शान्ति मिसनमा जान लिइने प्रि–स्याट परीक्षा रद्द, अर्को परीक्षा लिने

धनकुमार कार्की
२५ साउन २०७८ १९:०४

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्वछनोट (प्रि–स्याट) परीक्षा रद्द हुने भएको छ । प्रश्नपत्र यूएन शाखाबाट आउट भएपछि नेपाल प्रहरीले छानबिन गरिरहेको अवस्थामा त्यसलाई रद्द गरेर अर्को परीक्षा लिन भएको हो । ‘परीक्षा रद्द हुन्छ यस्तो विषयमा प्रहरी प्रधानकार्यालय संवेदनशील छ’, प्रहरी उच्च स्रोतले भन्यो । सन २०१८ पनि सशस्त्र प्रहरीले लिएको परीक्षामा प्रश्न पत्र आउट भएपछि परीक्षा रद्द गरेर पुनः परीक्षा लिइएको थियो ।

यूएन शाखाकै परिचर सुरेश बमले चोरेर डिएसपीलाई दिएको खुलेको थियो । साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई तिर्नुपर्ने एक लाख मिनाहा गरिदिने शर्तमा परिचर बमले शाहलाई दिएको र शाहले डिएसपी रुपेश खड्कालाई घरमै लगिदिएका थिए । ‘अहिले छानबिन चलिरहेको छ परीक्षा के हुन्छ भन्न सकिन्न पहिला छानवीन सकिन दिनुस अनि त्यसको आधारमा कुरा गरौला यसबारे केही बोल्न मिल्दैन’, प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले भने ।

यूएन शाखाबाट साइबर व्यूरोमा सरुवा भएका हवल्दार शाहकै पूर्वयोजनामा सो प्रश्नपत्र बमले चोरेको स्पष्ट भएपछि अहिले ३० भन्दा बढी प्रहरी अधिकारीहरु छानबिनमा रहेका छन् । एसपी अनुप शमशेर राणाको घर्राबाट बमले चाबी मिलाएर चोरेर शाहलाई दिएका हुन् । अहिले डीआइजी वसन्त लामाको समितिले छानबिन गरिरहेको छ ।

स्रोतका अनुसार छानबिन समितिलाई परिचर बमले चोरेर शाहलाई दिएको बयान दिएका थिए । शाहले भने आफै डिएसपी खड्कालाई घरमै पुर्‍याउन गएको बताएका थिए । अहिले बम र शाह दुवै जना नियन्त्रणमा छन् । ‘प्रश्नपत्र लिक गर्न शाहले बमलाई दिएको एक लाख रुपैयाँ ऋण मिनाहा गरिदिने, परीक्षा पास भएर मिशनमा जानेबाट थप रकम उपलब्ध गराइदिने शर्त रहेछ’, छानबिन समितिका एक सदस्यले भने । भर्खरै साइबाट इन्स्पेक्टरमा बढुवा भएका जनक शाहले भने सो प्रश्न पत्र आफ्नो ज्वाई र सालोलाई पनि दिएका थिए ।

हवल्दार शाहले भनेपछि बमले परीक्षाको दुई दिन पहिले राति ८ बजे प्रश्नपत्र फोटोकपी गरेको खुलेको छ । प्रश्नपत्र रहेको दराजको चाबी परिचरसँग पनि थियो । यसअघि संलग्नता रहेको आशंका गरिएका यूएन शाखाकै डीएसपी वासुदेब पाठकको भने संलग्नता नरहेको छानबिन समितिले जनाएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीएसपी रुपेश खड्काको भने संलग्नता देखिएको प्रहरीले जनाएको छ । ‘डीएसपी खड्का मात्रै होइन अरु केही प्रहरी पनि यसका संलग्न रहेका छन् उनीहरुलाई कारवाहीको दायरामा ल्याउनेछौ ’, छानबिन समितिका एक सदस्यले भने । उनका अनुसार समितिले एक दुई दिनमै प्रतिवेदन बुझाएर संलग्न प्रहरी अधिकारीहरुलाई कसुर अनुसारको कारवाहीको सिफारिस गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *