व्यंग्य : भाग्यमानीको भुतै कमारो – Dcnepal

व्यंग्य : भाग्यमानीको भुतै कमारो

हतार हतारमा एकता गरेर पकाएको राजनैतिक खिचडी सम्हाल्न नजान्दा अकालमै कुहिएको कारणले तुहिएको दुई तिहाइको अत्यन्त बलियो सरकारबाट चुहिएको गुट समेतको सहयोगमा रात रहेर पलाएको अग्राख जस्तो गरी कहाँबाट कसले चलाएको गोली लागेर हो अदालतले सरकार ढलाएको कारणले अप्रत्याशित नयाँ सरकार बनेकोमा कसैलाई पनि आश्चर्य लागेको देखिएन।

गत निर्वाचनमा पाएको जनमत र आएको नतिजा अनुसार यसपाली सरकारमा जाने अनि त्यसको सुबिधा खाने सोच दिमागको एक छेउमा पनि नराखीकन घरमा बसेर दलका झिना मसिना समस्याहरुलाई मुढे बलले पेलेर र आफैं भित्रका बिरोधीहरुलाई हप्काइ दप्काइ तर्साइ गर्दै झेलेर भएपनि आफ्नै तरिकाले भित्तामा पुग्नेगरी ठेलेर खेलाउँदै दलको महाधिवेशनसम्मको सोच पालेर घर बसेको मान्छेलाई यति चाँडो यो तरिकाले सरकार प्रधानको घाँडो आइलाग्ला भन्ने उनि आफैंलेपनि सोचेको जस्तो लागेन।

बालकोटका उखाने कामरेडलाई कुर्सीबाट खँगार्न उनकै दलका वरिष्ठ कामरेडहरुलाई ज्यादै हतारो भएकोले त्यही चटारोमा उनिहरुले हानेको झटारोले लागेर यिनको तालुमा आलु फल्न पुगेको हो।

कुनैपनि बेला सरकारमा जान्छु भन्ने सोच भइदिएको भए यो यो मन्त्रालयमा यस यसलाई लान्छु र यसरी यसरी सरकार प्रधानको जागिर खान्छु अनि यो यो ठाउँबाट यति यति माल हान्छु भन्ने बृहत योजना बनेको हुन्थ्यो र सरकारले त्यही अनुसारको बाटो चुन्थ्यो।

सरकार प्रधान हुने प्रचुर सम्भाबना भएर सरकार प्रधान हुँदा त खासै केही लछार्न र जनताका समस्याहरुलाई चित्त बुझ्दो किसिमले पछार्न कुनै काम नभएको चार चार चोटीको प्रत्यक्ष अनुभव बोकेका जनताले अकस्मात तरिकाले पाँचौँ चोटी बनेका उनै सरकार प्रधानबाट कुनै उच्च कोटीको काम होला भन्ने सोचेका पनि छैनन् होला।

बिगतमा पनि नयाँ नयाँ विकृति, बिसंगतीहरु भित्र्याउँदै ठूलाठूला कमाइ धमाइमा मात्रै रमाइ हिँडेको ब्यक्तिबाट कसले ठूलो आशा गरेको हुन्छ र? सौताको रिसले पोइको काख चिस्याए जस्तो उखाने कामरेडको रिसले अहिलेका सरकार प्रधानलाई ल्याउनु र उनीमार्फत सबैतिर आफूले चाहे जसरी भ्याउनु नै यो परिवर्तनको उद्देश्य हो कि भनेर शंका गर्नेहरुको खासै उपचार त के होला र?

शिकार मार्नुभन्दा अगाडि एक भएर लागेका र सबैथोक बिर्सेर शिकारको पछिपछि भागेका शिकारीहरु शिकार मारिसकेपछि सबै जसोले सकभर बढी र राम्रो भाग हात पार्न आफू बीच नै मारामार गरेजस्तो गठबन्धनका मुख्यमुख्य नेताहरु राम्रा र बढी मन्त्रालयहरु आफ्नो भागमा पार्ने र घुर्की धम्की डर देखाएर भएपनि बाजी मार्ने चक्करमा रहेका देखिन्छन्।

बिगत केही दशकदेखि पार्टीको नेतृत्वलाई आर्थिक पाटोमा हेरबिचार गर्नेलाई अरु जोसुकैसित फाटो परेपनि सांसद र मन्त्री  बनाउने चलन चलेकै छ। नेतृत्वको आर्थिक गर्जो टार्नेलाई जसरी पनि मन्त्रिमण्डलमा पार्ने बाध्यता सबै सरकार प्रधानहरुलाई परेकै हुन्छ। यसपाली पनि त्यस्तै होला भनेर सबैले बुझिदिनुको साथै चित्त बुझाउने बाहेक अरु उपाय देखिन्न।

मन्त्री हुन इच्छुक माननीयहरुपनि शिर्ष नेताहरुको अगाडि पर्ने र मन्त्री पद खान मरिहत्ते गर्ने गरेका हुनाले शीर्ष नेताहरुलाई ठूलो दवाव र दिमागी आतंक नै भएको छ रे भनेर स्वघोषित महान नेताले निकै गम्भिर भएर सार्वजनिक रुपमै बोलेर अनि आफ्ना माननीयहरुको भित्री कुरा खोलेर बेइज्जत नै गरिदिए र यसैबाट बिरोधीहरुको अनुहारमा हाँसो भरिदिए भन्दै सानो स्वरमा असन्तुष्टि देखाएको पनि पाइयो।

उखाने कामरेडबाट केही नपाइने पक्का भएपछि उनलाई अदालतबाट धक्का दिएर कुर्सीबाट निकालेपछि चाहे अनुसारको कुर्सी नभेटे त्यसो गर्नुको के मतलव भयो र? यही किसिमको काम गराइ र बानी बेहोरामा सुधार नआउने हो भने आउँदो चुनावमा आधाभन्दा बढिले टिकट र भोट दुबै नपाउने ग्यारेन्टी भएकोले जसो गरेर भएपनि एउटा मन्त्री पद पड्काउने अनि राम्रो खानपिन गरेर बाँचुन्जेल पगरीको इज्जत अड्काउने र त्यसको लागि आप्mनो पक्षमा शिर्ष नेतालाई भड्काउने काम त गर्नै पर्‍याे।

सत्ता गठबन्धनका पाँच दल मध्ये सरकार प्रधानको दलमा श्रीमती र सालाजीको छनौटलाई प्राथमिकता नदिइ मन्त्री मण्डलको बनौट हुनै नसक्ने अबस्था छ रे भन्ने बजारे हल्ला सुनिएपनि जनताले पटक्कै पत्याएका छैनन्।

आफ्नो भागमा जति संख्या पर्छ त्यसलाई सकभर माथिल्लो बोलीमा लिलाम बढाबढ गरेर भनेजति पैसा खर्च गर्नसक्ने टोलीबाट मन्त्रिमण्डल भर्न पाए नोटको थुप्रोमा चर्न पाएर जुनी सफल भएको अनुभव गर्न पाइन्थ्यो भनेर सोच्नु कदापी नराम्रो होइन।

अर्को धनयुद्धबाट आएको खाओवादीका अध्यक्षले त आफ्ना भएजति सांसदहरुले मन्त्री हुन दवाव दिएर आतंक मच्चाएर सारै तनाव दिएको हुनाले निर्णय गर्न नसक्ने बाटो लिएको बताएर र कन्सिरी तताएर त्यही बिषयमा भावुक अभिब्यक्ति दिन बाध्य भए।

आफ्नो भागमा परेको थोरै संख्यामा अरुलाई मौका दिँदा र देश हितको बाटो लिँदा छोरी बुहारी र नजिकका नातेदारहरुले मौका नपाउने अनि उनीहरुलाई मौका दिँदा कार्यकर्ताले चुनावमा भोट नदिएर धपाउने अबस्था आउने हुँदा छोरीको पालामा जस्तो मतपत्र चपाउने स्थितीपनि सँधै आउँदैन।

समस्यापनि एउटा मात्रै हो र? बिपक्षीतिर लागेर आफ्नै दलको सरकार गिराउन र बिपक्षीलाई परमादेश मार्फत बालुवाटार छिराउन अहम् भूमिका निभाएका दलपनि नछोडेका अनि दललेपनि वरिष्ठ नेतामा नाम नजोडेका बिभिषण मार्का कोटेश्वरे कामरेडका अनुयायीहरु सरकारमा जान अति उत्सुक भएपनि बालकोटे कामरेडले अझै पनि दलको समस्या हल गरेर पुरानै हैसियत दिन्छन् र सबै पुराना कुरा बिर्सेर दलमा सम्मानसाथ लिन्छन् भन्ने आशा राख्दै हालसालै सरकारमा पनि नजाने अनि राम्रै मन्त्रालय आएपनि नखाने दोधारे निर्णय गर्दै मुटुमाथि ढुँगा राखी हाँस्नु पर्या छ को स्थिति रहेको देखिन्छ।

केही दशक अघि लोटा लिएर बिहारबाट यता छिरेको खोटा नागरिकतावाला समेतको मधेसवादी दलका भएजति माननीयहरु उखाने सरकारमा मन्त्री खाएर र भनेको मन्त्रालय पाएर खुशियाली मनाउँदा मनाउँदै खोसुवामा परेपछि यता न उता भएकै अबस्थामा दलको आधिकारिकता खाओवादी छोडेर कतै टिक्न र राम्रो मूल्यमा बिक्न नसकेपछि बिभिन्न घाटको पानी चाख्दै त्यता पुगेका कामरेड सहितको टोलीले पाएपछि दलमा नगाँसिए खाइपाई आएको सांसद पदपनि जाने र दलमा नटाँसिए दक्षिणको आशिर्वादले बचेखुचेको अलिअलि इज्जतपनि बाँकी नरहने दयनीय अबस्था पो देखियो।

अब ठाकुर महतो आदिको टोलीभन्दा यादवको टोलीले छानीछानी मन्त्री पद पड्काउने र अर्को टोलीलाई दल बाहिर नै अड्काउने सम्भावना भएकोले कहिले सासुको पालो कहिले बुहारीको पालो भनेजस्तो भएको छ।

केही फाइदा लिन पर्यो भने एकअर्काको ठूलो तारिफ गर्दै जुट्ने र स्वार्थ बाझ्नासाथ सत्तोसराप गर्दै फुट्ने सारै राम्रो परम्परा राजनैतिक दलहरुमा ज्यादै गतिलो तरिकाले बिकास भइरहेकोबाट यो दलपनि अछुतो हुनसक्ने कुरै भएन।

जनमोर्चाका सांसदको पनि पाएसम्म र भाग आएसम्म सरकारमा जाने भित्री यच्छा भएपनि दलले सरकारमा नजाने भनिदिएर खिस्रिक्क पारिदियो। दलको निर्णय नाघेर सरकारमा जान्छु र जुन भएपनि एउटा मन्त्री खान्छु भन्न पनि मिलेन।

यसपाली जसोतसो सानो संंख्याको भएपनि सांसदमा परिएको र केही नभएपनि एउटा मन्त्री त कसो नभइएला भनेर आशा गरिएकोमा अध्यक्षको घोषणाले बित्यास गरिदियो भन्ने यो दलका सांसदको भित्री मनको भनाइ रहेजस्तो बुझियो।

अर्को पटक साँसद नै भइन्छ भइन्न मन्त्रि त कता हो कता? अरु सबैले हारालुछ गरेर मन्त्री खान मरिहत्ते गरेकोमा यो दलले पनि सांसदको चित्त नदुखाएको भए केही बिग्रने थिएन होला। यो हुलमूलमा आदर्श छाँट्नु भन्दा सफेद झुट बोलेर ढाँट्नु नै बुद्धिमानी ठहर्छ भन्ने पछि थाहा पाएर पछुताउनुको कुनै अर्थ छैन।

अध्यक्षलाई यो कुरा सम्झाएर अरु दलका अध्यक्ष सरहको ब्यबहार गर्न सिकाउनु र सांसदलाई मन्त्रीको रुपमा बिकाउनु अपरिहार्य भएपनि साँसदको चित्त चाहिँ बुझेको छैन रे भन्ने हल्ला सुनिन्छ। जति सुकै अनुशासित कार्यकर्ता भनेपनि झण्डा हल्लाउँदै डण्डा खेलाउने रहर नभएकाले त्यसै राजनीति गरेका होलान् भन्ने गफ कसले पत्याउँछ र?

सरकार बनेको झण्डै दुइ हप्तामा अकस्मात कसैले नसोचेको र कसैले अनुमानसमेत नगरेको झण्डै आधा दर्जन स्तरीय अस्पताल र कैयौँ स्तरीय स्कूल कलेजहरुको प्रत्यक्ष अप्रत्यक्ष संचालन गरी सफल ब्यबसायी हुँदै दलका शिर्ष नेताका परिवारको नजिकका ब्यवसायिक साझेदार समेत रहेका अनुभवी ब्यक्तिलाई स्वास्थ्य मन्त्रालयको जिम्मा लगाउनु र उहाँ मार्फत कोरोना नियन्त्रणमा सबैको आशा जगाउनु ज्यादै राम्रो काम हो।

बिगत केही दशकदेखि पार्टीको नेतृत्वलाई आर्थिक पाटोमा हेरबिचार गर्नेलाई अरु जोसुकैसित फाटो परेपनि सांसद र मन्त्री  बनाउने चलन चलेकै छ। नेतृत्वको आर्थिक गर्जो टार्नेलाई जसरी पनि मन्त्रिमण्डलमा पार्ने बाध्यता सबै सरकार प्रधानहरुलाई परेकै हुन्छ। यसपाली पनि त्यस्तै होला भनेर सबैले बुझिदिनुको साथै चित्त बुझाउने बाहेक अरु उपाय देखिन्न।

जोसुकै भएपनि जनतालाई त के मतलब भयो र,उही दलका आकाँक्षीहरुले चाहिँ चित्त बुझाउन पर्यो। उखाने कामरेडको पालामापनि मन्त्रीहरु र ब्यापारीहरुको कमिशनको कारणले स्वास्थ्य मन्त्रालय निकै चर्चामा रहेको थियो भने यसपाली नाम चलेका र बिभिन्न ब्यापारिक कामले फूले फलेका व्यक्तिले जिम्मेवारी पाएपछि कुनै बिवाद नआउने अनि उनका अरु ब्यापारमा जस्तै कसैले चालै नपाउने गरी सबैतिर चोचोमोचो मिलाउने र तलदेखि माथिसम्म सबैको मुख सिलाउने राम्रै ब्यबस्था हुन्छ होला।

मन्त्रिपरिषद बिस्तारमा भइरहेको ढिलाई नै लेनदेनको कुराकानीमा गइरहेको भित्री छलफल हो भनेर अनावश्यक शंका गर्नेहरुको उपचार त के नै हुन सक्ला र? यो सरकारले जनताको काम गर्ला र जनताको लागि यसबाट केही राम्रो कुरा झर्ला भन्ने कसैलेपनि आशा नगरेको हुनाले यही मौकामा चौका हान्ने र जसले बुद्धि पुर्यायो उसैले जान्ने अर्तिबुद्धिलाई सबैले मान्ने अनि उसैलाई समयमा सही निर्णय लिएको ठान्ने हुँदा यसमा जानाजान चुक्नुलाई राम्रो ठहर्‍याउन सकिन्न।

त्यसमाथि यस्ता कामहरुमा यति खारिएका र राजनीतिमा लेनदेनबाट कतिको उद्धार गरी तारिएका अनुभबले भरिपूर्ण ब्यक्तित्वहरुलाई कसैले सिकाउन अनि बढी मोल तिरेर बिक्न सक्नेलाई बिकाउन र यस्तै तरिकाले सबै खाले बाधा ब्यबधानमापनि सरकारलाई टिकाउन अनि उस्तै परे बिदेशबाट पनि प्रत्यक्ष अप्रत्यक्ष सहयोग र समर्थन झिकाउन सक्ने बहादुरले कसैको डर घिन र लाज नमानिकन ठोकेपछि ठोकेको ठोक्यै हून्छ भन्ने सबैले बुझिसकेका छन्।

अहिलेसम्म कसैले नमानेको,कसैले आफ्नो भन्ने नठानेको र सरल भाषामा लेखिएको भएपनि जति पढेपनि आफ्नो अनुकूलका दफाहरु बाहेक अरु कसैले नजानेको पुस्तकको नाम नै संबिधान हो कि भनेर प्रयोग गर्ने जतिले बुझेका छन्। उखाने कामरेडले धारा ७६ र त्यसका सबै उपदफाहरुलाई आफू अनुकूल ब्याख्या र प्रयोग गर्नु बाहेक केही गरेनन् र त्यसबाट एकरत्तिपनि तल झरेनन्।

यही धारालाई साक्षी राखेर अधिकार नै नभएको संसद बिघटनलाई दुईदुई पटक कार्यान्वयन गरिदिए र आफ्नो सत्ताको समेत आधार भत्काउन अघि सरिदिए। राष्ट्र प्रधानले संविधानको धारा हेरेर निर्णय गर्नुभन्दा सरकार प्रधानको अह्रन खटन अनुसार आँखा चिम्लेर भनेको ठाउँमा भनेकै समयमा कुनै बिलम्ब नगरी दस्तखत गर्नुलाई नै त्यसको संरक्षणको आधार मानेको र त्यही मात्रै जानेको देखियो।

उखानेका बिरोधीहरुलेपनि संवैधानिक बाटोबाट बिरोध गर्नु र हटाउनु भन्दा अन्य तरिकाबाट उखानेलाई धुलो चटाउनु गरेको हुनाले उनीहरुले पनि त्यसै गरेको पाइयो। अदालतलेपनि संविधानमा ब्यबस्था नै नभएको परमादेशबाट सरकार गिराउने र संसदको अधिकार मिचेर दावीकर्तालाई घुमाउरो बाटोबाट बालुवाटार छिराउने काम संबिधान अनुसार मिलेन भन्ने संविधानबिदहरुलाई कसैले जवाफ दिइराख्न उचित पनि परेन।

अरु संविधान मिच्ने र संविधानको दुहाइ दिएर मजाले घिच्ने अनि सोझा सिधालाई यसैको हाउगुजी देखाएर थिच्नेहरु राज्यका सबै अंगहरुमा नखोजेपनि बग्रेल्ती भेटिन्छन् अनि उनीहरुबाटै संबिधानका धाराहरु अनुकूलता अनुसार रेटिन्छन्।

चुनावमा कुनै उल्लेखनीय दक्षता देखाएर जित्न नसकेपनि ज्योतिष मार्फत धुप अक्षता चढाएपछि संबिधान लगायत अरु कुनै चिजलेपनि बाधा नपारिकन घुम्दैफिर्दै आफ्नाले मिलेर दुइ तिहाइको आफ्नै सरकार गिराउनु र अरुले नै जोडबल गरेर सरकार प्रधानको कुर्सीमा बसिदिनोस् भन्दै पाउमै परेर बालुवाटार छिराउनु सानो भाग्यको खेल त हुँदै होइन।

जनताको भोटले बालुवाटार पस्ने र दुई तिहाइको बलियो समर्थन सहितको कुर्सीमा बस्नेले त जनतालाई गफ र उखाने मनोरन्जन बाहेक अरु केही दिन आबश्यक ठानेनन् वा काम गर्ने तरिका जानेनन् भने परमादेशवालाले आदेश दिने अदालतलाई मात्रै चित्त बुझाए पुग्ने भएर हो कि जनताको लागि केहि गर्ने र केही गरौँ भनेर अघि सर्ने सुरसारसम्म भएको कसैले महसुस गर्न पाएका छैनन्।

जनताको जनमत एकातिर सरकार प्रधानको कुर्सी र डाडु पन्यू अर्कोतिर भएको देखेर भाग्यमा भए डोकोमा दुध दुहेपनि अड्छ भन्ने सुन्दै आएका जनताले भन्न थालेका छन् , भाग्यमानीको भुतै कमारो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो