शेरबहादुर देउवालाई अवसरभन्दा चुनौती धेरै

जगदीश दाहाल
७ साउन २०७८ १०:०३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समग्रमा नेपाली जनताले भाग्य बलियो भएको नेताको रुपमा बुझेका छन्। भाग्यकै परिणाम भन्नुपर्छ अहिले उहाँ पाँचौं पटक प्रधानमन्त्री बन्नुभएको छ। अहिले उहाँ प्रधानमन्त्री बन्नुको पृष्ठभूमि हेर्दा पनि उहाँलाई भाग्यले साथ दिएको भन्ने बुझ्नुपर्छ।

किनकि एउटै दलको झण्डै २ तिहाइको बहुमत हुँदा समेत उहाँलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको छ। त्यो पनि सत्ताधारी सांसदहरुले आफ्नै पार्टीबाट विद्रोह गरेर उहाँलाई साथ दिएका छन्। राजनीतिमा विरलै हुने घटनाक्रमको आडमा देउवा प्रधानमन्त्री पदमा पुग्नुभएको छ ।

मुलुकमा राजनैतिक, सामाजिक र स्वास्थ्यजन्य संकट भएको परिस्थितिमा उहाँलाई सत्ताको बागडोर हात लागेको छ। उहाँको अगाडि धेरै चुनौती छन्। एउटा चुनौती त सबै दलका नेतालाई मिलाएर मुलुकको सत्ता संचालन गर्नु छ। किनकि अहिले कुनै पनि दल प्रतिपक्षी छैनन् ।

देशमा राष्ट्रिय मान्यता पाएका ४ दल छन् र चारवटै दलका सांसदले देउवालाई विश्वासको मत दिएर समर्थन गरेका छन् । यस्तोमा सबैलाई मिलाएर अगाडि बढ्नु देउवाको काँधमा आइपरेको महत्वपूर्ण जिम्मेवारी हो । अर्को चुनौती विश्वव्यापी महामारी कोभिड–१९ र मुलुकका सिजनल बाढी, पहिरो डुबानका समस्याको सामना गर्नु छ।

तर, जे होस् झण्डै दुई तिहाइ नजिकको बहुमत ल्याएको कम्युनिष्ट सरकार र त्यसमा मधेसवादी दल मिलाएर दुई तिहाइकै सरकार बनाएको नेकपाको नेतृत्व यसरी बीचैमा ढल्ला र संसदमा प्रत्यक्षतर्फ २३ सिट जितेको पार्टीले सरकारको नेतृत्व गर्ने मौका पाउला भनेर कसैले सोचेको थिएन। यो एउटा काकताली हो।

विगतमा दोषरहित राजनीतिक जीवन बिताउन नसक्नुभएका उहाँले यो समयमा संयमका साथ काम गर्ने हो भने देशले उहाँलाई पछिसम्म स्मरण गरिरहनेछ । अब उहाँले उत्ताउलिने वा कसैको बहकाउमा नपरी जीवनको उत्तराद्र्धको अवस्थामा सम्यमताका साथ सबै नेपाली जनता मेरा हुन् भन्ने भावनाका साथ देशको नेतृत्व गर्नुपर्छ ।

नेपाली लोकतन्त्रवादी ससदीय मूल्य मान्यता पक्षधर आम नेपाली जनताको भाग्यले हो वा नेपाली कांग्रेसका सभापति देउवाको भाग्यले हो नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्ने मौका पाएको छ।

हुन त नेपाली काग्रेस क्षेत्रीय दल पनि होइन, जातीयवादी दल पनि होइन, वर्गीय राजनीतिक पक्षधर पनि होइन। अन्य मुलुकको राजनेताको अनुसरण गरेर सिद्धान्त बनाएको दल पनि होइन। नेपाली कांग्रेस राष्ट्रिय राजनीतिको केन्द्र हो।

संसारभरीका प्रजातन्त्रवादी राजनीतिक शक्तिले अनुमोदन गरेको विश्वको समर्थन प्राप्त, नेपाली भूमि, नेपाली जनता अनुकूल सिद्धान्त बोकेको राजनीतिक शक्ति हो। यस्तो राजनीतिक शक्ति कांग्रेसका सभापति देउवाले आज पार्टीको नेतृत्व र सरकारको नेतृत्व दुवै सम्हाल्ने मौका पाउनु भयो।

हुन त यहाँ पाँच पटक प्रधानमन्त्री हुँदा पनि आफैंले निर्वाचन गराएर वा अरुले निर्वाचन गराएर जनताद्वारा बहुमत प्राप्त संसदीय दलको नेता बन्ने र त्यस्तो नेताको हैसियतले प्रधानमन्त्री बन्ने अवसर पाउनुभएन। पाँचै पटक उहाँ प्रधानमन्त्री बन्दा निर्वाचनपछि बनेका सरकार विभिन्न कारणले ढलेका कारण प्रधानमन्त्री पदसम्म पुग्नुभयो।

अर्थात उहाँ मुलुकको राजनैतिक अवस्था अस्थिर र तरल भएको अवस्थामा मात्र प्रधानमन्त्री बन्नुभयो । पाँचौं पटक प्रधानमन्त्री बन्दासम्म पनि उहाँले निर्वाचनपछि लगत्तै प्रधानमन्त्री बन्ने मौका भने पाउनु भएन।

उहाँको सुरुवाती सरकारको नेतृत्व पनि अदालतकै आदेशबाट भयो। र, पाँचौ पटकको प्रधानमन्त्रीत्व पनि अदालतको आदेशबाट भयो। बीचका प्रधानमन्त्रीत्व पनि सम्झौता र गणीतीय खेलका आधारमा तिकडमबाजीको राजनीतिबाट प्राप्त गर्नु भयो । तर जे होस यो पटक उहाँले सरकारको नेतृत्व पाउनु चाहीँ उहाँको ठूलै भाग्य महशुस भयो।

उहाँ जस्तो पटक पटक प्रधानमन्त्री भइसकेको, विद्यार्थी कालदेखि राजनीति गरेर आएको, एउटा लोकतान्त्रिक मूल्यमन्यताको हिमायती राजनीति गरेको नेताले अब नअत्तालिइकन देश र जनताको पक्षमा लोकतान्त्रिक पद्धति मूल्य मान्यता र संधिवानको सवल कार्यान्वयनको पक्षमा कसैसँग मोलमोलाइ गर्नुहुने छैन र डटेर काम गर्नुहुन्छ भन्ने अपेक्षा गरिएको छ ।

अर्को कुरा अहिले उहाँ आफ्नो राजनैतिक जीवनको उत्तराद्र्धमा हुनुहुन्छ । विगतमा दोषरहित राजनीतिक जीवन बिताउन नसक्नुभएका उहाँले यो समयमा संयमका साथ काम गर्ने हो भने देशले उहाँलाई पछिसम्म स्मरण गरिरहनेछ । अब उहाँले उत्ताउलिने वा कसैको बहकाउमा नपरी जीवनको उत्तराद्र्धको अवस्थामा सम्यमताका साथ सबै नेपाली जनता मेरा हुन् भन्ने भावनाका साथ देशको नेतृत्व गर्नुपर्छ ।

कसैप्रति जातजाति, राजनीतिक आस्थाका आधारमा, क्षेत्रको आधारमा भेदभाव नगरी सबैको प्रधानमन्त्री र सबै नेपाली जनताको सरकार देखाउन र चलाउन उहाँले सक्नुपर्छ।

र, अघिल्ला सरकारले नियुक्ति गरेका संवैधानिक आयोगका पदाधिकारी वा अन्य सरकारी निकायमा नियुक्ती भएका भएपनि कसैलाई हटाउनु वा नियुक्ति खारेजी गर्नु हुँदैन। उहाँले त्यो गर्नुहुने छैन। उहाँले सबैसँग सरकारको नीति अनुसार परिणाम दिन, काम खोज्न र गराउन सक्नुपर्छ।

सरकार फेरिएसँगै विभिन्न पदमा रहेका व्यक्ति फेर्ने राजनीतिक संस्कार नेपालमा छ । सरकारको क्षेत्राधिकार चल्नेस सबैजसो पदमा सरकार फेरिएसँगै पदाधिकारी फेरिने गरेको छ । तर अब प्रधानमन्त्री देउवा व्यक्ति फेर्न वा व्यक्ति निकाल्न तिर लाग्नु हुँदैन। त्यो नेपाली कांग्रेसजस्तो राजनीतिक सिद्धान्त बोकेको राजनीति शक्तिलाई सुहाउने कुरा पनि होइन। त्यस्तैले उहाँले यी सब मान्छे परिवर्तन गर्नतर्फ लाग्नु हुँदैन।

अर्को कुरा उहाँले नेपाली कांग्रेसकोे आगामी नेतृत्व वा आफ्नो उत्तराधिकारी को हुन्छ भनेर देखाउन र औंल्याउन सक्नुपर्छ। र, नेपाली कांग्रेसलाई आउने दिनमा सशक्त र संगठित जनताका माझ लोकप्रिय राजनीतिक शक्ति बनाएर देश र जनताको हित गर्छ कांंग्रेसले भन्ने कुरा अनुभूति हुने गरी राजनीतिक जीवनको उत्तराद्र्धमा उहाँका काम करवाहीले र सोचाइले त्यो देखिनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *