संस्मरण : त्यो रात

डिसी नेपाल
१९ भदौ २०७८ ७:५४

सायद त्यो रात औंसीको छेउछाउको हुनुपर्छ। उमेर नै सम्झँदा भने म त्यस्तै तीन चार वर्षको बालखा थिएँ। सायद स्कुल जाने पनि उमेर थिएन होला। रात ढिला भइसकेको थियो, झ्यालको छेउमै मेरो ओछ्यान लागेको थियो। एक्लै ओछ्यानमा लडीबुढी गर्दै झ्यालबाट आँगनतिर आँखा दौडाइरहेको थिएँ।

त्यो भुईँमा लगाइएको ओछ्यान मलाई असाध्यै प्यारो थियो। मसँग मेरी आमा, बा, दाइ दिदी सम्झनाको नाममा त्यही एक्लो ओछ्यानमात्रै थियो। २०३७ सालमा पञ्चायती तानासाही सरकारले बुबाको हत्या गरेपछि, घर बारी, आफ्नो प्यारो गाउँ ठाउँ छोडेर हिँड्दा आमाले आफ्ने साथमा हामी चार छोराछोरी र यो ओछ्यान सँगै लिएर हिँड्नुभएको हुनुपर्छ।

आमा भूमिगत हुनुअगाडि त्यो ओछ्यान म बस्ने घरमै छोड्नु भयो। त्यो समयमा हामी चार छोराछोरी र आमा सँगै बस्न पाउँदैनथ्यौं। आमाको नाम थरमात्र फेरिएको थिएन, हाम्रो पनि नामसँग अर्कै थर लेखिएको थियो। आमा दाइ, दिदी सबै मभन्दा धेरै–धेरै टाढा जनताका घरमा हुर्कँदै थिए भने म पनि पार्टीका भरपर्दा कार्यकर्ता सूर्य सरस्वती अधिकारी (मामा/माइजु) को मा हुर्कँदै थिएँ।

जब म अलि बुझ्ने भएँ आमाको सम्झना मेट्न मलाई त्यो ओछ्यानमा एक्लै सुत्न मन लाग्थ्यो। मैले, मलाई हुर्काउँदै गर्नुहुने मेरो मामा, माइजुलाई बिन्ती गरें म एक्लै त्यही ओछ्यानमा सुत्छु भनेर। मेरो विन्ती विस्तारै जिद्दी भयो, अनि एकदिन मैले जितें। त्यो जितपछिका हरेक रात म एक्लै त्यो माझको कोठामा बिछ्याइएको त्यो मेरो प्यारो ओछ्यानमा रात बिताउँथें त्यो बेला हाम्रो त्यो ढुंगाको घर मलाई साह्रै ठूलो लाग्थ्यो।

एकपल्ट त हाम्रो एउटा सानो बेलायती जातको भन्ने सेतो कुकुर थियो। उसलाई बाघले घरभित्रैबाट लगेर हाम्रै पिँढीमै बसेर खाएर सकेको पनि थियो। अनि कतिचोटि त मैले बाघलाई हाम्रै आँगनमा लमतन्न परेर सुतेको पनि देखेको थिएँ।

घर नयाँ थियो। सामानहरु पुरै जोडिसकेको नभएर होला घर खाली खाली थियो। हामी पहिला पोखरा बजारमै थियौं भाडाको कोठामा। मामा माइजुको त्यो सानो कोठामा म थपिएकी थिएँ। अनि त्यसपछि बहिनी जन्मिन्। मामा माइजुलाई ब्यबहार मिलाउन धौं धौं भयो अनि हामी मामाको पुर्खौली गाउँ बेगनास फर्कियौं।

म सुत्ने कोठाको एका छेउमा मामा, माइजु, बहिनी र सानो भाइ सुत्नु हुन्थ्यो। त्यो कोठामा जान बाहिरबाट नै भर्‍याङ बनाइएको थियो। मेरो कोठाको संगै रहेको अर्को कोठा र मेरो सुत्ने कोठामा भने भान्छा कोठावाट भर्‍याङ चढ्नु पथ्र्यो। ढुंगाको भर्‍याङ फराकिलो थियो।

अनि अर्को छेउको त्यो कोठामा छिर्ने ढोका भने मेरो कोठाबाट नै थियो। त्यो छेउको कोठा भने धेरैजसो खाली खाली नै हुन्थ्यो। म सुत्ने कोठा भान्छाको ठ्याक्कै माथि भएर होला आगोको धुवाले कहिलेकाही त सुत्ने बेलामा साह्रै आँखा पोल्थ्यो पनि।

अहो, मैले हुर्किएको त्यो घरलाई सम्झँदा सम्झँदै त्यो दिनको कुरा नै पो सुनाउन बिर्सेछु। हो म भन्दै थिए नि, तीन, चार वर्षको बालखा मलाई त्यो दिन किन निद्रा परेन होला भनेर। खै किन सुत्न सकिनँ। हाम्रो घरको वरपर खुब हरियाली थियो। झ्यालबाट आँगन हुदै तगारोसम्म म हेर्थे अनि आमा एउटा झोला बोकेर म भएको ठाउँतिर आउदै गरेको कल्पना गर्थें।

फेरि झ्यालबाट बाहिर हेर्दै वरिपरिका रुख विरुवामा बिभिन्न आकृति बनाउँदै मनलाई अर्कै कल्पनामा हराउन खोज्थे तर निन्द्रा पटक्कै थिएन। यसरी म अबेरसम्म पनि सुतेको थिइनँ। रात लम्बिदै जाँदा मलाई पिसाबले पनि खुब च्यापिरहेको थियो।

चर्पी घर नजिकै थियो तर घर बाहिर एक्लै जान मलाई खुब डर लाग्थ्यो। फेरि त्यो ठाउँमा राति चितुवा र बाघको पनि धेरै डर थियो। एकपल्ट त हाम्रो एउटा सानो बेलायती जातको भन्ने सेतो कुकुर थियो।

उसलाई बाघले घरभित्रैबाट लगेर हाम्रै पिँढीमै बसेर खाएर सकेको पनि थियो। अनि कतिचोटि त मैले बाघलाई हाम्रै आँगनमा लमतन्न परेर सुतेको पनि देखेको थिएँ। खै किन हो त्यो दिन मलाई मामा माइजुलाई निन्द्राबाट बिउझाएर चर्पी जान्छु भन्ने आँटै आएन। अनि म यसै यसै आमालाई सम्झिदै सानो स्वरमा खुब रोएँ। एकातिर पिसाबले च्यापेको छ, अर्कोतिर आमाको काखको सम्झना खहरे खोलाभन्दा तिब्र गतिमा बढेको बढै छ।

कठै बालखा न हो, रुँदारुदै कति बेला निदाएछु मैलाई पत्तै भएन। बिहान ब्युझिँदा त मैले आफैंलाई पानीको ठूलो आहाल भित्र सुतेको पो पाएछु। हत्त न पत्त उठें, यो के भयो भनेर ठम्याउन मलाई सायद केही मिनेट पनि लाग्यो होला। लगाएको लुगा पनि सबै भिजेको थियो।

त्यो पीर र सँगसँगैको डरले म त्यो विहान खुबै रोएँ। घाटी सुक्ने गरी रोएँ, आशु रित्ताउने गरी रोएँ, त्यो भुईलाई आमाको काख सम्झेर लडीबुडी गर्दै रोएँ तर अहँ आवाज पटक्कै आएन तर आँशु भने पटक्कै रोकिएन।

त्यसपछि म एकाएक रुन थालेँ। आँशु त अविरल धाराजस्तै लगातार बगिरहेको थियो, आवाज भने मेरो पटक्कै आएन। अनि केही क्षणपछि बल्ल थाहा पाएँ, मैले राति निन्द्रामा पिसाब फेरेंछु भनेर। अँ, हो त्यो कसरी भयो होला भनेर मलाई खुबै डर लाग्यो।

मैले मेरो प्यारो त्यो ओछ्यानलाई पिसाब नै पिसाब बनाइदिएकोमा पछुतो लाग्यो। ओछ्यानमा पिसाब फेरेको सजाय के पाइएला भनेर खुबै डर पनि लाग्यो तर त्योभन्दा धेरै पीर मलाई मेरो परिवारको नासो बिटुल्याएकोमा पर्‍याे। त्यो पीर र सँगसँगैको डरले म त्यो विहान खुबै रोएँ।

घाटी सुक्ने गरी रोएँ, आशु रित्ताउने गरी रोएँ, त्यो भुईलाई आमाको काख सम्झेर लडीबुडी गर्दै रोएँ तर अहँ आवाज पटक्कै आएन तर आँशु भने पटक्कै रोकिएन। केटाकेटी बुद्धि भनौ या के मैले मेरो गल्तीलाई लुकाउन ओछ्यान लाई सकी नसकी तान्दै त्यो छेउको खाली कोठामा पुर्याएँ र व्यवारिसे बनाएर छोडें, ऊ भिजेको दुःखमा म आफै आँशुबाट भिज्दै रोएँ।

केही दिन मेरो प्यारो ओछ्यानलाई तेतै छोडिदिएँ तर आफूले भने नभिजेको राडीलाई ओछ्याउन थाले। मामा माइजुको त्यो कोठामा आइरहने खासै काम नपर्ने हुँदा उहाँहरुले मेरो त्यो ओछ्यानमा पिसाब फेरेको कुराको कतैबाट पनि चाल पाउनु भएन। मैले पनि बिस्तारै मेरो त्यो कालो रात, जुन रात म धेरै रोएको थिएँ, डराएको पनि उत्तिनै थिएँ त्यसलाई आफै बिर्सँदै गएँ।

तर आज एकाएक त्यो रात अनि मेरी आमाले छोडेको नासो मेरो प्यारो त्यो बिछ्याउनाको याद उर्लिएको छ। यत्तिका बर्षपछि तीज आउँदै गर्दा रातभर आमा खोजेर रोएको मेरो बालापनको त्यो रातको याद फेरि खहरे खोलाजस्तै गढगढाएर आएको छ।

फेरि आज पनि परदेशमा आमा र बिछ्याउनाको न्यानो खोजेर म यो सम्झना लेखिरहेकी छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *