‘नियात्रा वास्तविक र गतिशील हुन्छ’ – Dcnepal

‘नियात्रा वास्तविक र गतिशील हुन्छ’

नियात्राकार जय छाङ्छा नेपाली नियात्रालाई अलगै विधाको रुपमा चिनाउन लागि परेका छन्। २०२५ सालमा बालकृष्ण पोखरेलले नामाकरण गरेको नियात्रालाई निवन्धको सहायक विधा कि अलगै विधा भन्ने विषयमा विवाद हुँदै आएको छ।

नियात्राकार छाङ्छाले कविताको लेखनीबाट नेपाल साहित्यमा प्रवेश गरे पनि उनको कलमले नियात्रा धेरै लेखेको छ। पोलोको यात्रादेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय नियात्राकारका दस्तावेजबाट नियात्रालाई अलगै विधाका रुपमा लैजाने उनको यात्रा निरन्तर चलिरहेको छ।

हालसम्म उनका कङ्गारूको देशदेखि आइफेल टावरसम्म (सन् १९९५), ‘चाँप फुल्ने पहाड़मुन्तिर’ (सन् १९९८), ‘बादल रूँदाको जुरिच’ (२००३), ‘विव्लेटो आकाशको धरातलतिर’ (२००९), ‘दोहाको सिधा उडान’ (२०१७), पैदलै काठमाडौंका चुलीहरू’ (२०१९) लगायत नियात्राका पुस्तक प्रकाशित छन्।

नियात्राबाहेक उनका ‘पोटोम्याकको किनारमा’ (२००१), ‘छाङ्छाका प्रेम कविताहरू’ (२००५), ‘That I love the world’  (२०१६) र ‘यात्रामा कविता’ (नेपाली र हिन्दीमा, २०१६) लगायत कवितासंग्रह प्रकाशित छन्।

यसैगरी टुरिस्ट गाइडबुकका रूपमा ‘अमेरिका यात्रा अध्ययन र इलम’ (२००६) र ‘कतार सारथी’ (२०१४) पनि प्रकाशित छन्। नियात्रामा नभएर कवितामा पनि उनको यात्राको प्रभाव परेको देखिन्छ। एउटा साहित्यकार कवि अनिवार्य भएको बताउँने छाङछा साहित्यकार भित्र भएको कवित्वको कारण लेखनीमा सहजता हुने बताउँछन्।

उनी कवि तथा नियात्राकार  छाङछासँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादिन अंशः

नियात्राको सुरुवात कसरी भयो ?

म पहिला पनि कविता लेख्ने गर्थें। हाइस्कुलमा पढ्ने बेला पनि निबन्धहरु पनि लेख्ने गर्थें। २०२८ साल तिर रेडियो नेपालमा पठाएको निबन्ध प्रसारित भयो। त्यो कुरा पनि साथीहरुबाट सुने। अनौपचारिक रुपमा गाउँमा हुँदा पनि लेख्ने गरेको थिएँ।

मैले सधै डायरी मेन्टेन गर्ने गर्थें। सरकारी जागिर खान सुरु भयो। २०४२ साल तिर म जर्मन गएँ। जर्मनबाट फर्केपछि साथीहरुले कोशेली मागे। म अलमल्ल परेँ। कतिलाई दिनु, के दिनु भन्ने लाग्यो। साथीहरुले नै सम्झाए। सर्ट र पइन्ट मागेको हैन। त्यहाँको बारेमा के लेखेका छौ भन्ने मागेको हुँ।

हामीसँग सांस्कृतिक धरोहर छ। इतिहास छ। हामीले ऋगवेदजस्ता पौराणीक साहित्य लेखिसकेका छौं। खै के लेखेको छ अमेरिकाले? केही पनि छैन।साहित्य हामीबाट चोरेर लगेर उनीहरु धनी भएका हुन्। संस्कृत साहित्यबाट पढेर गएर पनि जर्मनले औषधि उपचार गराउन थालेको हो। जर्मन भाषामा पनि ६० प्रतिशत बढी संस्कृतका शब्दहरु छन्। त्रिविमा अरुको सारेर पिएचडी गरेकाहरुले यी कुरा देख्दैनन्। त्यसैले नियात्रा निबन्ध हो भन्लान्, यो अलग विधा होइन् भन्लान यस्तै हो।

त्यसपछि मैले लेख्न थालेँ। पछि अष्ट्रेलियामा गएँ। त्यहाँ कङ्गारु देख्न पाएँ। त्यो नयाँ कुरा देखेपछि ५१ साल तिर कङ्गारुको देशमा हराउँदा भन्ने विषयमा सरसर्ति लेखेर गोरखापत्रमा पठाएँ। त्यो बेलामा लेख छापिनका लागि सम्पादकको चाकडी गर्नु पर्ने अवस्था पनि थियो।

मैले त कोही चिनेको पनि थिएनँ। तर, छापियो। त्यसपछि आत्मविश्वास बढ्यो। मैले पहिला जर्मनको पनि अनुभव लेखेको थिएँ। त्यो पनि त्यसमा मिलाएर पुस्तक नै निकाल्ने सोच पलायो। र, कङ्गारुको देशदेखि आइफिल टावरसम्म भन्ने पुस्तक सार्वजनिक गरेँ।

निबन्ध र नियात्रा सहोदर कि सहगोत्री ?

यसरी बुझौँ, यो संसारमा हरेक व्यक्तिहरुको हस्तरेखा, हस्ताक्षर फरक फरक हुन्छन्। बुबाबाट हामी चिनिने कि हामीबाट बुबा। बाबुछोरा पनि एउटै हुँदैनन् नि हैन र? किन कि सबैको बेग्लै बेग्लै पहिचान हुन्छ। बोल्ने शैली, लेख्ने शैली पनि फरकफरक हुन्छन्।

नियात्राको पनि सबै आफ्नै छ। यो निबन्धको सहगोत्री, सहोदर भन्न मिल्दैन। विद्वानहरुले पनि न्यायपूर्ण तरिकाले बोल्दैनन्। नियात्रामै पीएचडी गरेका छैनन्। कथासाहित्य, वा अन्यमा पीएचडी गरेको व्यक्तित्वहरुले नै नियात्राको बारेमा बोलेका छन्। त्यो न्यायपूर्ण छैन।

मत नियात्रालाई नारदीय विधा भन्छु। तीन लोक चौध भ’वनको भ्रमण त नारदले गरेका थिए। हाम्रो ऋगवेदको लेखाइदेखि नै नियात्राको सुरुवात भएको थियो। कथा पनि गद्य नै हो। त्यो निबन्धको दाइ किन भएन। तिनीहरु अछुतो हुने, अलगै हुने?

भारतीय विद्वानहरुका अनुसार निवन्ध स्थिर विधा हो घरमा बसेर पनि लेख्न सकिन्छ। नियात्रा गतिशील हुन्छ। यात्रा नगरी लेखिँदैन। काल्पनिक नियात्रा भए पनि वास्तविकता बढी प्रयोग हुन्छ। नियात्रा ढाँटेर पनि लेख्ने गरेका छन्। म नाम लिन चाहन्न। नेपालका होनाहार नियात्राकारले पनि पाठकलाई ढाँटी रहेका छन्।

त्यसो भए निबन्धकारहरुले आफ्नो अण्डरमा राख्नका लागि मात्र बोलेका हुन् त ?

हो। त्यो कुरालाई हो भन्न मिन्छ। मैले नियत्रामा मात्र काम गर्न लागेको झण्डै ३० वर्ष बढी भयो। संसारमा प्रकाशित भएका धेरै नियात्राहरु मैले पढेको छु। भारतीय मात्र अमेरिकामा लेखिएका नियात्राहरु पनि मैले पढ्दै गरेको छ। पछिल्लो समय मेरो निबन्ध विधा परिचय भन्ने पुस्तकमा पनि त्यो कुरा लेखेको छु।

अनुसन्धान गरेर हेर्दा यो विधा फरक हो। भारतमा पनि लामो समयदेखि यसलाई अलग विधा हो भनेर स्वीकार गर्दै आएको छ। आफ्नो स्वतन्त्रताकै समयदेखि नियात्रालाई अलग विधा भनेको छ। ६०/६२ तिर नेपालका एकजना विद्यवानसँग मैले कुरा गर्दा नियात्रालाई निबन्ध नै हो भनेर ठोकुवा समेत गर्नु भयो। मेरो चित्त बुझेन।

२०१७ मा जासन वुल्सन भन्ने सम्पादकले आफ्नो पत्रिकामा पनि सम्पादकीयमा लेखेका छन्, ‘के नियात्राको मृत्यु भएको हो’। २०१७ को अप्रिलतिर निकालेको उक्त पत्रिकामा विभिन्न विद्वानको विचार लिएर छापिएको छ।

त्यसमा नियात्रका बारेमा धेरै कुरा बताइएको छ। बालकृष्ण पोखरेलले नामाकरण गरे पनि अर्कै विधा हो भनेर स्थापित गर्न सकेनन्। त्यो मैले प्रमाणिकरण गर्ने प्रयास गरेको छु।

नियात्रामा हाम्रो यात्रा विश्वमै अगाडि हो त?

हो। यसको उदाहरण अमेरिकाले अहिलेसम्म यात्रा साहित्यको नाम खोजिरहेको छ। ऋगवेदको कुरा गर्दा पनि हामीले ५ हजार वर्षपहिलाको भनेर मान्छौं। हामीले नियात्रालाई अलग विधा मानेपछि हामी अगाडी छौं।

 

नियात्रालाई के कुरा आवश्यक पर्छ ?

यो रेखाचित्र जस्तै हो। यसमा हरेक कुरा आउँछ। नियात्रा गतिशील हुन्छ। वास्तविकता हुनु पर्यो। गएका ठाउँका अनुभूति हुनु पर्यो। ग्राण्डका सम्पादक सिक्रिट राउजिङले भनेका छन्। ‘यो चाहिँ याचक विधा हो।’ यो कुराले नियात्राले हरेक कुरालाई अपनत्व गर्छ। कुनै ठाउँमा गएको कुरा त छँदैछ त्योसँगै त्यहाँको मिथक, इतिहास, वातावरण, जनजीवन पनि हाल्न सक्नु हुन्छ।

नियात्रालाई साहित्य मात्र भनिदैन। यो ज्यूँदो इतिहास पनि हो। जस्तै मार्को पोलो हिँडेर गरेको यात्रा जसलाई पुस्तकको रुपमा पनि आएको छ। त्यो कुराले पनि हामीलाई बुझाउँछ। त्यसमा तिथि मिति चाहियो। अझ भनौं कहिले, कसरी, कहाँ लगायतका विषयहरु पनि राख्नु पर्छ।

उदाहरण दिउँ। हिउँदमा तराईमा गएको व्यक्तिले जकेट लागाउने कुरा खुलाए। उनले मिति खुलाएनन्। पाठकले गर्मीमा पढ्यो र तराईँमा गयो भने के सोच्ला। उ त जकेट लगाएर नै जान्छ। त्यसका लागि जाडो मौसम खुलाउनु अनिवार्य छ।

नेपाल सोजोन भन्ने किताबमा बौद्धको बाहिर गाई चरेको दृष्य छ। अहिले त्यो सम्भव छ। तर, मिति खुलाएको हुँदा त्यो बेलामा थियो भन्ने देखाउँछ र विश्वास पनि गर्न सकिन्छ।

नियात्रा लेखनीका हिसाबले सजिलो छ तर, यहाँले भने अनुसार त गाह्रो पो रहेछ त?

सजिलो हैन गाह्रो पनि छैन। सजिलो त के छ र? हामी जीवन जिउनका लागि पनि कति संघर्ष गरिरहेका छौं। कविता सजिलो भन्छन्। त्यो पनि छैन। कुनै पनि चिज सबै कुरा पु¥याएर गर्दा गाह्रो हुन्छ।

जसले नियात्रालाई सजिलो भन्छन् त्यो नबुझेर भनेका हुन्। एउटा खाना पकाउन अनुभव भएको व्यक्तिले आखाँ चिम्म गरेर नुन हाल्छन् नि हैन। त्यस्तै हो अनुभवले नै विज्ञ गराउने हो। तर, यहाँ धेरै नबुझेर लेख्छन्। र सजिलो र गाह्रोको विषयमा कुरा गर्छन्।

विदेश गएपछिमात्र नियात्रा लेखिन्छ भन्ने आरोप पनि छ नि ?

त्यो पहिला थियो अहिले छैन। गगनराजको यात्रा १५५० मा लेखिएको भनिएको छ। त्यो नै हाम्रो आधार विन्दु हुन्छ।

एउटा कवि नियात्राकार हुन भएको छ, के फरक पाउनु भयो?

सबै साहित्यकारहरु कवि हुन्। एउटा कवि नियात्रकार भयो भने लेखनीमा दम हुन्छ। उसको शब्द गठन सुन्दर र पठनीय हुन्छन्। कलात्मक हुन्छन्। कविता चेत नभइकन कुनै पनि श्रष्ठाले लेख्न सक्दैन।

मेरो लेखनरुचि नभए पनि बाध्यात्मक परिस्थितिमा लेखेको हुँ भन्छु। कुनै पनि साहित्य कार्यक्रममा गयो भने कविता नभनि सुख नै हुँदैन। नियात्रा त ठूलो ठूलो हुन्छ। अनि कविता लेख्यो सुनायो। यस्तै छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो