घरमुली कतारमा, गाउँमा पहिरोले परिवारै सखाप
सांकेतिक तस्वीर
काठमाडौं। पर्वतका विभिन्न स्थानमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या संख्या ६ पुगेको छ। कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये ३ जनाको शव भेटिएको छ भने २ जना अझै बेपत्ता छन्।
हिजाे राति सवा २ बजेतिर घरमाथिबाट गएको पहिरोले घर परिदा १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिल्या पौडेलको मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। शव भेटिएका विमला र विनिता दिदीबहिनी हुन् भने कौशिल्या उनीहरूको हजुरआमा हुन्।
कौशिल्याको बुहारी भगवती पौडेल र उनका छोरा विनोद बेपत्ता छन् । वडा नम्बर ३ का अडा अध्यक्ष यमशर्मा पौडेलले स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको जानकारी दिए।
शर्माका अनुसार ६ जनाको परिवारमा घरमुली रामप्रसाद भने वैदेशिक रोजगारीका शिलशिलामा कतारमा छन्। ‘राजप्रसाद विदेश गएको पनि ६ महिना पुगेको छैन, यता घरमा ठूलै बज्रपात आइलागेको छ,’ शर्माले भने, ‘गाउँमा निकै सहयोगी मान्छे थिए उनैमाथि यस्तो बज्रपात आइलाग्यो।’ घटनाले सिंगो गाउँनै शोकमा डुबेको उनले सुनाए।
शर्माका अनुसार गाउँकै माधव पौडेल सोही घरमा बस्दै आएका थिए । पहिराले उनी बसेको कोठामात्रै बचेको छ । उनैले होहल्ला गरेपछि गाउँलेले थाहा पाएको शर्माले बताए । गाउँमा अरू ३ घर पनि पहिराेकाे उच्च जाेखिममा रहेकाे शर्मा जानकारी दिए।
यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पनि पहिरोमा पुरिएर आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश रहेका छन्।
यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको पर्वत प्रहरीले जनाएको छ । उनी घरमा एक्लै सुतेको बेला पहिरो गएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment