नारी र विवशता

डिसी नेपाल
२८ साउन २०७८ १०:४५

प्रत्येक नारीको लागि सबै सम्बन्ध भन्दा ठूलो उसको आत्मसम्मान हो। जो नारी आफ्नो आत्मसम्मान गुमाउँछे उसले सबै कुरा गुमाएकी हुन्छे। अहंकार पनि आवश्यक तथा मान्य हुन्छ जब कुरा अधिकार सम्मान र चरित्रको आउँछ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान होस् वा नारी दिवसको सेरोफेरोमा उठ्ने गरेका महिलाको हकहित तथा उत्थानसँग सम्बन्धित विषयहरु हुन जुन अरु समयमा सुषुप्त हुने गर्दछन्।

एउटा सानो प्रसंगबाट विषयको सुरुवात गरौं। महिला र पुरुष बीचको समानताको कुरामा जब एक वयस्क जोडी सुटुक्क सम्बन्धमा बस्छन् सो कुरा ती दुई बाहेक कसैलाइ थाहा हुँदैन।

तर सो कुरालाई हतियार बनाएर केटोले केटीलाइ ब्याल्क–मेल गर्छ। तर त्यही केटीले किन केटोलाई ब्याल्क–मेल गर्न सक्दिनन्? के इज्जत केटीको मात्र जान्छ? केटाको जाँदैन? आखिर दोष बराबर हो।

संलग्नता बराबर हो भने दोषीलाई पनि बराबर तवरले हेरिनुपर्ने होइन र? किन यो कुरा समाजले बराबर रूपमा ग्रहण गर्न सक्दैन? समाज तथा परिवारले पुरूषलाई जस्तो गलत काममा पनि स्वीकार गर्ने तर त्यही महिलालाई अनेक लाञ्छना लगाउनुका साथै समाजबाट बहिष्करण पनि गरिन्छ। के यो न्याय हो?

महिलाहरू घरेलु तथा सामाजिक हिंसामा परेतापनि छोरी चेली हो तिमीले सहनुपर्छ, महिला धर्ती हो सहनु पर्छ, घर गरेर खानुपर्छ, घरका मान्छेको मन जित्नुपर्छ भनेर छोरीलाई सिकाइन्छ। यस्तो सिकाइको कारण महिलालाई समान्य खालको हिंसामा परे पनि सहनुपर्छ भन्ने मानसिकताको विकास भएको हुन्छ।

यही सहने क्रममा कति महिलाहरुले मानसिक रोगको शिकार हुनु परेको छ। यही हाम्रो समाजमा व्याप्त रहेका हिंसाका रूपहरू मध्ये केही–मागेअनुसार दाइजो ल्याउन नसकेमा अनपढ भएमा, नि–सन्तान भएमा, मिठो नबोलेमा, मानसम्मान नराखेमा, अनेक विषयमा गरिने शंका–उपशंका आदि। यी सबै महिला हिंसाका कुरा समाजमा व्यापक हुँदाहुँदै पनि महिलालाई सामाजिक सुरक्षाको लागि विवाह बन्धनमा बाँधिदिन्छौँ।

तर के पुरुष विना नारी सुरक्षित नै हुन नसक्ने हो र? विवाह अघि होस् या पछि मेरो विचारमा पुरुषकै कारणले नारी असुरिक्षत भएका छन्। विवाह गरेकै कारणबाट नारी सुरक्षित हुने भन्दा पनि त्यसबाट उत्पन्न हुने महिलाको विवशतालाई बढवा दिइएको छ। महिलाका सबै इच्छा चाहनालाई जन्जीरले बाँधिएको हुन्छ। सामाजिक मूल्यमान्यता अनुसार यसको उचित व्यवस्थापन आजको आवश्यकता हो। अन्यायमा कोही पनि बाच्न नपरोस्।

यही हाम्रो समाजमा व्याप्त रहेका हिंसाका रूपहरू मध्ये केही–मागेअनुसार दाइजो ल्याउन नसकेमा अनपढ भएमा, नि–सन्तान भएमा, मिठो नबोलेमा, मानसम्मान नराखेमा, अनेक विषयमा गरिने शंका–उपशंका आदि। यी सबै महिला हिंसाका कुरा समाजमा व्यापक हुँदाहुँदै पनि महिलालाई सामाजिक सुरक्षाको लागि विवाह बन्धनमा बाँधिदिन्छौँ।

अहिलेको महिलाको स्थिति सामान्यतया सहरवासीमा शिक्षा, स्वास्थ्य लगायतमा छोरीलाई विभेद नगरिएता पनि एउटा उमेर पुगेपछि उसलाई अब बिहे गर्ने बेला भो है भन्ने जानकारी गराइन्छ। यस्को सट्टामा तिम्रो इच्छा के छ भन्ने प्रश्न सार्थक हुने देखिन्छ।

विकट गाउँको त झनै कुरा गरेर नै नसकिने दयानीय अवस्था छ। बिहे नगर्ने भन्ने उसको जवाफ आएमा परिवारमा पहाड खस्छ। किन नगर्ने? को छ तेरो? नाक काट्ने भइस, जिन्दगी एक्लै कसरी बिताउँछेस्? हामी सधैँ रहदैनौं अनि कोसँग बस्छेस्?’ कसरी सुरक्षित हुन्छेस्? लगायतका प्रश्नहरूको ओइरो लाग्छ। ओइरो यसरी लाग्छ कि उसले थेग्नै नसकी मौन रहन्छे। यही नै बिहेको लागि स्वीकृती बुझिन्छ।

तर एउटी महिलाले आफ्नो खुसीले स्वतन्त्र भई एक्लै जीवन बिताउन नसक्ने हो र? कहिलेसम्म? अब यो स्थिति बदलिनु पर्छ जस्तो मलाई लाग्छ। उसको सोच लक्ष्य अनुसारको निर्णय लिनु पर्छ। महिला आफूले सोचेको लक्ष्यमा पूर्ण रूपमा अब्बल भएपछि मात्र आफ्नो जीवनको बारेमा लिएको निर्णय परिपक्व हुनेछ।

अभिभावकहरू आफ्नो जिम्मेवारीबाट पन्छिएर कन्यादान गरेर उम्किने चाहना राख्दछन्। सो हतारोले गर्दा छोरीको काँधमा बोक्नै नसक्ने गरी थिचिएको जिम्मेवारीको भारीले थिचिएर निस्सासिएर मरेका धेरै छोरीको खबर दिनँहु आउँछ। ती छोरीहरुका आत्मले चिरशान्ति पाओस्।

छोरा र छोरीमा अहिलेको परिवेशमा देखिने गरी फरक नगरे तापनि छोरा र बुहारीमा भने पक्कै फरक छ। देखिने गरी नै फरक छ। छोरोले उसैले चाहेको देशमा, चाहेको ठाँउमा गएर अध्ययन तथा जागिर गर्न सक्छ तर यो छुट अधिकांश परिवारमा बुहारीलाई छैन।

बिहेपछि महिला भएकै कारण जिम्मेवारीका चाङ लाग्दछन्। मन लागे पनि नलागे पनि उसले त्यो पूरा गर्ने अपेक्षा राखिन्छ र गरिराखेकै पनि छन्। कसैले खुशीका साथ त कसैले बाध्यताका साथ।

सलाम छ ती चेलीलाई जसले जस्तो परिस्थितिमा पनि आफूलाई अब्बल राख्न सकेका छन् डटेर समाजमा जिउँदो रहन सकेका छन्। श्रद्धाञ्जली छ ती चेलीलाई जसले यो दलदलबाट निस्कन नसकी हार मानेर आफैं मृत्यु रोजेका छन् वा हत्या पनि गरिएको छ।

अहिलेको परिवेश, पढाइ लेखाइमा गरेको लगानी, अवसर, चुनौती माझमा एउटी केटीले आफ्नो लागि कुनै न कुनै सपना देखेकी हुनसक्छे वा भनौँ देखेकै हुन्छे।

त्यो सपना पूरा गर्न उसको वैवाहिक जीवनले कतिको अगाडि बढ्न सहयोग गर्छ वा पछाडि धकेल्छ त्यो सोच्नु जरुरी छ। के अहिले कुनै महिला कसैमा निर्भर हुनै पर्ने अवस्था छ र? ऊ आफै सक्षम छैन र ? बिहे गरेर नै सबै खतम हुन्छ भन्न खोजिएको पनि होइन। यसका राम्रा पक्षहरू पनि छन्।

वैवाहिक सम्बन्धकै सहायताले कतिपय सपना पूरा पनि गर्न सकिन्छ। मैले मेरो आफ्नै कुरा गर्दा आई.एड. दोस्रो वर्ष पढ्दै गर्दा करकापमा होइन मेरो आफ्नो खुशीमा बिहे भयो। बिहे पश्चात पनि मैले कलेजको पढाइलाई निरन्तरता दिन सकेँ। पहिलो बच्चा छोरी जन्मिए पछि क्यारियरमा केही रुकावट आएको होकी भन्ने महसुस नभएको होइन।  तर पनि उहाँकै उत्प्रेरणाबाट म एक पाइलो माथि उक्लिन सकेँ।

दोस्रो बच्चा छोरोलाई पनि स्कूल पठाउन्जेल मेरा कदमहरु अगाडी बढिसकेका थिए। छोरा छोरी हुर्काउँदै गर्दा श्रीमानकै साथ र सहयोगले मैले बि.एड. सकाए यो काम उहाँको सहयोगले मात्र संभव हुन सकेको हो। एम.एड.सँगै लोकसेवाको तयारीमा लाग्न उहाँकै सल्लाह माने र सफल पनि भएँ।

म अहिले सरकारी जागिरे छु जसमा मरो श्रीमानको पूरा सहयोग र साथ छ। मेरो श्रीमान् घरधन्दा मैलेभन्दा धेरै गर्नुहुन्छ। उहाँको अधिकांश समय भान्सा कोठामै बित्छ। मेरो लागि यो सहयोगले अझै अगाडि बढ्ने प्रेरणा प्राप्त हुन्छ।

यो भन्नमा मलाई गर्व लाग्छ मेरो श्रीमानको जस्तो सोच सबै पुरूषको भए यो संसारमा सायद सबै महिलाहरू म जस्तै भाग्यमानी हुनेथिए होला, कसैले अकालमा ज्यान फाल्नु पर्दैन थियो होला।

एउटा अर्को कुरा महिलाले आफूलाई पूर्णरुपमा परिवारकै लागि समर्पित गरेपनि त्यो त उसको नैसर्गिक जिम्मेवारी न हो, गर्नै पर्छ नि भन्ने पितृसत्तात्मक सोच व्याप्त छ।

तर पुरूषले गरेको केही सहयोगलाई आफन्त तथा समाजले यो त जोइटिंग्रे हो भनेर उल्टो उसलाई गिराउने गरेको पाइन्छ। फलस्वरूप श्रीमतीलाई माया, सहयोग, सम्मान गर्ने व्यवहारलाई हाम्रो समाजले अझैसम्म सकारात्मक रुपमा लिन सकेको छैन। चाहे त्यो शिक्षित परिवार नै किन नहोस्।

प्रायः घरमा अहिले पनि बिहान पहिले उठ्ने काम महिलाकै हुन्छ। उ राति अबेरसम्म पढेकी हुन सक्छे, अफिसको काम नै पनि हुन सक्छ वा मनोरञ्जनका विषय पनि हुन सक्छन्। कि रमाइलो गर्न उसले नपाउने भन्ने छ र?

महिलाहरुले संसारमा कति ठूला–ठूला काम गर्न पनि सक्छन्। धेरै महिलाले उदाहरणीय काम गरेका पनि छन्। संसारमा नाम कमाउन पनि सक्छन्। हामी सक्षम भएमा सफलता झक मारेर हाम्रो पछि आउँछ। सबैमा केही न केही फरक किसिमका प्रतिभा लुकेका हुन्छन्। तर जब त्यसको प्रष्फुटन हुने बेला आउँछ अनि एउटी महिलाको बिहे गर्ने बेला हुन्छ।

महिलाहरुले संसारमा कति ठूला–ठूला काम गर्न पनि सक्छन्। धेरै महिलाले उदाहरणीय काम गरेका पनि छन्। संसारमा नाम कमाउन पनि सक्छन्। हामी सक्षम भएमा सफलता झक मारेर हाम्रो पछि आउँछ। सबैमा केही न केही फरक किसिमका प्रतिभा लुकेका हुन्छन्। तर जब त्यसको प्रष्फुटन हुने बेला आउँछ अनि एउटी महिलाको बिहे गर्ने बेला हुन्छ।

बिहे पछि बच्चा घर परिवार जिम्मेवारी यसरी थुपारिन्छ कि उ टाउको उठाएर माथि हेर्न पनि सक्दिन यसरी कति प्रतिभा, कति सपना, कति क्षमता, अनि कति नयाँ आविष्कारहरुलाई हामीले जन्मनै नदिई भ्रुण हत्या गरे जस्तो लाग्छ।

यसको प्रत्यक्ष असर दक्ष जनशक्ति सन्तुलतमा परेको छ। सक्षम, सबल, सशक्त तथा सबै समस्याको आफै समाधान गर्न सक्ने क्षमताको विकास जरुरी छ। त्यसैले आफ्नो क्षमता, प्रतिभा चिनेर भविष्यको लक्ष्य निर्धारण गर्नुपर्छ।

मेरी आमा, हजुरआमा लगायतको समयमा बिहे गर्नु श्रीमान तथा घर परिवारका सदस्यलाई खुशी पार्नु र बच्चा जन्माउनु हुर्काउनु घरधन्दा गर्नु नै महिलाको प्रमुख कर्तव्य थियो। त्यो समयमा शिक्षा स्वास्थ लगायत सबै क्षेत्रमा महिला जहिले पनि पुरुष पछि मात्र आउँथे।

उचित शिक्षा–दिक्षा तथा सूचनामा कम पहुँच साथै शसक्तिकरणको कमीका कारणले पनि सपना कमै देख्थे होलान्। किनकि भोगाइ, देखाइ तथा सिकाइ जति फराकिलो हुन सक्यो, सपनाको आकार पनि त्यति नै फरकिलो हुन्छ।

अहिले हामीले यो कुरालाई भन्दा पनि अफ्नो क्षमताको विकास गरी आफूलाई सक्षम, सबल, सशक्त तथा सबै समस्याको समाधान आफै गर्न सक्ने भएमा समाजले स्वतः महिलाको सम्मान गर्नेछ। आमा हजुरआमाहरुको समयभन्दा अहिलेको समय फेरिँदै आएको छ तर जुन रुपमा जुन गतिमा फड्को मार्नु पर्ने हो, त्यो महसुस हुन सकेको छैन।

२१औँ शताब्दीको शिक्षित महिलाहरु हामी आफ्ना सबै निर्णय लिन सक्ने, आफ्नो भरण पोषण गर्न सक्ने, साथै आश्रितको हेरचाह गर्न सक्ने, आफ्ना प्रतिभा फलाउन फुलाउन सक्ने र आफ्ना सपनामा बाँच्न सक्षम छौं जस्तो लाग्छ। अन्यायमा नपरऔं अन्यायविरूद्ध अवाज उठाऔँ आफ्ना आफन्त साथै समाजका महिलाहरूलाई सशक्त बन्नमा सहयोग गरौं। जब महिला शिक्षित तथा सशक्त हुन्छन् तब समाजले मुहार फेर्ने छ।

महिलालाई पुरूषको साथ र सहयोगले हरेक कदममा सहज वातावरण बन्न सक्छ। त्यसैले घरमा भएका श्रीमान, बुवा–ससुरा, दाजु–जेठाजु, भाइ–देवर, काका, मामा, छिमेकी तथा कार्यलयका हाकिम तथा सहकर्मीहरू सबैले आफूसँग सम्बन्धित महिलाहरूलाई सकारात्मक तरिकाले सहयोग गरौं।

नारीले आफ्नो हकहित र इज्जत पाउनको लागि भित्तेपात्रोमा लेखिएको नारी दिवस कहिले आउँला भनी कुर्न नपरोस्। प्रत्येक दिन नारी दिवस जसरी जोशिलो रूपमा बितोस्। प्रेमको नाममा निर्दोषहरूको शरीरमा एसिड नपरोस्। दाइजोको नाममा जिउँदै जलेर ज्यान नै दाइजोको नाममा बलिदान दिन नपरोस्। बलात्कारको शिकार कोही पनि हुन नपरोस् सबै छोरीको रक्षा गरौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *