सुजताद्वारा सभापतिका लागि उम्मेदवार घोषणा
काठमाडौं। नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले आसन्न महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको बताएकी छन्। मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेतृ कोइरालाले ठूलोबुबा (बिपी) र बुबा (गिरिजाप्रसाद) को सपना साकार पार्न आफू नेतृत्वमा आउनुपर्ने बताएकी हुन्।
उनले २१औं शताब्दीमा विश्वका धेरै मुलुकमा महिलाले नेतृत्व लिइसकेको अवस्थामा देशकै पुरानो र लोकतन्त्रवादी दलको नेतृत्वमा महिला आउन जरुरी भइसकेको बताइन्। उनले भनिन्, ‘अब दलमा महिलाको भूमिकालाई बढाउनैपर्छ। त्यसकै नेतृत्व लिन म अग्रसर भएकी हुँ । मेरो प्राथमिकता महिलालाई राजनीति र पोलिसी मेकिङ तहमा पुर्याउनु हुनेछ । सँगसँगै राजनीतिमा युवाको प्रतिनिधित्व बढाउन पनि मेरो उम्मेदवारी रहेको छ।’
कोइराला परिवारभित्रबाट महामन्त्री शशांक र नेता शेखरले पनि नेतृत्वको दाबी गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा नेतृ सुजाताले परिवारबाट आफूमाथि सबैको विश्वास रहने दाबी गरिन्।
उनले भनिन्, ‘सवाल नेपाली कांग्रेसको मात्र होइन । समग्र मुलुकको हो।यसबीचमा मुलुक समस्याले घेरियो । लोकतन्त्रवादी शक्ति कमजोर हुँदाका बेथिति सबैले देखेकै छौँ। यो अवस्थामा मैले उम्मेदवारी दिने तय गरेकी हुँ। आफ्नो परिवारभित्रका सबैबाट पूर्ण साथ र सहयोग पाउनेमा म विश्वस्त छु।’
नेतृ कोइरालाले आफूले लोकतन्त्र बलियो बनाउने एजेण्डा पनि प्रस्तुत गर्नुभएको छ । आफू नेतृत्वमा आएमा लोकतन्त्रमा कहिल्यै कसैसँग सम्झौता नगर्ने योजना बनाएको उनले सुनाइन्।
उनले लोकतन्त्र कांग्रेसको फेस भएको बताउँदै ‘नेपाली जनता र कांग्रेस कार्यकर्ताको त्याग र बलिदानलाई कहिल्यै नभुल्ने’ बताए। आगामी चुनावमा कांग्रेसले विगतमा गुमाएको वर्चस्व फिर्ता ल्याउन पनि उम्मेदवारी दिन लागेको उहाँको तर्क छ। हिमालय टाइम्स दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment