नियात्रा : बोस्टनको घरभित्र थुनिएकोे समुद्र

डिसी नेपाल
२३ साउन २०७८ ९:२६

सन २०२१ को मे/जुन महिनातिर अमेरिकाको पूर्वी तटको पारिवारिक भ्रमणमा थिएँ। न्युयोर्कमा भदाहासालो सुमेश भट्टराईको घरमा अड्डा जमाएको थिएँ।

न्युुयोर्क पुगेका बेला घुम्नु र मौका मिले साहित्यिक स्रस्टासँग भेटनु याने एक पथ दुई काज भनेझैँ थियो। यो घुमाइका फेहिरिस्तमा धेरै ठाउँ थिए। यसमा पनि बोस्टन मेरा लागि निकै महत्वको गन्तव्य थियो।

त्यसै पनि अहिलेको मान्छेको जीवन, झन् त्यसमाथि संसारको व्यस्त सहर न्युयोर्कमा पुगेका गरिखानु पर्ने पहिलो पुस्ता नेपालीलाई त झन् अँगार खाएझैँ हुन्छ जिन्दगी। आगाका राप जस्ता समस्यामा तप्त भएर पनि फेरि समयको तप्ततामा नै जिन्दगीलाई सेकाउनु पर्छ।

यही पहिलो पुस्ता थिए सुमेश। याने मेरो भदाहासालो। पाँच दिन जागिरको अभेद्य झटारो। अनि दुई दिन आफ्नै घरभित्रको चटारो। त्यसमाथि अमेरिकामा जन्मेका केटाकेटीको स्याहारसुसार।

यो सबै दायित्व पूरा गर्दागर्दै हत्तुहैरान हुनु नै पथ्र्यो। म पनि अमेरिकामा नै बसेकाले अब्डेरो थिइनँ। कुरा बुझेको थिएँ अमेरिकाको। त्यस कारण पक्का पनि सुमेशले तिनै तप्तताबाट मलाई घुमाउने समय चोर्नु पथ्र्यो।

स्वाभाविक रूपले घुम्नु पर्ने दिन विकेन्ड थियो। तर विकेन्डमा नै आइपर्ने अनावश्यक तथा विपर्यास मौसमले बाधा हालिहाल्थ्यो। यो सबै संयोग मिल्यो भने मात्र घुम्न पाइने हुन्थ्यो। यसै क्रममा मौसम, विकेन्ड तथा समयको सीमितताको कारणले मलाई सुमेशले भनेका थिए-भिनाजु, समयका अभावले यो पल्ट नियाग्रा फल्स र बोस्टन मध्ये एउटा रोज्नु पर्ने भयो। कुन राजौँ?

मैले फ्याट्टै भनेँछु–बोस्टन।

मैले नियाग्रा फल्स छोडेर बोस्टन रोजेको कुरा सायद उनलाई अचम्म लाग्यो होला। उनलाई लाग्यो होला कि संसारका पर्यटकको रोजाइ नियाग्रा फल्स छोडेर एउटा अमेरिकी सहर बोस्टन रोज्ने कस्तो मान्छे होला यो भिनाजु?

यसरी मेरो बोस्टन घुमाइ जुरेको थियो। त्यो जुरेको दिन जुन ५, २०२१ को थियो। सुमेशले होटल बुक गरिसकेका थिए। शुक्रबार काम सकेर जाने र शनिबार र आइतबार दिनभरि घुमेर बेलुका घर फर्कने कार्यक्रम बनाएका थिए। मलाई भने बोस्टनमा पाइला टेक्न मात्र पाए पनि हुन्छ भनेझैँ हतारो भएको थियो।

सुमेशको घर न्युयोर्कबाट बोस्टन करिब ४ घण्टाको गाडी दूरी रहेछ। ५ जुनको दिन बेलुका करिब ६ बजेतिर म, मेरी श्रीमती सुशा, सुमेश/विवेका तथा उनीहरूका छोरी सान्वी र छोरो युभान गरी जम्मा ६ जना बोस्टनतिर बाटो लागेका थियौँ।

बोस्टन पुग्दा रातको दस बजेको थियो। बोस्टनको डाउन टाउनभित्रकै क्याम्ब्रिज भन्ने ठाउँको क्रिम्पटन मार्लो होटलमा पुगेका थियौँ। बास बसेका थियौँ। मैले गुगलमा बोस्टनका १० प्रमुख गन्तव्यका बारेमा जानकारी हासिल गरिसकेको थिएँ। त्यो मध्ये एउटा गन्तव्यस्थल न्युइङ्गल्यान्ड अक्वेरियम थियो।

न्युइङ्गल्यान्ड भन्नेबित्तिकै सम्झना आयो। म इतिहासको विद्यार्थी हुँ। कलेजमा त्यही विषय पढेर÷पढाएर उर्वर समय बिताएँ। त्यस कारण एक जमानामा अमेरिका बेलायतको उपनिवेश भएको कुरा थाहा थियो। अनि बेलायतले अमेरिका छोड्ने बेलामा अमेरिकाको कुनै सहर तथा क्षेत्रलाई न्युइङ्गल्यान्ड नामाकरण गरे होलान् भनी अडकल काटेको थिएँ।

तर न्युयोर्क आएर थाहा भयो कि न्युइङ्गल्यान्ड भनेको केबल भौगोलिक अभिव्यक्ति मात्र रहेछ। कुनै खास ठाउँ होइन रहेछ । यो भौगोलिक अभिव्यक्तिमा अमेरिकाका राज्यहरू मायने, भर्मोन्ट, न्युह्याम्पसायर, मासाचुसे, रोह्डे आइल्यान्ड र कनेक्टिकट पर्दारहेछन्। यसको कारण रहेछ सर्वप्रथम यो क्षेत्रलाई पत्ता लगाउने जोन स्मिथले यो क्षेत्रको नाम न्युइङ्गल्यान्ड राखे छन्।

जहाँ सन १६२० देखि वेलायतका धर्मप्रचार गर्न मान्छे आएर उपनिवेश बनाए छन्। अमेरिकाको स्वतन्त्रतापछि पनि इतिहासको सत्यतालाई मर्न नदिएर न्युइङ्गल्यान्ड नामाकरण फेरिएन छ। मलाई ज्ञात थियो कि अमेरिकी मुक्ति सङ्ग्राम इङ्गल्यान्ड याने कि बेलायतसँग लडिएको थियो। तर इङ्गल्यान्डकै नामका अगाडि न्यु थपेर इतिहासको रक्षा गर्ने अमेरिकी चेतलाई भने सलाम गर्न मन लाग्यो।

किनकि अमेरिकाको स्थापना, विकास तथा अस्तित्वमा इङ्गल्यान्डको ठूलो भूमिका रहेको छ । त्यो इतिहास उनीहरू मर्न दिन चाहँदैन थिए। अमेरिकीहरूको यो सहनशील चेतले गर्दा पनि अमेरिकालाई संसारको यो तहमा पुर्‍याएकाे हो जस्तो लाग्छ मलाई।

अँ त म बहकिएँ। हाम्रो घुमाइ बोस्टन थियो। खासमा हामी त्यो ६ तारिकको दिन बिहानै घुम्न निस्यौँ। जो हात सो साथ भनेझैँ जति भ्याइन्छ त्यति घुमौँ भन्ने योजना थियो। बिहानदेखि नै एकदम गर्मी थियो। समुद्रको छेउमा गर्मीले तप्त थियौँ। तर समुद्र चीसो थियो।

चीसो समुद्रलाई चुम्दै आउने बतास पनि गर्मीको तप्तताले राँकिएको थियो। एयरकन्डिसनमा बस्ने बानी परेका हाम्रा पिलन्धरे तथा बिल्पारी अनुहारमा पसिनाले अड्डा जमाएको थियो। हामी चिस्सिन चाहन्थ्यौँ। त्यस कारण विवेकाले सर्वप्रथम यही न्युइङ्ल्यान्ड एक्वेरियम घुम्ने प्रस्ताव राखिन्। आखिर हामीलाई त्यो अक्वेरियम घुम्नु नै थियो।

त्यो एक्वेरियममा रमाउनका लागि सुमेश तथा विवेकाका ससाना छोराछोरी थिए। उनीहरूको बहानामा हामी पनि उत्साहित थियौँ । अक्वेरियमको छेउमा टिकट काउन्टर थियो। काउन्टरमा मान्छे लाम लागेर टिकट काट्न उभिएका थिए। सायद एक जनाको ३५ डलर तिरेर टिकट लिएकी थिइन् विवेकाले।

टिकट देखाएर अक्वेरियमभित्र पस्न थालेका थियौँ। यहाँ भने मास्क अनिवार्य थियो। नत्र त बोस्टन सहर मास्क मुक्त जस्तै लाग्थ्यो। सामान्यतया मास्क नलगाई ठमठम मान्छे हिँडिरहेका हुन्थे। मैले मास्क लगाएर अक्वेरियम भवनलाई गौर गरेर हेरेँ। बाहिरबाट हेर्दा त्यो मामुली भवन थियो। मामुली भवन किन भनेको भने त्यो क्षेत्रमा निकै अग्लाअग्ला हाइराइज आकर्षक बिल्डिङ थिए।

कोही बाँचेर पनि मर्छन् । कोही आफू मरेपछि पनि आफू मात्र बाँच्दैनन्, सन्तानलाई पनि गौरवशाली बनाउँछन्। तर उफ! मान्छे आफूले कमाएको सबै बिष्टा बनाउन तल्लीन हुन्छ। त्यही नै उसलाई स्याँस्याँ फ्याँफ्याँ हुन्छ। बिस्टाका लागि अनैतिक काम गर्छ। भ्रष्टाचार गर्छ । जेल जान्छ। डाका डाल्छ। तर मरेर पनि बाँच्नेतिर उसको ध्यान पटक्कै जाँदैन। तर त्यो केटोको हजुरबाउले गरेको त्यो कृत्य सम्झेर त्यो केटोसँगै म पनि आह्लादित भएको थिएँ।

हाइराइज्ड मात्र होइन, हेर्दा पनि आकर्षक बुनौटका थिए। तर त्यो अक्वेरियम बिल्डिङ चाहिँ समुद्रसँग जोडिएर बनाइएको झन्डै सलाई बट्टा शैलीको मामुली नै थियो। अनि त्यो मामुली घरमा छिर्नका लागि तिरेको ३५ डलरलाई मेरो मनले नेपाली रुपियाँमा अनुवाद गर्दै थियो। तर त्यो मामुली बिल्डिङ अक्वेरियमभित्र छिर्नका लागि मान्छे लाम लागिरहेका थिए।

हामी पनि लाइनमा बसेर अक्वेरियमभित्र छिरका थियौ। त्यो घरभित्र त हजारौँ मान्छे समुद्रको मजा लिँदै थिए। सामुद्रिक जीवनको मजा लिइरहेका थिए। अक्वेरियमभित्र मान्छे छिरिरहेका थिए। बाहिरिँदै पनि थिए। हामीलाई पनि अक्वेरियम छिरेपछि आनन्द आयो। चिसो समुद्रको मजा लिन पाइयो। किनभने त्यसै पनि त्यो घर वातावरणअनुकुलित नै थियो।

वास्तवमा यो अक्वेरियमभित्र समुद्र थियो। याने कि समुद्रको प्राणी तथा वनस्पति जीवनलाई मान्छेले बनाएको विज्ञानले एउटा घरभित्र ल्याएर थुनेको थियो। सामुद्रिक संसारलाई भुईँको संसारमा ल्याएर देखाइएको थियो। ठूलाठूला सिसाका बाकसभित्र सामुद्रिक जीवन सजीव हाँसेका थिए। अक्वेरियमभित्र सामुद्रिक छालझैँ पानी छचल्किएको थियो। छालभित्रै जीव नाचिरहेका थिए।

अक्वेरियमभित्र ठाउँठाउँमा तस्बिरसहित जानकारीमूलक सूचनाहरूको बोर्ड राखिएको थियो। ती बोर्डहरूले गाइडको काम गरिरहेका थिए। बोर्डलाई पढ्दै गरेका सुमेशले भने—भिनाजु, यो अक्वेरियममा २ लाख ग्यालोन पानीलाई घरभित्र छिराएर घुमाइएको छ। ४५० जनाभन्दा बढी मान्छेले प्रत्यक्ष रोजगारी पाएका छन्। आम्मामा, हेर्नु त भिनाजु, ८००० प्रजातिका सामुद्रिक जनावरहरू सङ्कलित गरिएका रहेछन् नि यो अक्वेरियममा त!

म पनि सामुद्रिक जीव हेर्दै त्यसका बारेमा लेखिएको ससाना बोर्ड हेर्दै मजा मानिरहेको थिएँ। त्यहाँको प्रमुख आकर्षण सामुद्रिक जीवन थियो। त्यो जीवनको अनुभूति थियो। सबै प्रजातिलाई हेरेर सकिने कुरा पनि थिएन। सबै कुरा जान्न सकिने कुरा पनि थिएन। आखिर आँखाको तिर्सना मार्ने त हौँ हामी। जिन्दगीको रामरउस भोग्नु मात्र थियो। अनुसन्धान ध्येय थिएन। विशेष अध्ययन केही थिएन।

खासमा त्यो मामुली घर त संसारको सवैभन्दा ठूलो एक्वेरियम ट्याङ्क पो रहेछ। समुद्रको सतहभित्र कस्तो खालको भौगोलिक संरचना हुन्छ, त्यस्तै संरचना त्यो अक्वेरियमभित्र बनाइएको थियो। एकदम मजाको कुरा त के भने समुद्रमा पाइने जस्तै ढुङ्गा थिए ती सिसाबाकसभित्र।

ससाना रुखपात पनि थिए। ती कृत्रिम थिए कि प्राकृतिक थिए त्यो भने मेलो पाउन सकिनँ। सायद प्राकृतिक नै थिए होलान्। त्यसैले त्यहाँ राखिएका सामुद्रिक जीवले त्यो यामानको सिसा ट्याङ्कलाई समुद्र नै मान्दा हुन्। किनभने पानीभित्रको वातावरण समुद्रकै थियो।

त्यो अक्वेरियमको असाध्य मनमोहक दृश्य भनेको सिसाभित्रको पानी र त्यसमाथि प्रकाश प्रक्षेपण गरेर सुन्दर र मनमोहक झिलिमिली बनाइएको थियो। सिसा, पानी, माछा तथा जीवहरू अनि त्यसमाथि विजुलीका रङ्गीबिङ्गी प्रकाशले दिइरहने झिलिमिली निकै मन्त्रमुग्ध पार्ने खालका थिए।

सालाखाला झन्डै ५ तलामा रहेको यो अक्वेरियमको तल्लो तलामा समुद्रको पेन्गिुइन नामको चरा राखिएको थियो। ती चराहरूले मान्छेको आँखा तानिरहेका थिए। ठूलाठूला ढुङ्गा माथि ती पेइन्गुइन मजाले बसिरहेका थिए। उडिरहेका थिए। तल्लो तला नै निकै आकर्षक थियो। सधैँ हेरिरहूँ जस्तो लाग्दथ्यो। तर हामीसँग समय सीमित भएकाले त्यो अक्वेरियमको तला चढ्न थालेका थियौँ।

तला जतिजति बढ्दै गयो उतिउति सार्क, सामुद्रिक कछुवा, विभिन्न प्रजातिका माछा, विभिन्न प्रजातिका जेलिज माछाले सुन्दरता थप्दै थिए। मनमोहतामा बृद्धि गर्दे थिए। यत्तिकैमा अर्कै सिसाबाकस हेर्दै गरेकी मेरी श्रीमती सुशाले भनिन्–हेर्नु त कति लामो सर्प।

मैले पनि सो सर्पलाई हेर्न थालेँ। साँच्चै नै एकदम लामो सर्प त्यो भीमकाय सिसाको अक्वेरियममा घुम्दै थियो। वास्तवमा म मधेसतराईको मान्छे याने कि नेपालको सन्दर्भमा सर्पको घानीमा हुर्केको मान्छे, तर मैले त्यति लामो सर्प देखेको थिएन। एक छिन उभिएर हेरेँ।

आखिर त्यो सर्प त्यही सिसाको बाकसले बनाइदिएको परिधिभित्र त हाँसिरहेको छ। रोएको छ भने पनि उसको त्यो नियति हो । ठीक मान्छेको यो भवसागरको नियति सम्झेँ यति बेला । हाम्रो जीवन पनि यही सिसाको ढ्वाङ जस्तै एउटा खास परिधिभित्र सीमित छ । पूर्ण स्वतन्त्रता त कहाँ पाउनु? पूर्ण उन्मुक्तता त कहाँ पाउनु? सायद पूर्ण स्वतन्त्रता भन्नु स्वप्न मात्र हो कि जस्तो पनि लाग्छ।

त्यो अक्वेरियमभित्र विविध प्रकारका साँप देखेर निकै आश्चर्य त लागिरहेकै थियो। यसै बीच विवेकाले भनिन्–भिनाजु, अक्टोपस।
अक्टोपसको नाम सुन्नेबित्तिकै म त्यही सिसाबाकसमा पुगेर हेर्न थालेँ । झट्ट फुटबलको वल्र्डकपको बेला अक्टोपसले हारजितको भविष्यवाणी बताएको सम्झेँ।

त्यो समाचार त्यो बेला भाइरल भएको थियो। हातैहात खुट्टै खुट्टा भएको अक्टोपस भने त्यही सिसाघरभित्र घरी तल घरी माथि गरिरहेथ्यो। घरी खुम्चन्थ्यो। घरी फुक्थ्यो। अक्टोपसलाई आफ्नै आँखाले हेर्न पाएकाले विशेष आनन्द भयो।

त्यसकै छेउमा बडेमान सिसाबाकसको पानीभित्र चक्के फूल फुलिरहेको जस्तो थियो। म त खासमा कति राम्रा रङ्गीविरङ्गी फूल भनी सोचिरहेको थिएँ। तर विवेकाले पो भनिन्–भिनाजु, यी त फूल होइनन्। विभिन्न रङ तथा प्रकारका जेली माछा हुन्।

त्यो त विविध प्रकारको जेली माछा रहेछ। ठ्याक्कै फूलजस्तो। सूर्यमुखीको फूलजस्तो। बुट्टेदार र मनमोहक। त्यसैले सबैभन्दा आश्चर्य त जेलिज माछा र अक्टोपसले गरेका थिए। पानीमुनि फुलेका फूलजस्ता देखिने जेलीज माछा बिस्तारोबिस्तारो चलिरहेका थिए। अक्टोपसको नाम मात्र सुनेको मजस्ताका लागि भने यो अक्टोपसको दर्शन निकै रोमाञ्चक थियो।

सिसाबाकसभित्र याने कि अक्वेरियमको पानीभित्र मान्छेजस्तो आकारमा नाली लिएर ढुङ्गा सफा गर्दै रहेको दृश्य देखेँ। सायद यो रोबोट होला भनिठानिरहेको थिएँ। तर होइन रहेछ। त्यो त त्यही अक्वेरियमका कर्मचारी पो रहेछन्।

ती समुद्रमा भित्र पस्ने तालिम पाएका गोताखोर पो रहेछन्। तिनका पिठ्युमा आक्सिजनको सिलिन्डर थियो। हात तथा खुट्टामा रबरका पखेटा लगाइएका थिए। हातमा पाइप समाएर अक्वेरियमको सिसाभित्रका ढुङ्गाका च्यापच्यापमा पसेर लेउ सफा गरिरहेका थिए। त्यो लेउलाई मेसिनले तानिरहेका थिए । एक मन त बिचरा ती गोताखोरको जागिर भनेझैँ पनि लाग्यो। फेरि अर्को मनले रोजगारीको बाध्यता र महत्त्व एकै पल्ट सम्झेँ।

घरभित्र तथा सिसाबाकसभन्दा बाहिर ह्वेलको कङ्काल पनि प्रदर्शनीमा थियो । ह्वेलका बारेमा पढेको भए पनि देखेको थिएन। तर यहाँ कङ्काल देखेर ह्वेलको आकार अनुमान गर्न सकिन्थ्यो। ह्वेलको दारा नै मुस्ली जत्रो देखेपछि शरीर र मेरुदण्ड कत्रा थिए भनेर अनुमान पनि गर्न सकिने कुरा भयो।

करिब २ घण्टाजति त्यही अक्वेरियम घरमा चिस्सिएर बाहिर निस्कने क्रममा थियौं। बाहिर निस्कनेँ बाटो अलग थियो। निस्कँदा निस्कँदै बाहिरपट्टि समुद्रसँगै जोडिएर बनाइएको एउटा सानो पोखरीमा सामुद्रिक जीव सिललाई खाना खुवाउँदै थिए अक्वेरियमका कर्मचारी। सिलको खाना भुरामाछा थियो। माछा खान पाएपछि ती सिलहरू कर्मचारीसँग आएर नातिनातिनाजस्तो लुटुपुटु गर्नेगर्थे।

अचम्म त के थियो भने त्यहाँका कर्मचारीले जुन सिललाई चाह्यो त्यही सिल आउँथे माछा खान। यो दृश्य हेर्नका लागि हलमा कुर्सीहरू मिलाएर राखिएका थिए। त्यो दृश्य घण्टौँ लगाएर हेरिरहूँ भनेझैँ थियो। जनावर र मान्छेको बीचको मित्रताको उदारहण यहाँ देखिन्थ्यो। तर हामीसँग समयको सीमा थियो।

एक छिन त्यो दृश्य हेरेर हामी बाहिरिएका थियौँ। बाहिरिँदा बाहिरिँदै एउटा चम्किलो सङ्गमरमरको भित्तामा सो अक्वेरियम बनाउनका लागि ५०००० डलरभन्दा धेरै चन्दा दिने चन्दादाताहरूको नामावली लेखिएको देखियो।

मान्छेहरू त्यो नामावलीलाई हेरिरहेका थिए। पढिरहेका थिए। सरर्र हेर्दा पाँचलाख डलरसम्म चन्दा दिने मान्छेको नाम देखियो। त्यही नजिकै उभिएका एक हुल मान्छेका बीचमा एउटा केटो आफ्नो साथीलाई भन्दै थियो–नं १७ को मेरो हजुरबुबाको नाम हो।

खाना खाने क्रममा सुमेशले दुईदुई ग्लास वियर खाने प्रस्ताव गरे। मैले यो खुला ठाउँमा अनि दिउँसै वियर खाने हो र? भनेर हल्का असहमति जनाएँ । किन भने म त प्रोफेसर पेसामा अभ्यस्त मान्छे यसरी जथाभावी बियर खानु त ईज्जतै दाउमा लाउनु बराबर हुन्थ्यो। तर सुमेशले मलाई भने–फेरि कहिले आइन्छ आइन्न भिनाजु।

यसो भनिरहँदा उसको अनुहार गर्वले पुलकित भएको थियो। त्यो बेला ऊ हजुरबुबाको नाममा गर्व गरिरहेको थियो। मैले सोचेँ कि कोही मान्छे त मरेर पनि बाँच्छन्। कोही बाँचेर पनि मर्छन् । कोही आफू मरेपछि पनि आफू मात्र बाँच्दैनन्, सन्तानलाई पनि गौरवशाली बनाउँछन्। तर उफ! मान्छे आफूले कमाएको सबै बिष्टा बनाउन तल्लीन हुन्छ।

त्यही नै उसलाई स्याँस्याँ फ्याँफ्याँ हुन्छ। बिस्टाका लागि अनैतिक काम गर्छ। भ्रष्टाचार गर्छ । जेल जान्छ। डाका डाल्छ। तर मरेर पनि बाँच्नेतिर उसको ध्यान पटक्कै जाँदैन। तर त्यो केटोको हजुरबाउले गरेको त्यो कृत्य सम्झेर त्यो केटोसँगै म पनि आह्लादित भएको थिएँ।

सन १९६२ देखि मात्र बनाउन थालिएको र सन १९६९ देखि सञ्चालनमा आएको यो अक्वेरियम विकासको एउटा नमुना हो भन्दा के फरक पर्छ र? तर मेरो दिमाग भने सन १९६२ लाई विसंमा रूपान्तरण गर्दै थियो। सन १९६२ सम्ममा त नेपालमा प्रजातन्त्र आएकै पनि ११ वर्ष भइसकेको थियो।

तर नेपालमा प्रजातन्त्रपछि खोइ के बन्यो कुन्नि? आखिर पानीकै खेला त थियो त्यो अक्वेरियम। अनि पानीको पउलता भएको मेरो देश नेपाल। मेरा दिमागमा यस्तै झट्का लागिरहेथ्यो। म यस्तै यस्तै विपर्यास झट्कामा बाँच्न आम नेपालीझैँ अभ्यस्त भइसकेको छु।

अक्वेरियमबाट बाहिर निस्कँदा फेरि टन्टलापुर घाम लागेकै थियो। भोक जब्बर लागेको थियो। कोरानाका कारणले कुनै होटलको बन्द कोठमा गएर खाना खाने आँट आइरहेको थिएन। हामी केही इटालियन अमेरिकन फुडको रेस्टुरेन्टको फिराकमा थियौं।

खाना खानको लागि विवेकाले हामी सबैलाई मोबाइल सोझ्याएर बोस्टनको प्रसिद्ध क्विन्सी मार्केटमा पुर्याइन। त्यो मार्केट भन्नु एउटा निकै ठूलो गोदामजस्तो घर रहेछ। त्यो घरभित्र नेपालकाझैँ ससाना खुद्रा दोकानहरू रहेछन्।

वास्तवमा त्यो क्विन्सी मार्केट ऐतिहासिक रहेछ। बोस्टन सहरको सबैभन्दा पुरानो बजार रहेछ त्यो। युरोपेलीले स्थापना गरेको सो बजारको मूल गोदामजस्तो भवनलाई जस्ताको तस्तै सुरक्षा गरिएको देखेर अचम्म पनि लाग्यो। यो एउटा गोदामजस्तो भवन त अहिले आएर पर्यटकीय स्थल पो बनेको रहेछ। हाम्रा नेपालमा भए ता त्यस्ता भवनलाई कबाडीमा बेचिसक्ने थिए। इतिहासलाई मार गोली भन्ने थिए।

क्विन्सी मार्केटको छेवैमा जोडिएर रेस्टुरेन्टहरू थिए। हामी एउटा रेस्टुरेन्टमा पुगेर खाना खाने सुर गर्न थाल्यौँ। रेस्टुरेन्टको अगाडिपट्टि सडकसँग जोडिएको ठूलै खुला ठाउँ रहेछ। त्यहाँ खोइ केका हुन् ठूलाठूला रुखहरू थिए । त्यही रुखको सिँयालमा खुला चौरमा राखिएको टेवुलकुर्सी थिए। मान्छे खचाखच थिए। कोही खाइरहेथे। कोही गइरहेथे।

कोही सुटेडबुटेड थिए। कोही अर्धनग्न थिए। तर कसैलाई कसैको मतलव थिएन। होहल्ला थिएन। फोहोर थिएन। रुखका पातबाट राहतका लागि केही चीसो हावा चलिरहेको थियो। यही हावासँगै हामीले पनि एउटा टेबुल पायौँ। रेस्टुरेन्टवालाले व्यवस्था नगरी टेबुलकुर्सीमा बस्न पनि अशोभनीय ठानिँदो रहेछ।

त्यही ओगटेको टेबुलकुर्सीमा बसेर हामीले इटालियन तथा अमेरिकन खाना खायौँ। खाना खाने क्रममा सुमेशले दुईदुई ग्लास वियर खाने प्रस्ताव गरे। मैले यो खुला ठाउँमा अनि दिउँसै वियर खाने हो र? भनेर हल्का असहमति जनाएँ । किन भने म त प्रोफेसर पेसामा अभ्यस्त मान्छे यसरी जथाभावी बियर खानु त ईज्जतै दाउमा लाउनु बराबर हुन्थ्यो।

तर सुमेशले मलाई भने–फेरि कहिले आइन्छ आइन्न भिनाजु। जिन्दगीको के भर छ र ? यो ऐतिहासिक क्विन्सी मार्केटमा बसेर वियर पिइएन भने त बोस्टन घुमेकै के सार भयो र?

त्यसपछि त्यही रुखमुनि बसेर हामी सालाभेनाले दुईदुई ग्लास चीसो वियर घुट्क्यायौँ। अनि हामीलाई घुम्नको साह्रै चटारो थियो। ह्वेल वाचिङ त्यही दिन घुम्नु थियो। बोस्टन टी पार्टी पनि त्यही दिन घुम्नु थियो। त्यसो भएकाले हामी बियरको हल्का शीतलताको रनाहामा बाटो लागेका थियौँ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *