स्थानीय तहलाई प्रदेश मातहत राख्न खोज्नु संविधानविपरीत
प्रधानमन्त्री शेरबहादुर देउवाबाट बालुवाटारमा विभिन्न सत्तारुढ दलका प्रतिनिधि सम्मिलित कार्यदलद्वारा तयार पारिएको संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम बुझ्दै। तस्वीरः रासस
काठमाडौं। स्थानीय तहलाई प्रदेश मातहत राख्ने गृहकार्य अघि बढाउने भन्दै सत्तारूढ गठबन्धले गरेको निर्णय संविधानविपरीत रहेको पाइएको छ । सरकारको साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले स्थानीय तहलाई प्रदेश मातहत राख्नेगरी गृहकार्य अघि बढाउने बेहोरासहितको साझा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
कार्यदलले गरेको सो प्रस्तावमा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक पहल गर्ने भनिएको छ । प्रमुख प्रतिपक्षी एमालेलगायतका गठबन्धनबाहेकका अन्य दलले भने सरकारको सो प्रस्ताव स्थानीय तह कमजोर बनाउने खेलका रूपमा आएको दाबी गरेका छन् ।
संविधानका जानकारहरूका अनुसार कार्यदलले गरेको सो निर्णय संविधानविपरीत देखिएको हो । नेपालको संविधानको भाग ५ मा राज्यको संरचना र राज्यशक्तिको बाँडफाँटसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । सोहीअनुसार संविधानको धारा ५६ को उपधारा १ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरिएको छ भने सोही धाराको उपधारा २ मा नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने व्यवस्था गरिएको छ । प्रमुख विपक्षी एमालेले पनि सत्तारूढ गठबन्धनको कार्यदलले गरेको सो प्रस्ताव संविधानविपरीत रहेको भन्दै आपत्ति व्यक्त गरेको छ । एमालेले संविधानविपरीतको सो निर्णय सच्याउनसमेत आग्रह गरेको छ ।
संविधानका जानकारका अनुसार संविधानको धारा २३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरिएको छ । संविधानको यो प्रावधानले पनि तिनैवटा तहलाई छुट्टाछुट्टै अस्तित्वमा राखेको छ । कानुनविद्ले संविधानअनुसार केन्द्रीय सरकार वा कसैले पनि स्थानीय तहलाई प्रदेश मातहत राख्न नसक्ने बताएका छन् ।
संविधानको धारा २३५ मा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न संघीय संसद्ले आवश्यक कानुन भने बनाउन सक्छ । तर, प्रदेशलाई स्थानीय तह मातहत राख्नेगरी केन्द्रीय सरकार वा अन्य कसैले पनि कुनै निर्णय गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको कानुनका जानकारको भनाइ छ । यस्तै, संविधानले नै तीनवटै तहका छुट्टाछुट्टै र साझा अधिकारको समेत व्यवस्था गरेको छ । जसअनुसार अनुसूची ५ मा संघको, अनुसूची ६ मा प्रदेशको र अनुसूची ८ मा स्थानीय तहको अधिकार सूचीबारे स्पष्ट व्यवस्था गरिएको छ ।
एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले पनि सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा कार्यक्रममा उल्लेखित स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्नेगरी गरिएको निर्णय संविधानको बर्खिलाप रहेको बताएका छन् । उनले यसको लागि संविधान संशोधनले मात्रै नपुग्ने र व्यापक राष्ट्रिय सहमति आवश्यक पर्ने बताए । ‘ं यसका लागि संविधान संशोधनले मात्र पुग्दैन व्यापक राष्ट्रिय सहमति चाहिन्छ, नेकपा एमाले सुरुदेखि नै यो अवधारणाको विपक्षमा छ, एमालेले साथ दिने कुरै हुँदैन । संविधान निर्माणताका कांग्रेस पनि एमालेकै विचारमा सहमत थियो । आज कांग्रेसले विचार बदल्नुको कारण के हो ? जनसमक्ष स्पष्ट गर्नुपर्छ,’ भट्टराईले भने ।
नेता भट्टराईका अनुसार तहगत शासकहरूमा पलाउने अहंकार र शक्ति उन्मादका कारण मुलुक समस्यामा नपरोस् र एक तह र अर्कोबीचमा टकराव नहोस् भन्न तिनै तहलाई संवैधानिक रूपमै स्वायत्त गरी अधिकारको बाँडफाँट गरिएको हो । ‘सत्तारूढ गठबन्धनको प्रस्तावले संविधानको यो अवधारणालाई भत्काउनेछ र मुलुकमा शासकीय अराजकता सिर्जना भई वर्तमान राजनीतिक व्यवस्थामाथि गम्भीर धक्का पुग्नेछ,’ एमाले नेता भट्टराईले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि ‘स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउने विषय गलत र आपत्तिजनक रहेको बताएका छन् ।
थापाले ‘राष्ट्रका लागि बोझ बनेको प्रदेश तह खारेज गरी स्थानीय तहलाई अझ बढी साधनस्रोत र अधिकार सम्पन्न तुल्याउनुपर्नेमा त्यस्तो प्रस्ताव आउनु दुःखद भएको बताउँदै सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड रहेकाले स्थानीय तहलाई अझै स्वतन्त्र राख्नुपर्ने जिकिर गरे । राजधानी दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment