खड्ग समशेरको माया

यशोदा तिम्सिना
२३ साउन २०७८ ८:०७

उता तल, धेरै तल
श्रीनगर डाँडाबाट त देख्न पनि नसकिने
कालिगण्डकीको तिरमा
कसरी गाडे होलान् खड्ग समशेरले मायाको खाँबो ?

खोलाबाट उठाइएको जग
खोलाकै छेउमा पुजा र पाप गर्ने स्थल
शयन कक्षसम्मै छङ्छङ् आवाज
प्यारीमध्येकी प्यारी तेजकुमारीको नाममा बनाइएको
रानीमहलको पटाङ्गीनिमा
पाल्पाली जनताको पसिनाको गन्ध
अहिले पनि सुँघ्न सकिन्छ ।

भन्नेहरु भन्छन्,
सोझा मगर मगर्नी, सोझै क्षत्री बाहुनीको चिच्याहट
अहिले पनि आधा रातमा
रानीमहलको पटाङ्गीनिमा
बसे सुनिन्छ ।

अवैध सम्बन्धले गर्भवती भएका सुसारेलाई
जब खसालन्थ्यिो कालिगडकीको भेलमा
निस्पष्ट अँध्यारा काला रातमा,
अहिले पनि औंसीका रातमा तिनै सुसारेको
आर्तनाद सुनिन्छ ।

सुनिजान्नेहरु भन्छन्,
घोडाका तबेला,
दायाँबायाँका खाली ठाउँ
छानी छानी ल्याइएका कुमारीहरु
पीडाले चिच्याएका आवाज र,
तिनले तप्प चुहाएका दुई थोपा आँसु
अहिले पनि भेटिन्छन् ।

आफ्नो मायामा हार्न नसक्ने
खड्ग समशेरहरु
अर्काको माया चुँडेर गाड्छन् खाँबो,
उठाउँछन् गाह्रो र बनाउँछन् रानीमहल
अनि यिनी कहलिन्छन् नामी मायालु
चलिरहन्छ नाम शताब्दीऔंसम्म ।

म अवाक् छु मायामा मान्छेका रङ देखेर,
अर्काको माया मासेर
आफ्नो मायाको बीउ रोप्नेहरुबारे लेखेर ।
प्रश्न छ, मायाका विश्लेषकहरुलाई
खड्ग समशेरहरु मायाका अभिशाप त होइनन् ?

(रानीमहल पुगेर फर्केपछि लेखिएको)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *