सन्दिप लामिछानेले द हन्ड्रेड पनि खेल्न नपाउने जोखिम

डिसी नेपाल
५ साउन २०७८ ११:१९

काठमाडौं। द हन्ड्रेड क्रिकेट लिग खेल्न बेलायत पुगेका नेपाली खेलाडी सन्दिप लामिछानजेले भिसा समस्याका कारण प्रतियोगिताका सुरुवाती खेल खेल्न नपाउने देखिएको छ । ६० हजार पाउण्डमा ओभल इन्भिसिबल्समा आबद्ध लामिछानेको उपलब्धता अनिश्चित भएको छ । यसअघि उनी भ्यालिडिटी ब्लास्टमा वर्सेस्टरशायरबाट खेल्ने तय भए पनि भिसा नपाएपछि प्रतियोगिताको केही दिनअघि प्रतियोगिताबाट बाहिरिएका थिए ।

लामिछानेका एजेन्टले इएसपिएनक्रिकइन्फोसँग कुरा गर्दै लामिछाने बेलायत आइसकेको र सोमबार अनिवार्य १० दिने क्वारेन्टाइनको ९ औं दिन भएको बताए । उनले बेलायत सरकारले स्वीकृत गरेको होटलमा क्वारेन्टाइन समय बिताइरहेका छन् तर यसले उनलाई बेलायतमा टायर ५ भिसा अन्तर्गत बस्न अनुमति दिने भए पनि यही भिसाको आधारमा उनले द हन्ड्रेड खेल्ने अनुमति पाउँदैनन् ।

‘अहिले हामी अनिश्चित छौं’ इन्भिसिबल्स पुरुष टिमका कप्तान साम बिलिङ्सले भने ‘मैले यो कुरा आज मात्रै सुनें र हामीले उनी यहाँ आउन सकुन् भनेर प्रार्थना गरिरहेका छौं । विश्वभरी विभिन्न प्रतिबन्धहरु लगाइएका कारण अहिलेको समय खेलाडीहरुका लागि निकै कठिन भइरहेको छ । आशा गरौं यो समाधान गरिनेछ किनकि उनी विशेष प्रतिभा हुन् ।’

अहिलेसम्म इन्भिसिबल्सले बिहीबार राती हुने म्यान्चेस्टर ओरिजिनल्स विरुद्ध आफ्नो पहिलो खेलमा आफूले खेलाउन पाउने ३ जना विदेशी खेलाडीमध्ये २ जना मात्र खेलाउन पाउने देखिएको छ । कोलिन इन्ग्राम र सुनिल नरेन लण्डनमा छन् र छनोटका लागि उपलब्ध छन् । इएसपिएन क्रिकइन्फोका अनुसार यदि लामिछाने प्रतियोगिताबाट बाहिरिए भने दक्षिण अफ्रिकी बलर तबरेज सम्सीलाई सम्भावित प्रतिस्थापनको रुपमा हेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *