साउनको पहिलो सोमबार : बन्द पशुपतिनाथ मन्दिरमा व्रतालुकाे श्रद्धा (फाेटाेफिचर)

रिता बस्नेत
४ साउन २०७८ १०:१२

काठमाडौं । साउनको पहिलो सोमबार आजको दिन पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको घुईंचो थामिनसक्नु हुने गथ्र्यो । तर, महामारीको रुपमा विश्वभरि फैलिएको कोरोना संक्रमणका कारणले बन्द गरिएको पशुपतिनाथ मन्दिरको सबै ढोकाहरु बन्द रहेका छन् ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले आज हिन्दू धर्मावलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । शिवको पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू धर्मावलम्बी विशेषगरी महिलाहरुले स्नान गरी शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ ।

यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिंग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने गरिन्छ । महिलाहरुले हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् ।

साउन महिना प्रारम्भ भएसँगै शिवालयमा धार्मिक मेलाको उत्सव परम्परा छ तर यसपालि शिवालयहरु चहलपहलविहीन छन् । त्यसैले सबै ढोकाहरु बन्द रहेको पशुपतिनाथ मन्दिरको मूल गेटमै आज(सोमबार) अधिकांश भक्तजनहरुले धुपबत्ती बालेर पूजाआजा गरिरहेका छन् ।

कोरोना कहरले गर्दा यस पटक पशुपतिनाथ मन्दिरमा बोलबम यात्रामा समेत पूर्णविराम लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर, चितवनको देवघाटधाम तथा अन्य शिव मन्दिरहरुमा बोलबम मेला भर्नका लागि नेपाल तथा छिमेकी भारतका विभिन्न स्थानका धर्मावलम्बीहरुको घुइँचो लाग्ने गथ्र्यो । तर, यस पटक शिवालय दर्शन गर्ने भक्तजनहरुको भिड शुन्य बनेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा.प्रदीप ढकालले कोभिडको कारणले भिडभाड बढी हुने ठाउँ नेपाल सरकारले नै नखोलेको हुनाले गर्दा पशुपतिनाथ मन्दिर बन्द गरिएको जानकारी गराए ।

पशुपतिनाथ मन्दिर बाहिर पेरिफेरिमा आएर गजुरको दर्शन गरेर जाने केही भिडभाड चाहीँ रहेको बताउँदै उनले भने, ‘नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्नै पर्छ । पालना हामीले गराउनु पर्छ, त्यही भएर पनि मन्दिर खोलिएको छैन । तीजसम्म चाहीँ संक्रमण कम हुँदै गयो भयो खोल्न सकिन्छ कि भन्ने अपेक्षा गरेका छौं ।’

गतवर्षको लकडाउनमा केही संघसंस्थाले पशुपतिनाथ मन्दिर खोल्न माग गरेपनि यसपटक भने कसैले पनि त्यस्तो माग नगरेको उनले बताए । उनले भने, ‘कोभिडको त्रास सबैतिर भयो, गतवर्ष हामी सबैले कोभिड होइन होला भन्दै पनि थियौं, तर धेरै नेपालीहरु गुमायौं । कोषकै साथीहरु पनि गुमाएका छौं । त्यही भएर कोभिडको त्रास सबैतिर छ र सबैले बुझ्नु पनि भएको छ ।’

यस पटक साउन महिनामा ५ वटा सोमबार परेका छन् ।

तस्वीर : रिता बस्नेत र फुर्पा शेर्पा/ डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *