मलेसियाबाट शनिबार एकैपटक २० नेपालीको शव ल्याइयो

डिसी नेपाल
२० भदौ २०७८ १५:०७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट २० नेपालीको शव र अस्तुु एकै पटक आइपुगेको छ । वैदेशिक रोजगारीको सिलसिलमा मलेसियामा विभिन्न कारणले मृत्यु भएका आठ जनाको शव र १२ जनाको अस्तु शनिबार नेपाल ल्याइएको हो ।

नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ । बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको छ ।

बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीका अनुसार कोभिडका कारण मृत्यु हुनेको अस्तुु मात्रै ल्याइएको छ भने अन्य कारणले मृत्यु भएका श्रमिकको शव ल्याइएको हो । विमानस्थलमा आइपुगेका आठवटा शवमध्ये एक शव बौद्ध धर्म मान्ने भएकाले काठमाडौँको बौद्धमा पुर्याइएको थियो भने सातवटा शव शनिबार नै मृतकको घरसम्म पठाइएको थियो । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका नेपालीहरुको शव बोर्डले निःशुल्क घरसम्म पुर्याउँदै आएको छ ।

शवसँगै आएका अस्तुु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर बुझ्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । मलेसियामा उडान भर्ने अन्य एयरलाइन्सले शव नल्याउने र नेपाल एयरलाइन्सको वाइडबडी नियमित रूपमा मलेसिया नजाने भएकाले नेपालीको शव लामो समयसम्म मलेसियामै रहने गरेको छ ।

मलेसियास्थित नेपाली दूतावासको तथ्यांकअनुसार गएको महिना अगस्टमा मात्रै मलेसियामा १ सय १२ जना नेपालीको मृत्यु भएको छ । त्यसमध्ये ९६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो भने हृदयाघात, सवारी दुर्घटना, अत्याधिक मदिरा सेवन, शरीरमा जटिल रोगले १६ जना नेपालीको मृत्यु भएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *