएका थिए। यहाँ यति धेरै भारतीय उपमहाद्वीप झल्काउने दोकानहरू रहेछन् कि यसलाई लिटिल इन्डिया नै भनिँदो रहेछ। त्यसै गरी बोलीचालीको भाषामा धर्मशाला नामाकरण गरिएको रहेछ।

आप्रवासी मध्ये चाइनिज तथा टिवेटियनका लागि त यो ज्याक्सन हाइट निकै प्रशिद्ध रहेछ। खास गरेर तिब्बतबाट धार्मिक, राजनीतिक तथा सामाजिक कारणले निस्कासनमा परेका तिब्बतीहरूको बसोबास क्षेत्रलाई ‘इक्जाइल टिवेटियन वल्र्ड’ भनिँदो रहेछ। यहाँ चिनियाँ तथा तिब्बती भाषा, सभ्यता, खानपीन र रहनसहनले पन्पिने मौका पाएको रहेछ।

यसैगरी साउथ अमेरिकनको छुट्टै बसोबास, छुट्टै संस्कृति र छुट्टै बजार व्यवस्थापन रहेछन्। ज्याक्सन हाइटका प्रमुख बसोबास केन्द्रका अग्ला भवनहरू गार्डेन अपार्टमेन्टका घरहरूमा युरोपीय पुनर्जागरण कलालाई प्रश्रय दिइएको रहेछ। फ्रेन्च र इटालियन पुनर्जागरणकालीन काष्ठकलालाई प्रयोग गरिएका यी भवनहरूले विश्वसभ्यताको इतिहासको साक्षी बसिरहेका छन्।

ज्याक्सन हाइट क्षेत्रमा मान्छे आप्रवासीका आफ्नो देश तथा सभ्यताको द्दोतक खानेकुराहरू पनि प्रशस्त पाइने रहेछन्। उदाहरणका लागि मेक्सिकनका टाको, बुरितो, हातले बनाएको तमालेदेखि लिएर भारतका अनेकन खानेकुरा पाइने यो बजारमा कार्ट फुड पनि प्रचलन रहेछ।

बङ्गालीको फुच्का, नेपालीको मम, कोलम्बियाको चुजो, ग्रिकको सौभलकी, इक्युडेरियनको सेभिच, थाइको स्टिम्ड चिकेन साउथ अमेरिकनको मिठाइ चुरोस आदि पनि उदाहरणीय रहेछन्। नेपाली मम त ठेलागाडामा बेचेको देख्दा कस्तो नेपालको सम्झना आएको थियो। मान्छे भन्थे कि नेपालमाझैँ खसीको मासु भाग लगाएर पनि पाइन्छ रे।

ज्याक्सन हाइटको नेपाली रेस्टुरेन्टमा खाएका नेपालीहरूले नै सुनाउने गरेको ‘ठ्याक्कै नेपालको स्वाद’ भन्ने आहान नै चलेको रहेछ। सायद संसारभरिमा ज्याक्सन हाइट नै यस्तो बजार होला जहाँ संसारभरिका सबै खाले मान्छे, सभ्यता, संस्कृति तथा खानेकुराहरू एकै ठाउँमा पाइन्छन् । अचम्म के भने यहाँ सबै आप्रवासी मिलेर बसेका रहेछन्।

ज्याक्सन हाइटको अर्को महत्त्वपूर्ण विशेषता भनेको समलिङ्गी तथा उभयलिङ्गीको संस्कृति रहेछ। किनभने त्यहाँ उनीहरूको प्रचुर बसोबास रहेछ। यो बसोबास पहिचानसहितको रहेछ । म्यानहटनमा बसिरहेका होमोसेक्सुअल समूहहरूले सन १९३० पछि ज्याक्सन हाइट क्षेत्रमा बसोबास गर्न थालेछन् ।

यसपछि भने ज्याक्सन हाइट ‘एलजीबीटीआइक्यू’ (एल = लेस्बियन, जी = गे, बी = बाइसेक्सुअल, आई = इन्टर सेक्सुअल, टी = ट्रान्स जेन्डर) र क्यु = क्वियर अर्थात सेक्सुअल इन्टरेस्ट नहुने) कम्युनिटीका लागि म्यानहटनपछिको ठूलो बस्ती भएछ । लगभग यो ज्याक्सन हाइट संसारकै दोस्रो ठूलो होमोसेक्सुअल सहर होला।

सन १९९० मा एलजीबीआईटीक्युका अभियन्ता जुलियो रिभेराको यही ज्याक्सन हाइटमा हत्या भएपछि यो समुहले आन्दोलन गरेर आफ्नो पहिचान कायम गरेका रहेछन्। विश्वकै महत्वपूर्ण समलिङ्गी कल्चर यही ज्याक्सन हाइटमा हेर्न पाइँदो रहेछ।

उनीहरूले क्विन्समा याने कि ज्याक्सन हाइटमा देखाउने पहिचानसहतिको परेड तथा बहुसांस्कृतिक कार्यक्रमबाट मनोरञ्जन प्राप्त गर्नका लागि संसारभरिबाट मान्छेहरू ज्याक्सन हाइटको यात्रा गर्दा रहेछन्।

लगभग यो ज्याक्सन हाइट संसारकै दोस्रो ठूलो होमोसेक्सुअल सहर होला। सन १९९० मा एलजीबीआईटीक्युका अभियन्ता जुलियो रिभेराको यही ज्याक्सन हाइटमा हत्या भएपछि यो समुहले आन्दोलन गरेर आफ्नो पहिचान कायम गरेका रहेछन्। विश्वकै महत्वपूर्ण समलिङ्गी कल्चर यही ज्याक्सन हाइटमा हेर्न पाइँदो रहेछ। उनीहरूले क्विन्समा याने कि ज्याक्सन हाइटमा देखाउने पहिचानसहतिको परेड तथा बहुसांस्कृतिक कार्यक्रमबाट मनोरञ्जन प्राप्त गर्नका लागि संसारभरिबाट मान्छेहरू ज्याक्सन हाइटको यात्रा गर्दा रहेछन्।

उनीहरू बिनाभेदभाव सहनशील भावनाका साथमा यो ज्याक्सन हाइटमा बसोबास गरी जीवन बिताइरहेका रहेछन्। उनीहरूका लागि अनेकौँ रेस्टुरेन्ट, क्लव तथा रात्री जीवन सञ्चालन भएका रहेछन्।

जहाँ उनीहरूले खुला रूपमा सजिलोसँग आफू अनुकुलको साथी वा सेक्स पार्टनर खोज्न र भेट्न सक्ने रहेछन्। उनीहरूले आफ्नो सङ्गठनमार्फत आफ्नो समाजको आवाज उठाउँदा रहेछन्।

हामी आफ्नो छोटो भ्रमण सक्ने क्रममा थियौँ। पानी परिरहेको हुनाले घर फिर्नु आवश्यक थियो। भारत तथा बङ्लादेशका एक झोला मीठाई किनेर हामी बासस्थान ट्यापोन पुगेका थियौँ। रमाइलो लागिरहेको थियो। ओछ्यानमा पल्टिएर आराम गर्न थालेको थिएँ। मेरा दिमागमा केही द्वन्द्वहरू सिथिल ज्वारभाटा भएर लगातार आइरहेका थिए।

पहिलो कुरा त म यो ‘एलजीबीआईटीक्यु’ का कुरामा अल्झेको छु । यही पृष्टभूमिमा म नेपालमा पुगेको रहेछु। मेरो चक्षुज्ञान नेपाल पुगेको छ। नेपालमा यस्ता एलजीबीआईटीक्यु ले पहिचानका लागि गरिरहेको सङ्घर्ष तथा उनीहरूप्रति समाजले गरिरहेको सामाजिक, मनोवैज्ञानिक तथा सांस्कृतिक विभेदलाई सम्झेर कहिले होला नेपालमा समानता भन्ने लागिरहेको छ। अझ उनीहरूका दिमागमा हुने मानसिक तनाबको कसले जिम्मा लिने होला?

ज्याक्सन हाइटले सबै प्रकारका मान्छेहरू चाहे विपरीत लिङ्गमा आकर्षित होऊन् वा समलिङ्गी वा उभयलिङ्गी वा अन्य, सबैका लागि यो पृथ्वी समान हो भन्ने आधार तथा भावनाको निर्माण गरेको छ। पृथ्वी साझा हो भन्ने दर्शन अभिव्यक्त गरेको छ।

दोस्रो कुरा, ज्याक्सन हाइटको भ्रमणले मेरा दिमागभरि मानवनिर्मित अमिलो पानी छरिदिएको छ। किन होला ज्याक्सन हाइट त्यति धेरै फोहोर? मैले गोरा बाहुल्य भएको न्युयोर्कको मूल बजार टायम्स स्वायर र ज्याक्सन हाइटलाई एकछिन तुलना गरेर हेरेँ। ज्याक्सन हाइटबाट टाइम्स स्वायरको गाडी दुरी यस्तै १५÷२० मिनेटको होला।

मान्छे टाइम्स स्वायरमा पनि असाध्य धेरै थिए। किरासरी गज्याङगुजुङ थिए। तर सफा थियो। फोहोरको नामनिसान थिएन। तर ज्याक्सन हाइटका बाटामा पान खाएर थुकेका धब्बाहरू देखिन्थे। पानीका बोतल, खैनीका प्याकेट तथा यस्तै यस्तै बस्तुहरू सडकमा छरिएका थिए।

एउटै न्युयोर्क सहरका दुई भिन्न स्थानको यो फरक के कारणले गर्दा भयो होला? चेतना वा सुबिधा वा सभ्यता केले फरक पार्यो होला? र दिमागमा एउटा कुरा आइरह्यो कि गोराको पश्चिमा सभ्यता, भाषा, पहिरनले पूर्वीय सभ्यता, भाषा तथा पहिरनमाथि जमाउँदै गरेको प्रभावको एउटा कारण कहीँ यही ज्याक्सन हाइटमा देखिने भारतीय उपमहाद्वीपीय परिदृश्य त होइन?

यसरी ज्याक्सन हाइटको फोहोरले दिग्दार भइरहेका बखत एकाएक मेरा दिमागमा साला सुमेशको ‘भाउ खाने’ कुरा अचानक आयो। साँच्ची एक छिन गमिरहेँ । सोचिरहेँ कि मेरो के भाउ छ र? मेरो भाउ के हुनुपर्छ र? मैले के यस्तो राम्रो काम गरेको छु र ? मेरो जन्म मेरा अधीनमा भएको होइन। मेरो नाम पनि अर्कैले राखिदिएको हो ।

मेरो पढाइ पनि मेरा चेतले भएको होइन। जिन्दगीका दलानमा गुड्दागुड्दै जिन्दगीले नै एउटा गोहो बनाइदिएको मात्र हो। मेरा क्रियाप्रतिक्रिया पनि मेरा वशमा छैनन्। ती भावनाका लहरमा छलाङ लगाउँदै आउँछन् र जान्छन् । मृत्यु पनि मेरा वशमा छैन यस्तो अवस्थामा मैले मेरो भाउ नै पत्तो लगाउन सकिनँ। फेरि अर्को कुरा, खसोखास भन्नु पर्दा म भाउविहीन हुन चाहन्छु। सबैसबै पोखिन चाहन्छु। खालीखलास हुन चाहन्छु। रित्तिन चाहन्छु। म सबै मद परित्याग गर्ने उपक्रममा छु। प्रशस्ती र गाली दुवैलाई समभाव देख्ने प्रयत्नमा छु।

जीवनमा अनेकन यस्ता घटना आउँछन् र जान्छन्। किनभने म एउटा नियमित आकस्मिकतामा बाँचेको छु। मेरा जीवनमा आइरहने घटनाहरू सबै नियमित रूपले तर आकस्मिकतबरले आइरहेका छन्। त्यो न्युयोर्कको यात्रा, त्यो रश्मी बैनीसँगको भेट, जमुना बैनीको पुस्तक विमोचन कार्यक्रम सबैका सबै आकस्मिक हुन्। यस्तै आकस्मिक संयोगले मेरा जीवनमा घटना वा दूर्घटना भएका छन् भने मेरो भाउ नै के हुने हो र? भाउ नै पो किन चाहियो र? मरिजाने त्यो एकबारको जुनीमा त्यो भाउको नै के मूल्य छ र ? म यस्तै यस्तै सोच्दै थिएँ त्यो बेला।

छ्या ! यो सेन्टी कुरालाई यहीँ छोडेर ज्याक्सन हाइटको साहित्यिक कार्यक्रम तथा बजारको रौनकले दिएका आनन्दका चस्काहरूले अहिले पनि आनन्दित भइरहेको छु म त। ज्याक्सन हाइटमा नेपालीको तस्बिर देखिरहेको छु।

होमोसेक्सुअलका लागि पनि स्वर्ग यो ज्याक्सन हाइट मन लागे पनि नलागे पनि विचार र बहुसंस्कृतिका लागि अपार अवसर बोकेर बसेकै छ। संसारभरिका सबै खाले मान्छेका लागि रातो तुल ओछ्याएर पहिचानसहित स्वागत गर्ने ज्याक्सन हाइटलाई सलाम छ। र यस्तो बहुवैचारिक बहुसांस्कृतिक सहर घुम्न पाएकोमा आफूलाई धन्य महसुस गरिरहेको छु।

जुलाई ९, २०२१
सान मार्कोस, अमेरिका

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *