के अफगानिस्तानकै हालतमा छ नेपाल ? – Dcnepal

के अफगानिस्तानकै हालतमा छ नेपाल ?

अफगानिस्तान संकटले अहिले विश्वको ध्यान खिचेको छ। अफगानिस्तान किन कसरी र केका लागि संकटको भुमरीमा पर्दै आएको छ भन्ने कुरा सर्वविदितै छ।

समान भूगोल, भूपरिवेष्ठित बाध्यता, सामाजिक सांस्कृतिक विविधता, रणनीतिक भूअवस्था भएको विकासशील हिजोको रामराज्य कुन हदसम्म शक्ति राष्ट्रहरुको आलोपालो खेल मैदान भयो र आज रद्दीको टोकरीमा फ्याँकियो त्यो पक्ष ज्यादै पेचिलो, सोचनीय र हाम्रा सन्दर्भमा मननीय छ। हामी आफू असफल भएर रद्दीको टोकरीमा नफ्याँकिन हामीले के रणनीति र कामयावी उपायहरु अपनाउनु पर्दछ भन्ने सुझाव गर्नु यो लेखको आशय हो।

नेपाललाई प्रभाव

नेपाल किन अफगानिस्तान भएन? संक्षिप्तमा नेपालीको वीरता, स्वाभिमान, स्वतन्त्रताको गौरव, धार्मिक सामाजिक सांस्कृतिक सहिष्णुता र सहअस्तित्व। जटिल र प्राकृतिक भूगाेलले सृजना गरिदिएको प्राकृतिक सुरक्षा  सुविधा। १० नङ्ग्राले पहाड खोस्रेर साग र सिस्नु खाने तर बाह्य आक्रमण हस्तक्षेप र दबदबा नसहने राष्ट्रिय एकताको अमर भावना हाम्रो भित्री तागत र राष्ट्रिय पूँजी हो।

तर बिडम्बना, नेपालमा अब वीरता मात्र बाँकी छ। बाँकी सबै शक्ति र चरित्रका बरदानहरु खुइलिएर र उग्लिएर गायब भइसकेका छन्। हरेक देशको बीरताको सुरक्षा कबच स्वाभिमान र स्वतन्त्र चरित्र हो। अर्को रिङ्ग सुरक्षा कबच राजनीतिक इच्छाशक्ति सहितको दृढ संकल्प हो। जुन खिएर नास भइसकेको चरित्र वर्णन गर्न योग्य नै छैन।

अफगानिस्तानजस्तै नेपाल पनि बाह्य हस्तक्षेपको पीडामा मडारिहेको छ। यहाँ हाईब्रिड हस्तक्षेप छ। थोरै फिजिकल र धेरै इण्टेलिजेन्स हस्तक्षेप। राष्ट्रिय इण्टेलिजेन्स र राष्ट्रिय सुरक्षा परिषदको शिर छेदन गरेर बाह्य इण्टेलिजेन्सलाई मैदान खाली गरिदिएको धेरै वर्ष भइसक्यो।

फुट, गुट, उपगुट र लुट हाम्रो आयातित प्रजातन्त्रका नामेट विशेषता र घाम जस्तै छर्लङ्ग चरित्र बनिसकेका छन्। यो मुलुकको संविधान र शासन व्यवस्था सरासर आयातित हो जुन माटो सुहाउदो जनताको हित गर्न नेपाली जनप्रतिनिधिका हात र मनले बनाएकै होइन।

अफगानिस्तानमा बाह्य हस्तक्षेपको फिजिकल नाच गान मञ्चन भइरह्यो। एकपछि अर्का कलाकारहरुको। नेपालमा पनि फिजिकल उपस्थिति रातो कार्पेट ओछ्याएर निम्तो दिइएकै हो हाम्रो तत्कालीन शासक र कलाकारहरुले।

चटक्क नभुल्ने र इख लिएर राख्ने हो भने फलाम जस्तो बज्र र स्वाभिमान प्रधानसेनापति छत्रमान सिं गुरुङको चट्टानी अडान र सैनिक पृष्ठभूमिका तीनतारे जर्नेल बालानन्द शर्माको दूरदर्शिता तथा चतुर्याँइको एकीकृत पहल र प्रयास नभएको भए नेपालमा अनमिनको डिस्को डान्स आजसम्म चलिरहेकै हुने थियो। त्यसमा मलाई कुनै शंका छैन।

शान्ति प्रयासलाई गन्तव्यमा पुग्न नदिनु र आजसम्म द्वन्द्वका हतियार र ढुकुटीको अपारदर्शी रकम लुकाएर अर्को द्वन्द्व मञ्चनको प्रतिक्षा गर्नुमा हाम्रा पूर्व शासकहरु र होली वाइनका उपभोक्ता नेताहरु जिम्मेवारी छन्।

अफगानिस्तानजस्तै नेपाल पनि बाह्य हस्तक्षेपको पीडामा मडारिहेको छ। यहाँ हाईब्रिड हस्तक्षेप छ। थोरै फिजिकल र धेरै इण्टेलिजेन्स हस्तक्षेप। राष्ट्रिय इण्टेलिजेन्स र राष्ट्रिय सुरक्षा परिषदको शिर छेदन गरेर बाह्य इण्टेलिजेन्सलाई मैदान खाली गरिदिएको धेरै वर्ष भइसक्यो।

हाम्रा शासकहरु कानमा तेल हालेर, अफगानिस्तानमा १ मुठ्ठी वारलर्डहरुले जस्तै होली वाइनको चुस्कीमा रमाइरहेका छन्। त्यो निःसन्देह अफगानिस्तान उन्मुख मुलुक कोल्याप्स हुने रोडम्याप हो।

तालिवानहरुले प्राचिन र कट्टर धर्म, संस्कृति, संस्कार जोगाउन युद्ध छेडे। कठोर र अलोकप्रिय धर्म युद्ध मानौं रे त्यसलाई। हाम्राले मादकपदार्थ लागूपदार्थ र होली वाइनलाई फ्युजन गराएर सदियौं लामो धर्म, सुसंस्कृति र परिस्कृत मिलिजुली संस्कार मास्न नास्न र निल्न रक्त रञ्जित युद्ध छेडे आफ्नै नागरिक मार्नलाई।

तत्कालीन वारलर्डहरु युद्ध खर्च, युद्ध सामाग्रीले सुसज्जित भए र अफगानिस्तानमा जस्तै विदेशी भारु, युरो र डलरले पुरिए। राष्ट्रिय ढुकुटीको लुटअतिरिक्त फाइदा थियो। सत्ता कब्जा र सत्तारोहणको विदेशी सुनको भर्‍याङ आजसम्म पनि निर्वाध प्रयोग भएकै छ।

अफगानिस्तानमा फुट्होल्ड बनाएर, चीन घेर्ने र हान्ने एउटा महत्वपूर्ण रणनीति नेपालको हकमा पनि ठ्याक्कै मिल्छ। चीनको मुसलमान समूहलाई अतिबादी आगो सल्काएर चीन कमजोर पार्ने रणनीति सफल भयो कि असफल र लगानीको नास त्यो लगानीकर्ताले जान्ने कुरा हो।

अफगानिस्तानमा फुट्होल्ड बनाएर, चीन घेर्ने र हान्ने एउटा महत्वपूर्ण रणनीति नेपालको हकमा पनि ठ्याक्कै मिल्छ। चीनको मुसलमान समूहलाई अतिबादी आगो सल्काएर चीन कमजोर पार्ने रणनीति सफल भयो कि असफल र लगानीको नास ? त्यो लगानीकर्ताले जान्ने कुरा हो।

तर अमेरिकाले अर्काको आन्तरिक व्यवस्थामा जबरजस्त हस्तक्षेप गरेर खर्बौं डलर ढलमा पोखुन्जेल चीनले त्यति नै डलर कमाएर पूर्वाधार र कल्याणकारीमा खर्च गरिरहेको थियो। त्यहाँ अमेरिकाको लज्जास्पद हार भयो र उसले घेर्न खोजेको चीनको सानदार जित।

एमसीसी नेपाललाई फिजिकल फुटहोल्ड र चीन घेर्ने रणनीति हो। त्यो षड्यन्त्रलाई काउण्टर गर्न र अमेरिकालाई कन्टेन गर्न बिआरआईको नाटक हो। हामीले यी नाटक मञ्चनको एड्भान्स पेस्की खाएर घाँटीमा उल्टो बल्छी अड्काइसकेको छौं।

सुशासन दुबै देशले देख्न नपाएका डलरका सपना हुन्। सुशासनका नाममै वर्षेनी अर्को भ्रष्टाचार भइरहेको छ। समावेशी र आरक्षण परिवार भागवण्डा, परिवार सत्ताका अर्का लुट्का दुबै देशले भोगेका समस्या हुन्। यसबाट वारलर्डहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय(डलर) दुबै तर मारिरहेको छन्।

फुटाउ र शासन गर अनि काम सकिएपछि फयाँकिदेऊ शक्तिराष्ट्र खेलका भुक्तभोगी पीडित हुन् दुबै मुलुक। रगत र भावनामा शान्तिकामी तर अशान्तिमा धकेलिएका पीडित जनताको कथा पनि समान छ दुबै देशमा।

चाहेमा छिनमा शान्ति हुने र अर्को छिनमा सम्वृद्ध हुन सक्ने दुर्लभ सुन्दर मुलुक हुन दुबै। तर आइसोलेसनमा राखेर अशान्ति र अस्थिरतामा बाच्न बाद्य पार्ने र कहिले आत्मनिर्भर तथा सम्वृद्ध हुन नदिने बाह्य शक्तिको दीर्घकालीन असर भोगेर हैरानी बेहोरेका मुलुकहरुको आत्मकथा धेरै मिल्दोजुल्दो छ।

बाह्य इण्टेलिजेन्टका एजेन्ट नेताहरु कि जनताद्वारा बहिस्कृत र दण्डित हुनुपर्दछ कि पाठ सिकेर कसम खाएर स्वाभिमान जनताको मूलधारमा फर्किनुपर्दछ। बाह्य शक्तिलाई नियन्त्रणा र पूजा गर्ने मसुर गोटी शासकहरु आज हामी माझ हुनुहुन्न।

संघीयता, जातीयता, क्षेत्रीयता, समावेशिता र धर्म निरपेक्षता समस्या हुन कि समाधान सबैलाई छर्लङ्ग भइसकेको छ। नेपाललाई शीघ्र असफल बनाउने ऐना जस्तै पश्चिमा रोडम्याप हुन ती हामीले देखेका उपहार।

राजनीतिक दलहरु कुनै सिद्धान्त आदर्श र लोककल्याणकारी राज्यको निर्देशनबाट निर्देशित छन् कि भागबण्डा लुटतन्त्रका कानुनी हैसियत प्राप्त डनहरुको समूह हुन् त्यो पनि जगजाहेरै छ।

नेपाल अफगानिस्तान हुन्छ त ?

असम्भव। रातो र तातो रगत भएका अरिङ्गालजस्ता वीर जनताहरुको देश नेपाल कहिल्यै अफगानिस्तान हुन सक्दैन। बेलायती आक्रमण, चीनको आक्रमण धान्ने थेग्ने र हराएर पठाउने अमेरिकाको भन्दा पुरानो वीर सैनिकहरुको चरित्र विशेषता र तागत विश्व शक्ति सबैलाई राम्रो थाहा छ।

युद्धक्षेत्र अफगानिस्तानमा अमेरिकन राजदूतावास र इन्स्टलेसन होस अथवा अरु अन्तर्राष्ट्रिय संघ संस्थाहरु, सबै बहादुर गुर्खाजको रक्षा कवचमा थिए भनेपछि गुर्खाजको बहादुरीको अनविज्ञ को होला र? ऊ बेलाको आक्रमणकारी बेलायत होस वा ब्यास क्षेत्र जबरजस्त हडेपेर तुइन काट्ने भारतको महत्वपूर्ण सुरक्षाकवच आज पनि गुर्खाज हुन्। ब्रुनाई लगायत धेरै सम्वेदनशील देशले स–सम्मान प्रयोग गर्दै आएको सुरक्षा कवच गुर्खाजको नामै काफी छ।

विदेशी हस्तक्षेप नभई नहुने नेतागण र सहनै नसक्ने स्वाभिमानी जनता बीचको ग्याप पहिचान नै वर्तमान समस्याको समाधान हो। तसर्थ, बाह्य इण्टेलिजेन्टका एजेन्ट नेताहरु कि जनताद्वारा बहिस्कृत र दण्डित हुनुपर्दछ कि पाठ सिकेर कसम खाएर स्वाभिमान जनताको मूलधारमा फर्किनुपर्दछ।

बाह्य शक्तिलाई नियन्त्रण र पूजा गर्ने मसुर गोटी शासकहरु आज हामी माझ हुनुहुन्न। जो जस्ता हुनुहुन्छ वहाँहरुले आफूले भोगेको अनुभव, पाएको धोका र अक्षम्य किन नहोस गरेको गद्दारीको पोको खोलेर मातृभूमिलाई स्वाभिमान र स्वतन्त्रताको रोडम्यापमा राखिदिनुपर्दछ।

सानो र प्राचिन किन नहोस तर विश्वकै पुरानो नेपाली सेना अर्को रक्षाकवच हो मुलुकलाई अफगानिस्तान हुनबाट जोगाउने। ३ वर्ष ज्यादै छोटो समय हो, तथापि आफू नमूना र त्यागी कमाण्डर बनेर गरेको संगठनका आन्तरिक सुधार सरकारलाई सुशासन, समता, दण्ड पुरस्कार नीति र न्यायको असल रोडम्याप थियो वर्तमान प्रधान सेनापतिकाे।

पाकिस्तानको क्वेटामा ठीक २५ वर्ष अगाडि गुल्मपति तालिम (एमसीसी) गर्दा विदाको दिन एकजना युवतीले देश दर्शन गराउन लागिन्। सुन्दर र मिजासिला अफगान जनताहरुसँग मित लाइदिइन्।

असफल राष्ट्र अथवा अफगानिस्तानजस्तो नहुने हो भने तत्काल सुधार र सुशासनको बाटो समाउ भन्ने उहाँको अभिप्राय कसैले बुझ्ने कोसिससमेत गरेन। बरु घाममा पिना सुकाएझैँ सरकार र सरकारकै पाङ्ग्राहरुले चरम भ्रष्टाचार कुशासन तथा विदेशी खुफियाहरुलाई गुहार गुहार गरेर मुलुकलाई झन अस्तव्यस्त अवस्थामा पुर्‍याए। सिक्ने होइन तिनै प्रधानसेनापतिलाई सिकाउन चौतर्फी दबाब दिन पुगे।

राजनीतिले मृत बिन्दू  (डेड् ईण्ड) मा पुर्‍ याएको मुलुक राजनीतिले नै करेक्सन गरेर अघि बढ्नु पर्दछ र त्यो सम्भव छ भन्ने शालिन प्रधानसेनापतिको सम्वेदनशील सन्देश राजीतिक नेतृत्वले मनन् र आत्मसात् गर्न बिलम्ब गर्नु हुँदैन।

नेपाली सेनाले तिनै शक्ति राष्ट्रहरु (अमेरिका, चीन, भारत, बेलायत लगायत) सँग सु–सम्बन्ध र सहकार्य गरेर मुलुकको असफल कुटनीतिक पाटाेलाई हालसम्म बचाइराखेको छ।

तसर्थ, यो प्रश्नको उत्तर नेपाल अफगानिस्तान हुन सक्दैन। तर, शासक(वारलर्ड) हरुको अदूरदर्शिता, परनिर्भरता र बिकाउले मुलुक तीब्र असफलउन्मुख बाटोमा भने पक्कै छ।

जतिबेला म अफगानिस्तान पुगेँ

पाकिस्तानको क्वेटामा ठीक २५ वर्ष अगाडि गुल्मपति तालिम (एमसीसी) गर्दा विदाको दिन एकजना युवतीले देश दर्शन गराउन लागिन्। सुन्दर र मिजासिला अफगान जनताहरुसँग मित लाइदिइन्। उनीहरुको अतिथि देवो भवः देखेर म मनमुग्ध भएँ।

हाम्रो उब्जनी भनेर खुवाएको ठूलो ठूलो दाना पिस्ता, आलमण्ड र काजुको जुस आजसम्म मेरो जिब्रोमा झुण्डिरहेको छ। आफ्नो मनाङ मुस्ताङ जस्तै प्राकृतिक सौन्दर्यता र सुन्दर हावापानी देखेर विश्वको नेपालपछिको दोश्रो स्वर्ग यहाँ रहेछ भनेर राम राम पुकार्दै लठ्ठ भएको थिएँ म प्रकृति प्रेमी।

त्यति सुन्दर स्वर्ग देश अब टुक्रा टुक्रा फुटेर होइन जुटेर आफ्नो देश आफै बनाउन अफगानहरुले अर्काले रोपेको, बोकेको, लादेको संविधान र प्रजातन्त्र होइन आफ्नो देश काल जनता र माटो सुहाउँदो सर्वस्वीकृत लोककल्याणकारी शासन व्यवस्था लागू र अभ्यास गरुन् ।

पश्चिमा राष्ट्रहरुले रोपेको र बोकेको प्रजातन्त्र छिनभरमा भत्किएको सन्देश हो–‘माटो सुहाउदो जनताले रोजेको मौलिक शासन व्यवस्थाको अपरिहार्य आवश्यकता।’

अरुको ईशारा, इण्टेलिजेन्स र सुरक्षा रणनीतिमा होइन आफ्नै बलबुतामा आफ्नो खुट्टामा उभिउन् त्यहाँका शान्तिकामी जनताहरु। फुटाएर शासन गर्न नदिउन् अरुलाई र डर, त्रास, भय र असुरक्षा नहोस् कुनै पनि वर्ग, जाति समूह र लिङ्ग विशेषलाई।

लडेर भागेर जुधेर होइन मिलेर र सबैलाई सम्मानजनक ठाउँ दिएर शान्ति र सम्बृद्धि दिने शासन व्यवस्थाको सानदार अभ्यास सुरु होस्। बालबालिका, नारी, संचार माध्यमलाई शान्ति सुरक्षाको प्रत्याभूति होस् र त्यो सुन्दर भूमि अतिवादी जन्माउने निर्यात गर्ने र एक अर्काको विरुद्ध प्रयोग गर्ने अपवित्र स्थल नहोस्। अब पाठ सिकेर बिग्रेको पुरानो रामराज्यलाई छिटो स्वर्ग नबनाए कहिल कसले बनाइदिने?

अन्तर्राष्ट्रिय क्षेत्रीय सद्भाव र शुभेच्छा

अब नयाँ रचनाकार योजनाकार र रणनीतिकार निस्केर कसैले अफगानिस्तानलाई नयाँ रणभूमि नबनाउन्। अफ्नो भूमि आफैलाई व्यवस्थापन र शासन गर्न दिउन्। इतिहासबाट सिकेको पाठ व्यवहारमा उतार्दै परिवर्तन र सुधार गर्दै आत्मनिर्भरताको बाटो समाउन दिउन विश्वका शक्ति राष्ट्रहरुले।

अरुको प्राकृतिक श्रोतमा आँखा लाउनु हुन्न र नाङ्लो ठटाएर हात्तीहरु तर्साउनु हुन्न भन्ने पाठ शक्ति राष्ट्रहरुले अब नसिके कहिले सिक्ने? पश्चिमा राष्ट्रहरुले रोपेको र बोकेको प्रजातन्त्र छिनभरमा भत्किएको सन्देश हो–‘माटो सुहाउदो जनताले रोजेको मौलिक शासन व्यवस्थाको अपरिहार्य आवश्यकता।’

नयाँ नयाँ नाटक मञ्चन गर्नुको सट्टा भोक र रोगसँग लड्न शीघ्र मानवीय सहयोग गर्नु र शरणार्थीको व्यापक समस्यालाई तत्काल सम्बोधन गर्नु सबैको हितमा हुने छ। समन्वीकृत र एकीकृत अन्तर्राष्ट्रिय पहल र असरदार प्रयास त्यसतर्फ केन्द्रित हुनु बाञ्छनीय हुने छ।

नेपालले के गर्ने ?

सुशासन पहिला शर्त हो। लोककल्याणकारी शासन व्यवस्था दोश्रो शर्त हो। अतिवादी र आतंककारीहरुको सेफ् हेभन हुन नदिन खुला सीमानाको नियमन(सिलबन्दी) अनुगमन र नियन्त्रण अर्को प्रारम्भिक शर्त हो।

निस्कृय राष्ट्रिय ईण्टेलिजेन्स र राष्ट्रिय सुरक्षा परिषदलाई सक्रिय र प्रभावकारी बनाई राष्ट्रिय हित एवं राष्ट्रिय सुरक्षा मजबुत बनाउन उसै पनि बिलम्ब भइसकेको छ।

मुलुकमा सर्वमान्य सर्वस्वीकृत नेतृत्वको खडेरी छ। राष्ट्रिय सहमति र राष्ट्रिय एकता अक्षुण्ण राख्दै सुशासनको बाटोमा लैजान न कथित राजनीतिक दलहरु सवल र सक्षम छन् त न कुनैपनि पुस्ताका नेताहरु काबिल छन्।

यो डरलाग्दो समस्याकाे तत्काल सम्बाेधन र त्यागी राजनेताको पहिचान अर्को अति आवश्यक शर्त होः जसले मुलुकलाई कोर्स करेक्सन र ओभरहलिङ्ग गरेर शीघ्र सुरधारको बाटामा लैजान सकोस।

एमसीसी र बिआरआई यो देशको नेतृत्वहरुले ह्याण्डल, व्यवस्थापन र देश र जनाताको हितमा प्रयोग गर्न नसक्ने मेगा प्रोजेक्टजस्ता देखिएका छन्। अर्थात् यी परियोजनाहरुको कुशल र बुद्धिमतापूर्ण संचालनमा हाम्रा नेताहरु असफल सिद्ध भएका छन् जसले गर्दा विकासका यी परियोजनाहरु गिजोलिएर हाम्रा लागि एम्बुस बन्ने खतरा उत्तिकै छ।

सार्कको अध्यक्ष राष्ट्रको हैसियतले निस्कृय होइन सक्रिय भएर अफगानिस्तानलाई छिटो सवल सक्षम बनाउन विदेशी हस्तक्षेप होइन आत्मनिर्भरताको र शीघ्र सुधार एवं शान्तिको बाटोमा ल्याउन क्षेत्रीय ऐक्बद्धतासहितको प्रेरणा दिन सकिन्छ।

अन्त्यमा, नेपाल अफगानिस्तान नहोस, अफगानिस्तान झन नेपालजस्तो नहोस। बरु प्राकृतिक सौन्दर्यताका धनी दुबै भुपरिवेष्ठित मुलुकहरु शीघ्र सुध्रिएर स्वाभिमान र आत्मनिर्भरताको बाटो समाउँदै शान्ति र सम्बृद्ध हुन् र विश्वका अतिआकर्षक हिरामोती गन्तव्य हुन्।

(लेखक सुरक्षा विश्लेषक हुन्)

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो