ओलम्पिकमा यी खेलाडीसँग प्रतिस्पर्धा गर्न अस्वीकार गर्दै २ खेलाडी स्वेच्छाले बाहिरिए

डिसी नेपाल
१२ साउन २०७८ १६:०३

काठमाडौं। खेलकुदको महाकुम्भ ओलम्पिकमा खेल्न गएका २ जना खेलाडीले प्रतिस्पर्धी खेलाडीसँग प्रतिस्पर्धा गर्न अस्वीकार गर्दै आफू स्वेच्छाले प्रतियोगिताबाट बाहिरिएका छन् । बाहिरिएका दुवै खेलाडीले इजरायलका जुडो खेलाडी तोहार बुटबुलसँग प्रतिस्पर्धा गर्न अस्वीकार गरेका हुन् ।

समाचार एजेन्सी एपीका अनुसार एक हप्ता पहिले अल्जेरियाका जुडो खेलाडी फेथी नौरिनले जुडोको ७३ किलो वर्गबाट आफ्नो नाम फिर्ता लिएका थिए । उनको प्रतिस्पर्धा २७ वर्षका बुटबुलसँग हुनुपर्ने थियो । नौरिनले आफूले प्यालेस्टाइनमाथि इजरायलको अत्याचारको विरोधस्वरुप इजरायली खेलाडीसँग प्रतिस्पर्धा गर्न अस्वीकार गरेको बताएका थिए । नौरिनपछि अब सुडानका खेलाडी मोहम्मद अब्दुल रसुलले पनि बुटबुलसँग खेल्न अस्वीकार गरेका छन् । रसुलले आफूले किन बुटबुलसँग खेल्न अस्वीकार गरेको भन्ने विषयमा सार्वजनिक रुपमा केही भनेका छैनन् ।

यसअघि अल्जेरियाको एक टेलिभिजनसँग कुरा गर्दै नौरिनले आफूले ओलम्पिक खेलमा छनोट हुनको लागि निकै मेहनत गरेको भए पनि प्यालेस्टाइनको मुद्दा योभन्दा धेरै ठूलो भएको बताएका थिए । आफू प्यालेस्टाइनका विषयमा आफ्नो धारणामा अडिग रहेको बताउँदै उनले भनेका थिए ‘म यी खेलमा इजरायलले गरिरहेको अत्याचारलाई सामान्यीकरण गरिएको विरुद्ध छु र यदि यसका कारण मलाई ओलम्पिक खेलबाट बर्खास्त गरिए पनि म यसको लागि तयार छु ।’

यसअघि २०१९ मा विश्व च्याम्पियनशिपमा पनि नौरिनको प्रतिस्पर्धा बुटबुलसँग हुने तय थियो । त्यतिबेला पनि नौरिनले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेका थिए । त्यसपछि इन्टरनेशनल जुडो फेडरेसनले नौरिनलाई सस्पेन्ड गरेको थियो । त्यसपछि अल्जेरिया ओलम्पिक कमिटीले नौरिनलाई घर पठाएको थियो । बुटबुलले पहिलो खेल राउण्ड अफ १६ मा क्यानडाका आर्थर मार्गेलिडनसँग खेलेर हारेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *