सन्यासी  सहर

डिसी नेपाल
२३ साउन २०७८ ८:३५

एक सन्यासी प्रकट भएर सोधे –
यो सहरमा तँ किन आइस ?
यो चोरहरुको निवासस्थान हो
यो ठगहरुको सपनास्थल हो
यो व्यभिचारीहरुको स्वर्ण नगरी हो
मन, बुद्धि र सौन्दर्यको व्यापारस्थल हो
जा तँ फर्की जा मनुवा ।।।

हो है भनेर फर्किन खोजेँ –
अकस्मात् एक सुन्दरी प्रकट भइन्
अनि, समयलाई, जीवनलाई
प्रेम र सौन्दर्यले बाँधिदियो
त्यही सुन्दरताको आकर्षणमा
जीन्दगी सहरमै रुमलिइरह्यो ।।।

सुन्दरताले मोहकता फैलाइरह्यो
केहीसमय जीवनलाई अल्मलायो
सौन्दर्यपूर्ण जीवनको अभिलाषा जगाइदियो
तर, रहर जागेपछि, जीवन प्यारो भएपछि
सुन्दरी हाँस्दै अलप भइन् ।।।

म रहेँ अनि मेरो रहर रह्यो
उमेर ढल्किँदै गयो
न त सहर छाडियो
न त आफू अल्झिएको कर्म
जीवन केवल घस्रिइरह्यो
जीवनको संगीत
चिच्याहटमा रुपान्तरित भयो ।।।

जीवनका धेरै ऋतुहरु
यही सहरमा बितेर गए
गाउँका खेतबारी डुलुँला भन्थेँ
मकैबारीमा पसेर हराउँछु सोच्थेँ
धानका बालासँगै मुस्काउँछु ठान्थेँ
रुखका डाली चढेर क्षितिज नियाल्छु भन्थेँ
सबै सपना रहरमा सीमित भए ।।।

कृतघ्न हुन त मन छैन
किनकि यो सहरले –
आश्रय दियो, सहारा दियो
आँशु लुकाउने कुना दियो
साहस जुटाउने ज्ञान दियो
साधना सिकाउने मन्दिर दियो
ध्यान गराउने कुटी दियो
त्यही निष्ठूरीले रिक्त छाडिदिएको
मन भुलाउने अनेकौँ बहाना दियो ।।।

एकदिन सहर सुतेपछि
एक्लै बार्दलीमा बसी टोलाएर हेरेँ –
जीवन केबल एक बहाना बनेछ
तेरो र मेरो, पदप्रतिष्ठा र मानसम्मान
अभिमान र अहंकारमा च्यापिएर
जीवन जिउनै नपाइकन
जञ्जीरमा जकडिएछ ।।।

मौन भई डुलिरहेछु –
यही सहरका कुनाकुनामा
त्यही आफ्नो जीवनको रंग खोज्न
भ्रम छर्न आएको सुन्दरता समात्न
आफ्नो जीवनरंग फिर्ता पाउन
व्यर्थ बिताएको जीवन सँगालेर
बुर्कुसी मार्दै आफ्नै ठाउँ
फर्किन्छु भन्ने आशामा ।।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *