१३ वर्षकी खेलाडीले ओलम्पिकमा स्वर्ण पदक जितेर इतिहास बनाइन्

डिसी नेपाल
११ साउन २०७८ १६:१०

काठमाडौं। जापानमा जारी ओलम्पिकमा १३ वर्षकी एक खेलाडीले नयाँ इतिहास बनाएकी छिन् । १३ वर्षकी मोमिजी निशियाले स्ट्रिट स्केटबोर्डिङमा स्वर्ण पदक जित्दै ओलम्पिकको इतिहासमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडीहरुको सूचीमा सामेल भएकी छिन् । मोमिजी निशियाको उमेर पदक जितेको दिन सोमबार १३ वर्ष ३३० दिन थियो ।

ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने विश्वरेकर्ड बनाउनबाट भने उनी चुकिन् । ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडीको रेकर्ड अमेरिकाकी मार्जोरी गेस्ट्रिङको नाममा छ । मार्जोरी गेस्ट्रिङले १९३६ मा भएको बर्लिन ओलम्पिकमा ३ मिटर स्प्रिङबोर्डमा स्वर्ण पदक जितेकी थिइन् । त्यतिबेला उनको उमेर १३ वर्ष २६८ दिन थियो ।

द जापान टाइम्सका अनुसार मोमिजी निशिया ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने जापानी बनेकी छिन् । यस पटक ओलम्पिकमा पहिलो पटक स्केटबोर्डिङ खेल समावेश गरिएको थियो । यो खेलमा ब्राजिलकी रेसा लिल पनि सहभागी भएकी थिइन् । उनले रजत पदक जितिन् ।

यदि रेसाले स्वर्ण पदक जित्न सकेको भए उनले ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण जित्ने खेलाडीको रेकर्ड बनाउने थिइन् । उनको उमेर सोमबार १३ वर्ष २०३ दिन भयो । मोमिजी निशियाले यसै वर्ष इटलीमा भएको विश्व च्याम्पियनशिपमा रजत पदक जितेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *