कथा : न्याय नपाएका दाँत

डिसी नेपाल
१९ भदौ २०७८ ७:३९

जुठे र म एकै गाउँका सहपाठी भएता पनि हाम्रो प्राथमिक शिक्षा भने भिन्न विद्यालयमा भएको थियो। निम्न माध्यमिक र माध्यमिक शिक्षाका लागि भने गाउँमा एउटा मात्र विद्यालय भएकाले हामी एकै कक्षाका विद्यार्थी भयौं।

जुठे मभन्दा उमेरले केही पाको र धेरै कुरा बुझ्न सक्ने भएको थियो। त्यस समयमा देशभरि नै राजनीतिक सरगर्मी बढेको थियो। दिनहुँ धडपकड, हत्या, हिंसा, आदिका घटनाहरू समाचार बन्थे । यो कुराले हाम्रो गाउँ र विद्यालय पनि अछुतो थिएन।

विद्यालयमा हुनेखाने र मै हुँ भन्नेको पहुँच भएकाले माथिल्लो कक्षाका केही विद्यार्थीहरूलाई परिचालन गरेर अन्य विद्यार्थीमाथि थिचोमिचो भई नै रहन्थ्यो। प्रजातान्त्रिक विचार भएका विद्यार्थी यसका शिकार बन्थे। जुठे पनि यसबाट अछुतो रहेन।

विद्यालयमा पर्याप्तरूपमा भौतिक व्यवस्थापन नहुँदा विद्यालयले धेरै समस्याहरूको जन्जिरमा फस्नु पर्ने बाध्यता थियो। त्यसमध्ये एक प्रमुख समस्यका रूपमा रहेको थियो शौचालय । शौच गर्न विद्यालयका विद्यार्थीलगायत शिक्षक वर्गले समेत झाडी र कुना काप्चा खोज्दै जानु पर्ने बाध्यता थियो।

एक दिनको कुरो हो, खाजा खाने छुट्टीको समयमा जुठे शौच गर्नका लागि उपयुक्त ठाउँ खोज्दै विद्यालयभन्दा केही पर जंगलतिर जाँदै थियो। ऊ जंगलमा पुग्न नपाउँदै पाँचजनाको समुहले अगाडिबाट उसको बाटो छेक्दै मुहारमा पालै पालो मुक्का बजार्न थाले।

दुईजनाले बजारेपछि उसका अगाडिका दुईबटा दाँत खसे। जुठे ती दुई दाँत हातमा बोकेर गुहार गुहार! भन्दै जंगलतिर भाग्यो। केही तल सम्म ती आक्रमणकारीहरूले जुठेको पिछा गरे तर उसलाई भेट्न सकेनन्।

म भने प्रत्यक्षदर्शी भएर शिवालय मन्दिर पछाडिपट्टिबाट सम्पूर्ण दृश्य नियालिरहेकी थिएँ। म केही बोल्न सकिनँ। यत्तिकैमा घन्टी बज्यो म कक्षा कोठातर्फ लागें।

उता जुठेका पाठ्यपुस्तक धेरै दिन सम्म डेस्कमाथि बसेर जुठेलाई चियाइरहेका थिए। जुठे भने फेरि फर्केर त्यो कक्षामा कहिल्यै आएन। कक्षामात्र हैन उसको औपचारिक शिक्षाको ढोका नै सदा सदाका लागि बन्द भयो।

जुठे एक सामान्य परिवारको मान्छे् दुई चार फोक्टा जमिन र ढुगा माटोले बनेको यौटा सानु बुकुरोबाहेक अरू केही थिएन। जीविकोपार्जनका लागि ठूलै संघर्ष गर्नु पथ्र्यो।

शौच गर्न विद्यालयका विद्यार्थीलगायत शिक्षक वर्गले समेत झाडी र कुना काप्चा खोज्दै जानु पर्ने बाध्यता थियो।

उता उसलाई विद्यालय छोड्नुको पीडा त छदैथ्यो अब उसका लागि जीवनभर नमेटिने अर्को पीडा थपियो। आफ्ना अगाडिका दुई दाँत सदा सदाका लागि गुमाउनु पर्‍याे।

त्यस समयमा उसलाई राजनीतिक चेतना दिनेहरूको मिठा मिठा कुराले केही हदसम्म पीडामा मलम पट्टी लगाए पनि व्यवस्था फेरिएसँगै उनीहरूको व्यबहार परिबर्तन हुँदा जुठे एक निरिह व्यक्ति भएर बाँच्न बाध्य छ। उसका ती दाँत पारदर्शी शिशामा घरको एक कुनाबाट गिज्याएर बसिरहेका छन्।

खाउँखाउँ लाउँलाउँ भन्ने समय तथा आफ्नो भविष्यको मार्ग कोर्ने बेलामा राजनीतिमा होमियो जुठे। उसलाई राजनीतिक माहोलमा लैजान सक्षम ती नेताहरू राज्यका ठूलै तह र ओहोदासम्म पुगे तर उसको त्यो लगानीको कुनै मुल्य भएन। न त ती नेताले देखे । नत अरू कसैले । ऊ पहिला जहाँ थियो अहिले पनि त्यहीँ छ।

यो पच्चीस तीस वर्षको समयमा देशमा धेरै व्यवस्थाहरू परिवर्तन भए तर जुठेको मुहारको स्वरूप कहिल्यै परिवर्तन हुन सकेन। जुठे तिनै शिशाका दाँतहरू हेरेर चित्त बुझाउन बाध्य छ । केवल ! तिनै ‘न्याय नपाएका दाँत।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *