सर्लाहीका उखु किसान पुनः आन्दोलनको तयारीमा

डिसी नेपाल
१४ साउन २०७८ १७:१४

काठमाडौं। सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन्। आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा जुटेका हुन््। उनीहरु आन्दोलनकै लागि काठमाडौं आएका छन्।

बिहीबार रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरुले चिनी उद्योगसँग लिन बाँकी भुक्तानी अझैसम्म पनि नपाएको गुनासो गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले पहिला सरकारलाई आफूहरुको अवस्थाबारे अवगत गराउने र आगामी भदौ ५ गतेसम्म सम्पूर्ण भुक्तानी नगरे आन्दोलन गर्ने चेतावनी दिए।

मिश्रले उद्योग मन्त्रालयसँग २१ दिनभित्र सम्पूर्ण बाँकी बक्यौता रकम मन्त्रालयले भुक्तानी गराउने भनी २०७७ पुस १३ गते पाँच बुँदे सहमति भए पनि हालसम्म आफूहरुले सम्पूर्ण भुक्तानी नपाएको गुनासो पोखे। सरकारी उदासिनताका कारण आफूहरु अन्यायमा परेको उनको भनाइ छ।

मिश्रले विगत तीन÷चार वर्षदेखिकै करिब ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा जुटिसकेको स्पष्ट पारे। उनले अहिलेसम्म २०७४ कै भुक्तानी रकम नपाएको बताए। उनले उखु किसानहरुले दाबी गरेको ९० करोड मध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रलायले विवादित भनी कार्यदलले प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिए पनि यसबारेमा मन्त्रालयले चासो नदिएको आरोप लगाए।

उखुकै पैसा माग्न सर्लाही जिल्लाका उखु उत्पादक किसान काठमाडौँ आएको मिश्रले बताए। उनले उखु बेचेरै धेरैले आफ्नो घरपरिवार र व्यवहार चलाउने गरेको भन्दै अहिले सबै किसानको आर्थिक अवस्था नाजुक भएको र व्यवहार बिग्रिएको पनि सुनाए।

सरकारबाट पटक–पटक आश्वासन पाए पनि अहिलेसम्म भुक्तानी हुन नसकेपछि किसानहरु कोरोना महामारीको बावजुद पनि फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँ आएको मिश्रले बताए।

उनले ३६ प्रतिशत रकम ब्याजमा लिएर अर्काको जग्गामा उखु खेती गर्नेहरुको उठिबास भएको सुनाए। उनले अघि थपे, ‘निमुखा किसानहरुको बिजोग भएको छ।’ केही दिनअघि एक किसानलाई बैंकले लिलामीको सूचना पठाएपछि चन्दा उठाएर काम सल्टाउँदा पनि मिलले किसानको पैसा नदिँदा दुःख लागेको मिश्रले बताए।
ऋण लिएर उखु खेती गरेका किसानहरु थप मारमा परेको उनको भनाइ थियो। ‘किसानका लागि योभन्दा ठूलो अत्याचार के हुनसक्छ ?’, उनले भने। उनले भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौँ धाउनुपरेको समेत स्मरण गराए।

समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटक–पटक आन्दोलन गर्न बाध्य भएको उनले तितो यथार्थ सुनाए। विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौँ आएका हुन्। उखु किसान २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन्। किसानको भुक्तानी नदिने मिलहरुमा अन्नपूर्ण चिनी मिल धनकौल, महालक्ष्मी चिनी मिल बगदह, लुम्बिनी चिनी कारखाना नवलपरासी, ईन्दिरा सुगर मिल नवलपरासी र श्रीराम सुगर मिल रौतहट रहेका छन्। यी मिलबाट सरकारले उखु किसानको लागि १५ करोड रुपैयाँ उठाइदिने कबुल गरेको भए पनि अहिलेसम्म एक रुपैयाँपनि नउठाईदिएको उनीहरुको गुनासो छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *