अब राजतन्त्र र पुराना दलहरुको औचित्य के हो ? – Dcnepal

अब राजतन्त्र र पुराना दलहरुको औचित्य के हो ?

हामी नेपालीलाई विभिन्न जहानियाँ शासनले इतिहास र वर्तमानको विभिन्न काल खण्डमा प्रताडित गरे। राज्य शक्तिको दुरुपयोग गरी सरकारी ढुकुटीको दोहन गरे। एकचोटी सत्तामा पुगेका परिवारका सदस्यहरू प्राय सबै अरबपति छन् आज।

जहानियाँ शासनहरूको अन्त्य त भयो तर तिनकै सन्ततिहरूको सेना, प्रहरी , व्यापारदेखि दलालीसम्म हाली मुहाली छ। हिजो आफैलाई समाजवादी भनेर ’सामन्ती’ हरु विरुद्ध वर्ग संघर्ष गर्ने र कम्युनिस्ट आफैँ आज दलाल पुँजीवाद, सिन्डिकेट, बिचौलिया र गुन्डाहरूको संरक्षक बनेका छन्।

हिजो प्रजातान्त्रिक पद्धतिबाट संवृद्धि आउँदैन भनी युवालाई बन्दुक भिराउने आज सुविधासम्पन्न गाडीमा शयर गर्दैछन् अनि बाँचेका बन्दुक भिर्नेहरु खाडीमा भासिएका छन्।

भ्रष्टाचारको हँसियाले सत्ताको खसी काटेर सुख सुविधारूपी कलेजो, टाउको विदेशी होली वाइनसँग आफैँ पचाई जनतालाई आन्द्रा भुँडी पखाल्न लगाई दुई डाडु झोल दिई फकाएको धेरै भयो।

जागौँ अझै जनता वादका नाममा बलीको बोका कहिलेसम्म? आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाइराख्न खोक्रो राष्ट्रवादी भेडाको छालाभित्र लुकेका उग्र वामपन्थी र उग्र दक्षिणपन्थी ब्वाँसाहरूको समयमै पहिचान गरौँ।

फेरि राजा चाहियो भन्नेहरूलाई निरङ्कुश राणाकाल र निर्दलीय पञ्चायत व्यवस्थाले किन देशमा समृद्धि ल्याएन त भनेर सोधौँ। राजा आए के फेरि कमल थापालाई प्रधानमन्त्री बनाउने? कि पशुपति शमशेर ? पहिले हलो कि गाई, अदक्षमा कति जना दाजुभाइ भन्नेमा त सहमत हुन् अनि ठूला कुरा गर्नु !

आज देश समृद्ध नहुनुमा व्यवस्थाको ठूलो दोष कि अवस्थाको भन्ने बहस कुखुरी काँ, बासीभात खाँ भन्ने कविता झैँ निस्कर्षहिन प्रतित हुन थालेको छ। खोइ गाई ? (उर्लिएको जनवादी) खोलाले बगायो । खोइ (जनवादी) खोलो ? सुक्यो! हलो पनि दशकौँ अघि नै भाँचिइसक्यो।

गाउँ–घरका खेत जोत्नुको साटो तारे–माले आफैँ लड्दा बारी बाँझा रहे। संवृद्धिको खेतीलाई कहिले रुखले ओझेल पार्‍यो त कहिले सूर्यले सुकायो। अलि अलि बाँकी रहेको हँसियाले काटेर लगे । यो सबबाट विरक्त भई तन्नेरी गोठाला लाहुर पसे। बुढा किसान फेरी खोइ हलो भन्दै खोज्न निस्किएका छन्।

आज फेरि केही समूह राजतन्त्रको नाउँमा राजनीति गर्ने प्रयास गर्दै छन्। याद रहोस् जबसम्म जनता चेतना शून्य “लास” बनिरहन्छन्, हिन्दु राजा आए जलाउने छन्, होली वाइन खाने शासकले गाड्ने छन्। हामी अनेक वादका नाउँमा धेरै जलाइयौँ, गाडियौ, झुन्ड्याइयौँ, गोली ठोकियौँ।

भयो पुग्यो अब बलीका बोका नबनौँ! जागौँ! फेरि राजा चाहियो भन्नेहरूलाई निरङ्कुश राणाकाल र निर्दलीय पञ्चायत व्यवस्थाले किन देशमा समृद्धि ल्याएन त भनेर सोधौँ। राजा आए के फेरि कमल थापालाई प्रधानमन्त्री बनाउने? कि पशुपति शमशेर ? पहिले हलो कि गाई, अदक्षमा कति जना दाजुभाइ भन्नेमा त सहमत हुन् अनि ठूला कुरा गर्नु !

अब समाधान के त ? यो विसङ्गति र विरासतको राजनीति विरुद्धको असन्तुष्टि सामाजिक सञ्जाल– अपिल त्रिपाठी, रवि लामिछाने, समर्थक समूहहरूमा शेयर गरेर मात्रै अवस्था र व्यवस्था बदलिने वाला छैन। अलोकप्रिय राणा र राजा उखेलेर फालेर लोकतन्त्र ल्याएका जनताले अब यो भ्रष्टाचार, विरासत, र विसङ्गतिको राजनीतिलाई उखाली फाल्ने क्रान्ति बुलेट हैन ब्यालेटबाट गर्नु जरुरी छ।

अब तारे–माले नै एक हल बनेर सँगै जोत्न सकिँदैन भने बाजेको पालाको हलो खोजेर अब संवृद्धि आउँदैन। अब तारे–माले र हलोकै विकल्प खोज्नु पर्छ। केही दशक अघि “बुर्जुवा शिक्षा“ छाड भनेर समाजवादी खोक्रा झोला बोकेर पछि शिक्षा र रोजगारीबाट वञ्चित भएको इतिहासबाट आजका युवाले विभिन्न वाद र दलहरूका दलदलमा नपरी स्वतन्त्र उद्यम नगरी संवृद्धि आउँदैन भन्ने बुझ्न जरुरी छ।

आज एक तिहाइ जनता, ८० लाख युवा भोटै नचल्ने स्थानमा छन्। तिनकै नोट चल्ने तर भोट नचल्दा आज निर्वाचनहरूमा नौला, दक्ष र इमानदार अनुहार उदाउन सकेका छैनन्।

आज विदेशको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासन प्रत्याभूत गर्ने सरकार देखेपछि नेपालका यी मुकुन्डाधारी परम्परागत राजनीतिज्ञलाई अनुमोदन गर्ने त प्रश्नै आउँदैन। त्यसैले अहिले विदेशमा पसिना बगाई नेपालको अर्थतन्त्र चलाउने पुँजी विप्रेसित गर्ने युवाको मताधिकार सुरक्षित गर्न सर्वोच्चको आदेशसमेत मान्ने पक्षमा आजका ठूला दल छैनन्।

दुई दशकअघि कृषिमा नेपालीको ६० प्रतिशतभन्दा बढी प्रत्यक्ष‑परोक्ष रोजगारी जोडिएको थियो। नेपाल कृषिप्रधान देशबाट कुर्सी प्रधान देश बन्दै छ आज। हो यो दशकमा कृषिको वातावरण असहज बन्दै गयो र वैदेशिक रोजगारीमा आकर्षण बढ्दै गयो।

नेपाली युवाको पसिनाले यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाउने अवसर गुम्दै जाँदा उर्वर भूमि बिस्तारै बाँझो भयो। जबकि, नेपाली युवाका पौरखी पाखुराहरूले मरुभूमिमा बगैँचा फलाए, गगन चुम्बी भवन बनाए।

नेपालमा कृषि र ग्रामीण उद्यम किन फस्टाउन सकेन त? ग्रामीण उद्यम विस्तारित नहुनुका कारण उद्यमी र नवप्रवर्तन मुखी सोचको अभाव, जागिरे मनस्थिति, उद्यम प्रवर्द्धन गर्ने निकायको कमी, सरकारहरूको कमजोर भूमिका साथै उद्यममैत्री कर्मचारीको अभाव मुख्य हुन्।

यी सबै कुरा कतै न कतैबाट दक्ष र सक्षम नेतृत्वको अभाव र व्यावहारिक, सीपमूलक मौलिक शिक्षा व्यवस्था नहुनुका नै परिणाम हुन्। नेपालमा अब यी सबै समस्याको समाधान गर्न सम्भव छैन भन्दै हाम्रो पुस्ताका धेरै युवा निराश भई बिदेसिन थाले। त्यसैले त पहाडका मान्छे तराई झर्न चाहन्छन्, तराईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन्।

हिजो छोराछोरी र आफन्त विदेश जाँदा माला, खादा लगाएर, भोज, पार्टी गरेर सामाजिक सञ्जालमा तस्बिर र स्ट्याटस रंग्याउनु हामीलाई सामान्यझैँ लाग्न थाल्यो। आज वैदेशिक रोजगारीमा जान्छु भन्दा जसले पनि ऋण दिन्छ तर आफ्नै गाउँ‑ठाउँमा केही उद्यम गर्छु, फार्म खोल्छु भन्दा लगानीकर्ता भेट्न गाह्रो पर्छ।

आज एक तिहाइ जनता, ८० लाख युवा भोटै नचल्ने स्थानमा छन्। तिनकै नोट चल्ने तर भोट नचल्दा आज निर्वाचनहरूमा नौला, दक्ष र इमानदार अनुहार उदाउन सकेका छैनन्।

त्यस्तै विदेश जाने युवालाई धेरै आफ्ना छोरीबहिनीहरूसँग बिहे गर्न गराउन उद्यत हुन्छन् तर आफ्नै गाउँघरमा गरिखान्छु भन्ने ऊर्जावान् युवा हाँसोको पात्र बन्छन्। त्यसैले, आज नेपालका लाखौँ दक्ष जनशक्ति विदेशमा छ । यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजना बनाएर तिनको कार्यान्वयन गर्नु आवश्यक छ।

अहिले एकातिर विश्व बजार आर्थिक मन्दीतर्फ उन्मुख हुँदै गर्दा धेरै विकसित देशहरूमा दक्षिणपन्थी र निषेधात्मक सोच राख्ने उग्र राष्ट्रवादी नेताहरूलाई सत्तासीन बनाइरहेको अवस्थामा अर्कोतिर कोरोनाजस्तो महाव्याधिको प्रकोपले विदेशी नागरिकलाई आफ्नै देश जाऊ भन्ने लहर बढ्दो छ। धेरै नेपाली दाजुभाइ विभिन्न कारणवश गाउँ घर फर्किँदै गर्दा एउटा प्रश्न सान्दर्भिक भएको छ‑ विपदमा मात्रै गाउँघर छिर्ने, माटोको ऋण कहिले तिर्ने?

नेपालमा अब यी सबै समस्याको समाधान गर्न सम्भव छैन भन्दै हाम्रो पुस्ताका धेरै युवा निराश भई बिदेसिन थाले। त्यसैले त पहाडका मान्छे तराई झर्न चाहन्छन्, तराईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन्।

परदेसिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ‑आफ्नै गाउँ‑ठाउँमा प्रयोग मात्र नगरी गाउँमै भएका युवालाई रोजगारीसमेत सिर्जना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ। आफ्नो गाउँ‑ठाउँ आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका सबै युवा हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुनसक्छ।

अब परदेसिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ‑आफ्नै गाउँ‑ठाउँमा प्रयोग मात्र नगरी गाउँमै भएका युवालाई रोजगारीसमेत सिर्जना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ।

आज सामाजिक सञ्जालको जमाना छ। विदेश बस्ने आफन्त साथीभाइलाई आई फोन, प्ले स्टेसन, डीएसएलआर क्यामेरा मात्रै नमागौँ । चन्दा र अनुदान मात्रै दिनुहोस् पनि नभनौँ । ग्रामीण शिक्षा र उद्यमशीलतामा लगानी गर्नुहोस् भनौँ ।

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ।’ आउनुहोस् नेपाल फर्की आ–आफ्नै गाउँ‑ठाउँका बाँझा खेतबारीमा उद्यमशीलताको रोपाइँ गरौँ। आउनुहोस् गहुँ, मकै लगाऔँ। सुन्तला, कागती, स्याउ, लिची र आँपका बिउ बाँडौँ। हुन त यी बिउ लगाउने सर्वोत्तम समय १० वर्षअघि थियो ।

त्यसो गरेको भए आज विषादीयुक्त फलफूल भित्र्याउनु पर्दैन थियो होला । तर, १० वर्ष नेताले संविधान र युवाले कन्सल्टेन्सी धाउनमै बिताए । याद राख्नुहोस्, यी फलफूल लाउने सर्वोत्तम समय १० वर्षअघि भए पनि दोस्रो उत्तम समय आज, अहिले हो।

आज बिऊ रोप्ने पुस्तालाई भोलि फल खाने पुस्ताले धन्यवाद दिनेछ। आज हामीले आफ्नो गाउँ‑ठाउँमा उद्यम गरी स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन सक्यौँ भने भोलि हाम्रा भाइबहिनी, छोराब‑नातिले आफ्नो गाउँ‑ठाउँ छोडी बिदेसिनुपर्ने बाध्यता कम हुनेछ । देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नै पर्छ । आउनुहोस् उद्यम गरौँ। आफ्नै कर्म भूमिको आँगनमा पसिना बगाऔँ।

यो कोरोनाको महाव्याधिको चुनौतीभित्र लुकेका अवसरको पहिचान गरौँ। अब परदेशबाट फर्केका र घर देशमै रहेका युवालाई उद्यमी बनाउन तारे, माले र हलोको विकल्प ट्याक्टर, मल, बिउ–बिजनमा जोड दिनु पर्यो। अब मकै खाने “भालु’ धपाई काम गर्ने “कालु“ लाई प्रोत्साहित नगरी देशमा समतामूलक संवृद्धि हाम्रै पालामा सम्भव छैन।
नेपालको जय होस!!

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो