एनआरएनए महासचिवमा अमेरिकाबाट डा.पौडेलको उम्मेदवारी घोषणा

डिसी नेपाल
११ भदौ २०७८ १२:२४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय महासचिव पदका लागि अमेरिकामा बसोबास गर्दै आएका चिकित्सा क्षेत्रमा संलग्न डा.केशव पौडेलले उम्मेदवारी दिएका छन् । १०औँ महाधिवेशनमार्फत चुनिने एनआरएनए २०२१–२०२३ को कार्यकालका लागि उनले महासचिव पदमा उम्मेवारी घोषणा गरेका हुन् ।

नेपालको तनहुँमा जन्मिएर हुर्केका उनी अमेरिकामा चिकित्सा क्षेत्रमा अर्थात् अमेरिकाको एक अस्पतालमा राम्रो स्थान बनाएर बसेका छन् । अमेरिकाको न्युम्याक्सिकोमा रहेको लभलेज मेडिकल ग्रुपका निर्देशक बनेर चिकित्सा क्षेत्रमा जमेका डा.पौडेल सामाजिक अभियन्ता पनि हुन्।

एनआरएनए अमेरिकाको दुई कार्यकाल अध्यक्ष बनेका डा.पौडेलले एनआरएनए एनसीसीमा रहेर थुप्रै उदाहरणीय काम गरेका छन् । उनले आफ्नो कार्यकालमा सदस्यता संख्यालाई बढाएर अमेरिकी एनसीसीलाई विश्वकै सबैभन्दा ठूलो एनसीसी बनाएका थिए ।

त्यस्तै, नलेज सेयरिङ्ग कन्फ्रेन्सको आयोजना गर्ने तथा नेपालमा भूकम्प पीडितलाई घटनास्थलमै पुगेर प्रत्यक्ष सहयोग गर्ने र साह्रो गाह्रो पर्दा सहयोग गर्ने डेस्क स्थापना गर्ने चलन पनि उनकै पालामा सुरु भएको थियो, जसको श्रेय उनैलाई जान्छ ।

डा.पौडेलले अमेरिकामा आफ्नो एनसीसीको दुई कार्यकाल सफल भएको दाबी गर्दै अब आइसीसीमा गएर विश्वभरका एनआरएनएसँगसँगै मिलेर काम गर्ने उद्देश्य रहेको बताएका छन् ।

एनसीसीमा के के गर्नु भयो र आइसीसीमा निर्वाचित हुनु भएको खण्डमा के कस्ता प्रभावकारी काम गर्नु हुन्छ?, भन्ने डिसी नेपालका अर्जुन दाहालको प्रश्नमा डा.पौडेलले भने, ‘संसारभरि बसेका एनआरएनएहरुलाई कसरी एकतावद्ध बनाएर नेपाल र नेपालीहरुको लागि काम गर्न सकिन्छ । अर्थात् नेपाल र नेपालीहरुको साझा मुद्दा पत्ता लगाएर नेपाल र नेपालीको हितको लागि राम्रोसँग काम गरौं भन्ने नै हो ।’

उनले अगाडि थपे, ‘चुनाव आयो भने हामी(एनआरएनए सदस्य) विभाजित हुन्छौं तर संस्थापक कुराहरु आयो भने एकिकृत हुन सक्छौं । विदेशमा बस्ने नेपाली नागरिकहरुले गैरआवासीय नागरिकता बनाउने कुरा लगायतका प्रमुख मुद्दाहरुमा एनआरएनए एकीकृत भएको छ । र, म सधैं एकिकृत बनाउने र एकिकृत हुने कामलाई निरन्तरता दिन्छु ।’

डा.पौडेलका अनुसार उनले आफ्नो कार्यकालमा एनआरएनए अमेरिकाको सदस्य संख्यामा वृद्धि गर्नुका साथसाथै धेरै विकासका कार्यहरु भएका छन् । साथै, सदस्य संख्या वृद्धिसँगै एनआरएनए अमेरिकाको आर्थिक पाटो पनि दह्रो बनाएको उनले बताए ।

पौडेलले आगामी आइसीसी निर्वाचनमा महासचिवको लागि उम्मेदवार बनेको र निर्वाचित भएमा एनआरएनएका साझा मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने तथा नेपाल र नेपालीको लागि हितकारी कार्य गर्न प्रतिवद्धता डिसी नेपालका अर्जुन दाहालसँग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *