सेयर बजारले कायम गर्यो नयाँ कीर्तिमान, कारोबार रकममा पनि वृद्धि
काठमाडौं। साताको तेस्रो दिन सेयर बजार परिसूचक नेप्सेले नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार नेप्से २९.२ अंकले बढेर ३०७९.६७ विन्दुमा बन्द भएको छ। यो हालसम्मकै उच्च विन्दु हो।
नयाँ सरकार गठन भएसँगै बढ्न थालेको परिसूचकले गत आइतबार मात्रै ३ हजार ५८ अंककले बढेर नयाँ कीर्तिमान बनाएको थियो। उक्त कीर्तिमानलाई तोड्दै परिसूचकले मंगलबार हालसम्मकै सर्वाधिक उचाई कायम गरेको हो।
लगानीकर्ताको मनोवल धेरै नै सकारात्मक रहेका कारण बजारले अझै नयाँ उचाई कायम गर्ने लगानीकर्ताहरुको विश्वास छ। यो समयलाई सेयर बजारको सिजनका रुपमा हेरिने भएकोले पनि परिसूचक सेयर बजारमा हरियाली कायम भएको हो। यतिबेला सेयर होल्ड गर्दा छोटो समयमा लाभांश पाइने हुन्छ। त्यसैले पनि यसलाई सेयर बजारको सिजन भनिन्छ।
मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन १५ अर्ब १७ करोड रुपैयाँ भन्दा धेरैको सेयर खरिद बिक्री भएको छ।
यस दिन १० वटा कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ। मंगलबार नेपाल हाइड्रो डेभलपर्स, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, हिमालय उर्जा विकास, युनिभर्सल पावर, जानाकी फाइनान्स र युनाइटेड इदी मर्दी आरबीको मूल्य १० प्रतिशतले बढेको हो।
मंगलबार समग्र बजार बढे पनि सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५.७७ प्रतिशतले गुमाएका छन्।
यस दिन सर्वाधिक कारोबार एनआइसी एसिया बैंकको भएको छ। उक्त कम्पनीको ४९ करोड बढीको कारोबार भएको छ।
Facebook Comment