ठूलो आवाजका साथ पृथ्वीमा उल्कापिण्ड खस्यो

डिसी नेपाल
११ साउन २०७८ १०:४०

काठमाडौं। नर्वेको आकाशमा आइतबार एउटा ठूलो उल्कापिण्ड देखियो । मानिसहरुले आकाशमा यो पिण्डको आवाज सुने र तीब्र प्रकाश देखे । विशेषज्ञका अनुसार यो उल्कापिण्डको केही भाग राजधानी ओस्लो नजिकै खसेको हुनुपर्छ । अहिलेसम्म यसले कुनै नोक्सानी भएको जानकारी भने आएको छैन ।

उल्का पिण्ड देखिएको खबर आइतबार बिहान करिब १ बजे ट्रोनधेम सहरबाट आएको थियो । होलमेस्ट्रेन्ड काउन्टीमा जडान गरिएको एक वेबक्यामेराले आकाशबाट खसिरहेको फायरबलको भिडियो रेकडी गरेको छ । सीएनएनको रिपोर्टअनुसार नर्वेको उल्का पिण्ड नेटवर्कले भिडियो फुटेजको विश्लेषण गरेर उल्कापिण्डको उत्पत्ति र यो खसेको ठाउँ पत्ता लगाउने प्रयास गरिरहेको छ । सुरुवाती जाँचमा उल्कापिण्ड राजधानी ओस्लोबाट ६० किलोमिटर टाढा फिनेमार्का जंगलमा खसेको हुन सक्ने देखिएको छ ।

नर्वेको उल्का पिण्ड नेटवर्कका मोर्टेन बिलेटले यो पिण्ड खसिरहेको देखेका थिए । उनका अनुसार यो निकै तीब्र गतिमा खसेको थियो । आइतबार दिउँसोसम्म यसको कुनै अवशेष भेटिएको छैन । बिलेटका अनुसार सम्भावित उल्कापिण्डको खोजमा १० वर्षसम्म लाग्न सक्छ । बिलेटका अनुसार उल्का पिण्ड १५ देखि २० किलोमिटर प्रतिसेकेण्डको गतिमा दौडिरहेको थियो । आकाशमा करिब ५–६ सेकेण्ड यसको चमक देखियो ।

केही मानिसहरुले यो घटनाको साथमा तीब्र हावाको धक्का महसुस गरेको बताएका छन् । यसबाट दबाबको लहर उत्पन्न भएको थियो । बिलेटका अनुसार आइतबार राती मंगल र बृहस्पतिको बीचबाट एउटा ठूलो चट्टान पार हुने अनुमान थियो । २०१३ मा रुसको चेलयाबिंस्क सहरनजिकै एउटा उल्का पिण्ड खसेको थियो । यसका कारण १२०० जना घाइते भएका थिए र कैयौं भवन क्षतिग्रस्त भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *