वैदेशिक रोजगारीको नाममा समृद्धि कन्सल्टेन्सीद्वारा सयौं युवा ठगी

रिता बस्नेत
२७ साउन २०७८ ११:१४

काठमाडौं। वैदेशिक रोजगार विभागमा गत आइतबार एक कन्सल्टेन्सीद्वारा ३० जनाभन्दा बढी पीडित युवाहरुको जम्काभेट भयो। उनीहरु सबै समृद्धि कन्सल्टेन्सीबाट पीडित थिए। उनीहरु त्यहाँ सबैजना मिलेर एकैचोटी पुगेका थिएनन्। ठगिएका ४–५ जनाको समुह बनेर गएका उनीहरुको विभागमा अकस्मात ठूलै जमात भेला भएको थियो।

त्यसपछि त उनीहरु छक्क परे र ठूलै जमात भएर न्यायको लागि विभागको कोठा कोठा चहार्न थाले। पीडित उनीहरु विभागकी एक कर्मचारी तारा गिरी भएको ठाउँमा पुगे र सबै कुरा बेलिविस्तार लगाए। उनीहरुमध्ये केहिले कन्सल्टेन्सीले दिएको नक्कली भिसाको कागज देखाउँदै भने, ‘यो कन्सल्टेन्सीबाट २–३ सय जना फसेका छन्। हामीसँग उसलाई पैसा बुझाएको चेक, रसिद सबै छ।’

उनीहरुको कुरा सुनिसकेपछि गिरीले भनिन्, ‘कन्सल्टेन्सीबाट विदेश जाने भनेको पढ्नको लागि मात्रै हो, वैदेशिक रोजगारीमा जाने होइन। हामीले यहाँबाट गएर उसलाई कारवाही गर्ने अथोरिटी हुँदैन। किनकि कन्सल्टेन्सी हाम्रो विभागमा दर्ता भएको हुँदैन। यहाँ वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी दर्ता हुने भएकाले हामीले तिनीहरुलाई भने कारवाही गर्न मिल्छ। तपाईहरु गलत ठाउँमा जानु भयो।’

उनी अगाडि थप्छिन्, ‘कन्सल्टेन्सीको काम भनेको विदेशको कलेजसँग सहकार्य गरी यताबाट विद्यार्थी पढ्नको लागि पठाउने हो। रोजगारीको लागि पठाउने होइन।’

तर उक्त कन्सल्टेन्सीले आफूहरुको म्यानपावर कम्पनीसँग पनि सम्बन्ध रहेको भनि युवाहरुलाई झुक्याएको रहेछ। पीडितहरुसँग उक्त कन्सल्टेन्सीले वर्किङ(कामदार) भिसामा सिंगापुर पठाउने भनेर जनही ५ देखि ८ लाख रुपैयाँसम्म उठाएको रहेछ।

गिरीका अनुसार उनीहरु (पीडितहरु)को केसमा विभागले गर्न सक्ने भनेको वैदेशिक रोजगारीको लागि स्वीकृति नलिए पनि किन तपाईंले वैदेशिक रोजगारीको काम गर्नु भयो त भनेर सोध्ने ठाउँ रहन्छ तर कारवाही गरिहाल्ने ठाउँ चाहीँ विभागबाट हुँदैन।

अन्ततः विभागकी कर्मचारी गिरीले पीडितहरुलाई विभागमा रहेको पिपुल्स फोरममार्फत निवदेन लेख्न सल्लाह दिन्छिन्। र, उनी भन्छिन्, ‘सबैजनाको एउटै केस रहेछ। अब तपाईहरुले सामुहिक रुपमा यो कन्सल्टेन्सीले वैदेशिक रोजगारीमा पठाउने भनेर पैसा उठायो भनि सबैको हस्ताक्षरसहितको एउटा निवदेन लेखेर ११ नम्बर कोठामा रहनु हुने रामप्रसाद पौडेल सरसँग गएर सल्लाह लिनुस्। उहाँले तपाईंहरुलाई के सुझाव दिनु हुन्छ, अनि त्यही अनुसार जानु होला।’

पीडित युवाहरुका अनुसार समृद्धि कन्सल्टेन्सीका संचालक सन्जीव रायमाझीको दुई वटा नागरिकता छ। एक पीडित युवा भन्छन्, ‘यसले सबैको गरी एक अर्ब जति ठगेको होला। सन्जीव रायमाझीको वास्तविक नाम रमेश वयलकोटी हो रे। त्यो दुई वटै नाममा नागरिकता छ रे।’

अर्का पीडित युवा भन्छन्, ‘संजिव भन्नेले औषतमा ५० करोडभन्दा माथि उठाएको होला। हामीले सिआईबीमा निवदेन बुझाइसकेका छौं र साथीहरुको सल्लाहनुसार यहाँ (विभाग) पनि आएका हौं। उसले कतिजनालाई रोजगारी भिसा, मल्टिप्रपोज भिसा भनेर हानिदिएको छ। उसले बहुउद्देश्य कामको लागि भनेको थियो। हाम्रो रोजगारी भिसासँग पनि सम्बन्धित छ भन्यो तर जुन बेला भिसा आयो अनि मात्रै हामीलाई थाहा भयो, यो नक्कली भिसा हो भनेर। ज–जसको भिसा आयो भनेको छ नि त्योसँग बढी रकम लिएको छ। भिसा आउनेको आउने ४ गते फ्लाइट पनि तोकिसकेको थियो।’

पीडित सबै युवाले कन्सल्टेन्सीका संचालक सन्जीव भन्ने व्यक्तिलाई आइएमई, बैंकमार्फत तथा हातमै पैसा बुझाएका रहेछन्। सुरुमा कतिपय पीडित युवाहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मा उजुरी दिएका रहेछन्। जसले गर्दा समृद्धिमा संलग्न एक व्यक्ति भने समातिएका रहेछन्।

उदयपुर गाईघाटका बाबुरामसँग समृद्धिका संचालक सन्जीवले सिंगापुरमा वल्डिङ्गको काम लगाइदिने भनेर गत साउन १४ गते ६ लाखभन्दा बढी लिएका रहेछन्। बाबुरामले नक्कली भिसा देखाउँदै भने, ‘मैले सन्जीव रायमाझीलाई ६ लाख ६० हजार अस्ती गएको १४ गते बुझाएको हो। सबै पैसा उसको बैंक खातामा हालिदिएको हो । तर, यो मान्छे अस्ति शुक्रबार भागेछ।’

अर्का पीडित युवाले भने, ‘अझै धेरै जना छन् यो कन्सल्टेन्सीबाट ठगिने, उनीहरु आउनै बाँकी छ। यो सन्जीव भन्ने मान्छेलाई राजनीतिक संरक्षण छ रे, यो त काठमाडौंको डन हो रे, त्यही भएर त यत्रो जनाको पैसा उठाएको हो। पावरफूल मान्छे नभएको भए त यत्रो पैसा ठग्नै सक्दैन थियो नि यसले।’

पीडितका अनुसार धेरै जनालाई नक्कली भिसा देखाएर ८ लाखसम्म उठाएका समृद्धिका संचालक सन्जीव अहिले फरार छन्। तर पीडित युवाहरुले राजनीतिक, सरकारी संरक्षण तथा डन नै भए पनि समृद्धिका सन्जीव (पीडक)लाई कुनै हालतमा नछोड्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *