धितोपत्र बोर्डका अध्यक्षलाई तत्काल पदबाट निलम्बन गर्न कर्मचारी युनियनको माग

डिसी नेपाल
१७ साउन २०७८ १३:२३

काठमाडौं। नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियन संघले बोर्डका अध्यक्षलाई निलम्बन गरी कारवाही गर्न माग गरेको छ। युनियनले आइतबार विज्ञप्ति जारी गर्दै बोर्डका अध्यक्षकै हैसियतमा भीष्मराज ढुंगानालाई स्पस्टीकरण सोधिदाँ संस्थाको प्रतिष्ठामा आँच आउने भन्दै निलम्बन गरी कारबाही गर्न माग गरेको हो।

विज्ञप्तिमा भनिएको छ ‘धितोपत्र ऐन २०६३ को प्रस्तावनामै उल्लेख गरिएअनुसार पुँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मूल मर्मअनुसार बोर्डको नेतृत्व एवं सञ्चालकहरूले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट रहँदैन। बुक बिल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित संवेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्धप्रतिष्ठ अध्यक्ष तथा सञ्चालकका रूपमा गम्भीर विचलन हो।’

यस्तै युनियनले अध्यक्षले गरेको गल्तीमा सिंगै संस्थालाई मुछेर अर्थ मन्त्रालयले पत्र पठाएकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ।
यसअघि अर्थ मन्त्रालयले कुनै व्यक्तिलाई नतोकेर धितोपत्र बोर्डको नाममा गत १३ साउनमा तीन दिनभित्र धितोपत्र बोर्डलाई मिडियामा आएका विषयमा स्पस्टीकरण दिन भनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *