गैरआवासीय नेपाली नागरिकता विधेयक सम्बन्धमा प्रधानमन्त्री देउवासँग छलफल

डिसी नेपाल
२६ साउन २०७८ १३:४६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिबीच भएको भेटघाटमा संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा छलफल भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तको प्रतिनिधित्वमा आज (मंगलबार) प्रधानमन्त्री देउवासँग भेटघाट गरी सो सम्बन्धमा छलफल भएको हो ।

भेटघाट कार्यक्रममा अध्यक्ष पन्तले हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । उनले पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत आग्रह गरेका थिए ।

सो अवसरमा उपस्थित संघका पूर्व अध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका ब्रिटिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गरे । उनले लामो समयदेखि विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

सो क्रममा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटका क्रममा संघका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थिती रहेको थियो ।

भेटमा एनआरएनएका अध्यक्ष पन्तलगायतका प्रतिनिधिहरुले प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामनासमेत दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *