कथा : स्यालुट !

डिसी नेपाल
१६ साउन २०७८ ७:३०
116
Shares

‘पत्रकार अंकल, हजुर कुन खालको पत्रकार हुनुहुन्छ, मलाई सहयोग चाहियो। हाम्रो बुबाको मूड अफ छ। म यत्ति भन्न आएको हतार भो जान्छु।’ स्कुलको पोशाकमा बालकले पिठ्यूँमा पुस्तकको भारी बोकेकै थियो।

‘बाबु पख पख ? तिमी ….
‘जी म श्याम, श्याम सल्लाघारी।
‘ए माननीय माधो सल्लाघारीको …

‘जी म छोरो, छोरो नै भनौँ। म कसको छोरो हुँ त्यो त आमा नै जान्नुहोला। डीएनए हेर्न बाँकी नै छ। ढोका खुलै छ। अनि पक्का होला। अब म जाऊँ है अंकल।’

पत्रकारले फोन लगायो। संवाद चल्यो–नमस्कार हजुर म सेवाराम लौसीबोटे। माननीयज्यू त्यति प्रसन्न हुनुहुन्न रे। म एकैछिन आऊँ कि भनेर…। उसले नारी तत्वसंग संवाद गर्‍याे।

‘सोधिरहनुपर्छ र हेर्नुस् न मन्त्री हुने कुरो छ , उहाँ मुड बिगारेर बस्नुभाछ। आइहाल्नुहोस्, माक्स म यहीँ दिन्छु।’

पत्रकार लौसीबोटेले गुन्यो–नेताजी कोशी उच्च बाँध जिम्म लगाउने पक्षमा थिएनन्। दबाब परेर मूड खराब भएको होला। तर किराँत साम्राज्य (प्रदेश १) ले रोक्न चाहे सजिलै रोक्न सक्छ नि! प्रदेश १ को सरकार त्यति कमजोर वा बिकाउ होला र। दिए भने विद्रोह उठ्छ। यो त उनले बुझेकै हुनुपर्छ। कि…. अत्मसंवाद गर्दै ऊ पुग्यो।

‘सलाम कमरेड! सन्चो भएन कि ?’

‘हैन ठिक छु। यसै मूड बिग्रियो। खै के भन्ने। कुरा गरे पनि प्रतिगामी विचार राख्यो भन्छन्।’ माननीय माधो सल्लाघारी खिन्न देखियो।
‘प्रसंग के हो ? अर्थात कारण? कारण थाह पाए मूड त ठीक भैहाल्छ नि! कोशी बाँध त दिनै कुरै आउँदैन त्यसबाट ठूलो क्षति हुन्छ । रोक्नै पर्छ।’

‘त्यो त रोकिन्छ त्यो समस्या होइन। हाम्रो प्रदेशको कुरा केन्द्रलाई निर्णय गर्ने अधिकार पनि छैन। हामीसँगै छ नि सिंहदरबार। कुरा त्यो हैन।’
अनि?

त्यो नाथे पुलिस मलाई स्यालुट गर्दैन। अब के भन्ने! मलाई स्यालुट गर भन्ने? ’

डिसिप्लिनमा नरहने भनेर कारवाही गर्ने नि, नत्र फिर्ता पठाइदिने । अर्को ल्याउने नि । कत्रो कुरा हो र?’

यो अर्को नै हो। यो पनि त्यसै गर्छ । शायद सल्लाह त्यस्तै होला आपसमा। कि निर्देशन नै त्यस्तै हो कि? स्यालुट खाने कार्वाही बारम्बार चलाउनु पनि त भएन!’

पत्रकारले मनमनै गुन्यो–ज्ञानीहरु मान र अपमानको विषयबाट टाढा हुन्छन् भन्थे। हाम्रा मान्यज्यू सम्मानका कति भोका रहेछन्। किन ख्याल राख्नुपर्‍याे – कसले स्यालुट गर्यो कसले गरेन। जनता भोकभोकै मरेका छन्, उपचार नपाएर मरेका छन्, न्याय नपाएर बौलाएका छन्, असुरक्षित भएर बसेका छन्, त्यता वास्ता छैन, पुलिसले स्यालुट गरेन भनेर बौलाउने? यस्तो पनि हुन्छ जनप्रतिनिधि! धिक्कार होस्! फेरि यदि पुलिस नाथे हो भने त्यसको स्यालुट चाहियो किन? बिग्रेकै हो नेताको मति।

तर मिडियामा आयो–सन्तुलित आहारको कमी र कर्तव्यमा ज्यादा खटिनु पर्ने भएकाले प्रहरी जवानको शरीरको दाहिने भागमा बेला बखत सुस्ती आउन थालेको बुझिएको छ। प्रहरी जवानको सन्तुलित आहार र सुविधाका लागि जनप्रतिनिधिले संसदमा चर्चा उठाए सुधार ल्याउने आशा गर्न सकिन्छ। जनसभामा पनि यस कुराले चर्चा पाएको छ। राजनीतिक संस्कार पाएका जीवहरु सकारात्मक रहेको बुझिएको छ।

पुलिस एकेडेमीको सभाकक्षमा आकस्मिक बैठक बस्यो। सहप्रहरी महानिरीक्षकको सक्रियतमा बसेको बैठकमा सबै क्षेत्रमा प्रहरीहरुको प्रतिनिधित्व थियो भने गृहका उपमन्त्री र उपसचिव तथा शिष्टाचार महापाल र सडक संचारकर्मीहरुको पनि मानार्थ उपस्थिति थियो। दलका एक एक सांसद पनि आमन्त्रित थिए।

समूह समूहमा छलफल टुंगिएपछि प्रश्नोत्तर कार्यक्रम शुरु भयो प्रहरीको पद कर्म र धर्मसँग जोडिएर आएको स्यालुटलाई बिर्सिन थालेको भन्ने विषयबाट चर्चा शुरु भयो।

आफ्नो पालोमा एउटा प्रहरी जवानले अदवसाथ भन्योः ‘सत्य सेवा र सुरक्षामा खटेकै छु। तर मैले स्यालुट गर्न छोडे। म यसको कारण दिन्छु अपराधी र दुराचारीका अगाडि शिर झुकाउने प्रहरी मेरो बाबु हुन सक्दैन। फटाहा डाका दस्यु र देशघातीलाई स्यालुट हानेको थाहा पाएँ भने न म यो घरमा बस्छु न पढ्न जान्छु । कुनै डन विचौलिया र तस्करलाई पनि ठूलो ठानेर स्यालुट गरेको देखेँ भने म कसैलाई छोड्दिन। प्रहरीले अपराधीलाई पूजा गर्ने कुरै आउँदैन।’ यसरी छोरोले धम्क्याएपछि मैले स्यालुट गर्न छोडेँ।

अर्को उठेर भन्यो, ‘हो सर मलाई पनि मेरी छोरीले यसै भनिन्। कानून र समाजले अपराधी करार गरेका व्यक्तिलाई जोगाउन र स्यालुट गर्न मन मान्दैन। मैँले पनि छोडेँ। ’

‘अर्काले उठेर थप्यो हाम्रो भनाइ पनि यही हो। साथीहरु के भन्नुहुन्छ? समर्थनमा खूब ताली बजे।

‘हो ठीक हो। हामीले पनि अपराधीहरुलाई स्यालुट गर्नु नपरोस्। हामी परिवार हारेर जागिर जित्न चाहदैनौँ । अपमान सहेर सेवा दिन सक्दैनौँ। प्रहरी शक्तिको शिर नझुकोस्। असल व्यक्तिका अगाडि हामी हजारपटक झुक्न र स्यालुट हान्न राजी छौँ। झुन्नाउनु पर्ने र जिउँदै आगो लगाउन पर्नेलाई सम्मान र सलोट खै….।’ ऊ बोली सकेर बस्यो।

राति १ बजेर १ मिनेटमा पुलिस एकेडेमीले विज्ञप्ति जारी गर्योः प्रहरी जवान कसैलाई स्यालुट गर्न बाध्य छैन। उसैको विवेकमा निर्भर रहनेछ। ’
सँगै अर्को पूरक विज्ञप्तिले भन्योः प्रहरी निकाय उदासीन पनि छैन र कर्तव्यबाट पन्सिने पनि छैन। यसका लागि राष्ट्रिय तहबाटै स्यालुटको व्यवस्था गरिने छ ।

अर्को दिनदेखि प्रहरीले बिहान ५ बजे स्यालुट कार्यक्रम संचालन गर्यो र सम्पूर्ण नेपालीलाई एकैपटक स्यालुट अर्पण गर्न थाल्यो।

प्रहरी जवान अपराधीलाई स्यालुट गर्नै पर्ने वाध्यताबाट सधैका लागि मुक्त भयो। छाती चौडा पार्‍याे।

नयाँ प्रहरी महानिरीक्षकको यो कदमप्रति दुनियाँले सम्मान प्रकट गरे।

पत्रकारले थोरै व्यंग्य गरे ‘प्रतिगामी चिन्तन र चलनबाट प्रहरी पनि मुक्त भो।’

जनप्रतिनिधिले आफ्नै मुख गन्हाएको अनुभव गरे।

स्कुलमा विद्यार्थी छोराछोरीले उत्सव मनाए । शिक्षकहरुले विद्यार्थीहरुप्रति गौरव गरे।

अब त ओछ्यानमा नै स्यालुट खाने हुनुभो रेडियोबाट। मुड सही होला नि! स्यालुटका भोका जंगली पाखँडीहरु ।’नेताकी जोई भुत्भुताइन्। ‘झिल्कोले डढेलो लाग्छ भन्ने कुरा थाहा हुँदैन राजनीति गर्नेलाई? चुनाव जितेर आएको भए पो टेर्छ प्रहरीले । करले मान पाउन सकिन्छ? मलाई त यिनको दिमाग देखेर आफैँ बौलाउँछु जस्तो लाग्छ छिः!’

बिचरा पत्रकार मेलम्ची पानीको खोजीमा निस्क्यो तर कुन किलोमा कस्तो समाचार जुटाउने उसले होस गर्न सकेन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *