दिनभर स्वास्थ्यकर्मीलाई हात जोड्दा पनि पाइनन् एरुमायाले खोप

रिता बस्नेत
५ साउन २०७८ ६:४२
672
Shares

काठमाडौं। कुबेत जाने तरखरमा रहेकी चितवनकी एरुमाया घले सोमबार ज्ञानेश्वस्थित हिमाल अस्पतालको खोप केन्द्रमा खोपको लागि अनुनयविनय गरिराखेकी थिइन्। बिहानको समयमा त्यहाँ गएर लाइनमा केही घण्टा उभिएपछि उनी खोप लगाउने ठाउँसम्म पुगिन्। तर त्यहाँ उभिएका एकजना स्वास्थ्यकर्मीले उनलाई खोप दिनबाट रोके।

ती स्वास्थ्यकर्मी युवाले उनलाई भन्दै थिए, ‘तपाईंलाई १५ चोटी भनिसके होला टेकु जानु भनेर, यो पटक १६ चोटी भयो। जोन्सन भ्याक्सिन विदेश जानेहरुलाई छुट्टै व्यवस्था गरी एउटा ठाउँमा जम्मा गरेर लगाउने कुरा भएको छ। तपाईंलाई अहिले दिन मिल्दैन। दिन मिल्दैन भनेर मैले स्वास्थ्य मन्त्रालय, विभाग सबैसँग कोओडिनेशन गरेर तपाईलाई भनेको हो।’

स्वास्थ्यकर्मीलाई प्रतिप्रश्न गर्दै घले भन्छिन्, ‘सँगै आएको साथीहरुले लगाएर गइसके तर मलाई किन यस्तो गरेको के? उनीहरुको जस्तै मेरो पनि भिसा लागेको, श्रम गरेको सबै छ। तिनीहरुले बिना लेटर खोप लाए त? अरुलाई दिन हुने मलाई चाहीँ दिन नहुने यस्तो पनि हुन्छ त?’

उनका अनुसार केही समयअघि उनका तीन जना साथीहरुले लेटर नै नल्याइकन खोप लगाएर गएका रहेछन्। र, उनी पनि खोप लगाउन पाउने विश्वासका साथ त्यहाँ आएकी रहेछिन्। उनी स्वास्थ्यकर्मीसँग रिसाउँदै भन्छिन्, ‘त्यसोभए स्वास्थ्य विभागको लेटरबिनै खोप लगाएर गएका मेरा साथीहरुलाई यहाँ बोलाउँ त? तर, ति स्वास्थ्यकर्मी उनको कुरा विश्वास नगरेझैं गरी तर्किन्छन्।’

कुबेत गएर छुट्टिमा आएको बताउने घले त्यहाँ उपस्थित प्रायलाई हातमा बोकेको काजगपत्र देखाउँदै सबैसँग य िखोप लगाउन पहल गरिदिनु न भन्दै धेरै बेरे अनुरोध गरिराख्छिन् र त्यहाँ उपस्थित प्रायले पहल गरिदिने प्रयास पनि गरे तर ति स्वास्थ्यकर्मी युवाले भने उनलाई खोप दिन मान्दै मानेनन्।

स्वास्थ्यकर्मी युवा भन्छन्, ‘तपाईंले खोप लगाउन पाउनु हुन्छ, मैले भर्खर मन्त्रालयमा पनि कुरा गरिदिएको छु, तपाईंले भ्याक्सिन नपाएने होइन, नदिने होइन, विदेश जानेहरुलाई छुट्टै व्यवस्था गरेर दिने कुरा उठिसकेको छ, तपाईंहरु कुरै बुझ्नु हुन्न। कि स्वास्थ्य विभागको परिवार कल्याण महाशाखा, जसले खोपसम्बन्धी सबै व्यवस्थापन हेर्ने गर्छ । त्यही महाशाखामा गएर पत्र लिएर आउनु।’

त्यत्तिकैमा अर्की एक युवती पनि आएर आग्रह गर्दै भन्छिन्, ‘लेटर पनि दिँदैन रे सर, भर्खर मान्छे गएर आइराखेको छ। मेरो बाहिर जान टिकट भइराखेको छ अब म के गरौं, यहाँ बिहानदेखि बसेको बसै छु।’ विदेश जान लागेकी उनी पनि त्यहाँ बिहानदेखि आएर भिसा, श्रम, टिकटसमेत देखाउँदै खोप लगाइदिन आग्रह गरिराखेकी रहेछिन्।

त्यत्तिकैमा एरुमाया घले रुन थाल्छिन् र त्यहाँ उपस्थित केहीले विचरा यो बैनीलाई नरुहाउनु न है, तपाईहरुले के गरेको यो? भन्छन्। अन्ततः उनको अनुनयविनय त्यत्तिकै खेर जान्छ र उनी रुदैरुदै कसैको अनुहार नहेरी बाहिर निस्केर जान्छिन्।

उता एक महिला फोनमा कुरा गर्दै भन्छिन्, ‘पत्र दिएन ..?’ उनको फोनको कुराकानी सकिएपछि डिसी नेपालको जिज्ञासामा गुनासो गर्दै उनी भन्छिन्, स्वास्थ्य विभागले पत्र पनि दिएनछ। अरु अस्पतालले यस्तो गरेको छैन हिमाल अस्पतालले किन खोप नदिएको भन्छ रे, स्वास्थ्य विभागमा जाँदा पनि।’

उनका ज्वाइँ दुबई जान लागेका रहेछन, त्यसैले ज्वाइँ र आफू त्यहाँ खोप लगाउन सँगै आएका रहेछन्। उनको ज्वाईको भिसा, श्रम सबै कागजात छ तर उनले खोप पाएनछन्। उनलाई पनि विभागबाट खोप लगाउन पाउने सिफारिस पत्र लिएर आउन भनिएको रहेछ र उनी विभाग तिर लागेका रहेछन्।

उनी थप्छिन्, ‘यहाँ खोप लगाउन आउदा स्वास्थ्य विभागमा पत्र लिन पठाएको तर उता विभागले कुनै अस्पताललाई पनि त्यस्तो कुनै पत्र दिएको छैन भनेछ। विदेश जानेहरुलाई त्यसरी रोक्नु हुन्न नि, लगाइदिनु पर्छ नि। अघि ज्वाइलाई यहाँबाट पत्र लिन पठाए, पत्र दिएन, विदेश जानेलाई खोप दिनुपर्छ, अरु अस्पतालले त्यस्तो गरेको छैन, त्यो हिमाल अस्पतालले मात्र किन त्यस्ता गर्यो भनेर भनिराखेको छ रे उता विभागल पनि।’
टेकुमा धेरै भिड र लामो लाइन भएकाले हिमाल अस्पताल खोप लगाउन आएको बताउँदै उनले भनिन्, ‘टेकुमा भिड छ रे त्यही भएर यहाँ आएको । यहाँ मान्छे हेरेर खोप दिँदा रहेछन्।’

पछिल्लो समय सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि भेरोसेल खोपको प्राथमिकतामा राखेको थियो। तर, श्रमिक र सरोकारवालाहरुले कतिपय गन्तव्य देशले भेरोसेल खोपलाई मान्यता नदिएको र भेरोसेल खोपको दुबै मात्रा लगाउन एक महिनाको समय कुर्नुपर्ने भएकाले एक मात्रा(एक डोज) मात्रै लगाउँदा हुने जोन्सन एण्ड जोन्सनको खोप दिन सरकारसँग आग्रह गरेका थिए।

सोही आग्रहलाई स्वीकार्दै सरकारले खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई जोन्सन एण्ड जोन्सन खोप दिने भनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अनिवार्य गरेका देशमा जान लागेका व्यक्तिहरूलाई पासपोर्ट र भिसाको आधारमा जोन्सन एण्ड जोन्सन जोन्सन एण्ड जोन्सन खोप दिइने जनाएको छ।

अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई सहयोगस्वरुप दिएको १५ लाखभन्दा बढी डोज जोन्सन एण्ड जोन्सन खोप सोमबारदेखि ५० देखि ५५ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका नागरिक यसअघि छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मी, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिन सुरु गरेको छ।

उता ‘स्वास्थ्य मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप अनिवार्य गरिएका राष्ट्रहरुमा जाने व्यक्तिहरुलाई सोही खोप प्रदान गरिनेछ । खोप लगाउन खोप केन्द्र जाँदा आवश्यक कागजात(पासपार्ट र मिसा) पनि सँगै लिएर जानु होला’, भन्ने सूचना जारी गरेको छ।

तर, हिमाल अस्पतालले विदेश जान टिकट फिक्स भएका युवाहरुलाई खोपबाट बन्चित गरी रुवाउँदै फर्काएको छ। वैदेशिक रोजगारीमा जाने युवाहरु हातमा डकुमेन्ट बोकेर खोप लगाउन भौतारिराखेका छन्, उनीहरुप्रति सरकार तथा सम्बन्धित निकायको ध्यान जाओस्।
मन्त्रालयका अनुसार जोन्सन खोप यही साउन ४ गतेदेखि ६ गतेसम्म लगाइने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *