इजरायल रोजगारीमा ३० लाखसम्मको चलखेल: विभाग भन्छ, यताउता नलाग्नू

रिता बस्नेत
२५ साउन २०७८ ९:४७

काठमाडौं। वैदेशिक रोजगार विभागमा भेटिएका एक युवा भन्दै थिए, ‘अहिलेको इजरायल रोजगारीमा जानको लागि ३० लाख रुपैयाँसम्म डिल भएको छ भनेर केही साथीहरुले पैसा खोजेर ठिक्क पारेका छन्। मेरा २–४ जना साथीहरुले जनही ३० लाख खोजेर इजरायल जान ठिक्क परेर बसेका छन्।’

त्यस्तो पनि हुन्छ र?, भन्ने जिज्ञासामा उनले भने, ‘भैहाल्छ नि। नभए किन उनीहरुले पैसा खोजेर बस्थे त।’ उनले अगाडि भने, ‘तपाईंलाई थाहा छ। पहिला पनि यसरी नै कोरिया रोजगारी खुल्दा भित्रभित्रै सबै सेटिङ्ग गरिएको थियो रे। त्यतिबेला भित्रभित्रै सेटिङ्ग गरेर पैसा खुवाउने धेरै जना कोरिया उडेका थिए। यो इजरायलको कोटा पनि त्यस्तै हुन्छ रे।’

ती युवाका अनुसार विभागका केही कर्मचारीहरुले नै इजरायल रोजगारीमा पठाउन सेटिङ्ग गरिराखेका छन् अर्थात् तोकिएको भन्दा बढी पैसा लिएर भित्रभित्रै कर्मचारीले केही श्रमिकलाई इजरायल रोजगारीमा पठाउने तयारी गरिराखेका छन्।

इजरायल जानको लागि अहिले कियर गिभरको लागि खुलेको हो। अनमी, सिएमए गरेको अथवा १२ कक्षा पास गरेर कियर गिभरको तालिम गरेको मान्छे छ भने फारम भर्ने र पढाइमा तयारी गर्ने। यताउता कसले गरिदिन्छु, भनिदिन्छु भन्नेका पछि नलागिकन आफैं तयारी गर्नुस्

उता विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडी भने युवाहरुलाई कुनैपनि भ्रममा नपरिकन फारम भरे तयारी गर्न आग्रह गर्छन्। उनी भन्छन्, ‘इजरायल जानको लागि अहिले कियर गिभरको लागि खुलेको हो। अनमी, सिएमए गरेको अथवा १२ कक्षा पास गरेर कियर गिभरको तालिम गरेको मान्छे छ भने फारम भर्ने र पढाइमा तयारी गर्ने। यताउता कसले गरिदिन्छु, भनिदिन्छु भन्नेका पछि नलागिकन आफैं तयारी गर्नुस्।’

उनी अगाडि भन्छन्, ‘जीटुजी (नेपाल र इजरायल सरकारबीच भएको सम्झौता) सम्झौता भएर नेपाल सरकारले त्यत्रो हस्ताक्षर गरेको छ। कामदार म पठाउछु भनेर प्राइभेट सेक्टरले भनेकै भरमा विश्वास गर्ने? नेपाल सरकारले निर्णय गरेर सूचना निकालिसकेको छ। अब कसरी पठाउला प्राइभेट सेक्टरले?’

महानिर्देशक दवाडी गुनासो गर्दै भन्छन्, ‘एउटा सिस्टमलाई अर्को सिस्टमले अविश्वास गर्दागर्दै हामीले सबैलाई अविश्वास गर्‍याैं। नेपाल सरकारले बनाएको सिस्टमलाई कमसेकम मिडियाले चाहिँ विश्वास गरिदिनुस्। सिस्टमलाई अविश्वास गर्ने वातावरण नहोस्।’

पढेर सबै कुरा पुगेको व्यक्ति कसैलाई भनसुन नगरिकन इजरायल जान पाउने महानिर्देशक दवाडीको भनाइ छ। उनका अनुसार यदि कर्मचारी या तेस्रा व्यक्ति जो कोहिबाट सेटिङ्ग भएमा त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइने छ।

हालसम्म (आइतबार बिहान १० बजेसम्म) इजरायल रोजगारीको आवेदन फारम भर्नेको संख्या ३८ सय पुगेको छ। वैदेशिक रोजगार विभाग, इजरायल शाखाका प्रमुख डम्बर सुनुवारले भने, ‘आइतबार १० बजेसम्म १९ हजारभन्दा बढीले युजर आइडी बनाइसकेका छन् र ३८ सयको रजिष्टार भईसकेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *