हारपछि प्रशिक्षक अब्दुल्लाहकाे प्रतिक्रिया- खेल सुधार्ने प्रयासमा छाैँ
काठमाडौं। भारतसँग अन्तिम खेलमा पराजित भए पनि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीको प्रदर्शनबाट आफू खुसी भएको बताएका छन् ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको थियो । पराजित बाबजुद प्रशिक्षक अब्दुल्लाहले खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिएका हुन्।
‘हामीले राम्रो खेल्यौं। कन्ट्रोल गर्याे, रिसिभ राम्रो गर्याे। हाम्रो मौका थियो। मौकाको सदूपयोग गर्न सकेनौं। तर टोलीप्रति म खुसी छु, गौरवान्वित छु,’ खेलपछि पोष्ट म्याचमा प्रशिक्षक अब्दुल्लाहले भने।
पहिलो हाफ भारतले नेपाललाई दबाब दिने प्रयास गरे पनि नेपाली डिफेन्स लाइनले त्यसलाई सहजै नियन्त्रणमा लियो। दोस्रो हाफमा भने भारतले लगातार दुई गोल गरेकाे थियाे।
दोस्रो हाफमा मैदान प्रवेश गरेका पारुख चौधरीले खेलको ६२औँ मिनेटमा ‘डि बक्स’भित्र बल नियन्त्रणमा लिँदै सहजै गोल गरे। खेलको ८१औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई २-० गोल अन्तरको अग्रता दिलाए । उनले मैदानबीच भागमा प्राप्त बललाई अगाडि बढाउँदै गोलरक्षक किरणलाई विट गर्दै सहज गोल गरे।
नेपालका लागि खेल सकिन तीन मिनेट बाकी हुँदा मिडफिल्डर तेज तामाङले गोल गरे । उनले ‘डि बक्स’ बाहिरबाट गोल गर्दै सिनियर टोलीमा गोलको खाता खोले । यसअघि गत शुक्रबारकाे पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा समाप्त भएको थियो।
प्रशिक्षक अब्दुल्लाहले भारतविरुद्ध खेल्न खेलाडीलाई हौसला प्रदान गरेको र खेलाडीले सोही अनुसार खेलेको बताउँदै आगामी साफका लागि कतारमा तयारी पूरा गर्ने बताए।
‘भारतविरुद्ध खेलाडीलाई खुलेर खेल्न बताएको थिए । योजना अनुसार पहिलो हाफमा भारतलाई रोक्न सफल भयौं । फिनिसिङमा समस्या छ। हामी सुधार्ने प्रयास गर्नेछौं । कतार प्रशिक्षण राम्रो हुनेछ,’ प्रशिक्षक अब्दुल्लाहले भने ।
भारतीय प्रशिक्षक इगोर स्टिम्याकले पहिलो खेलको तुलनामा दोस्रो खेलमा आफ्नो खेलाडीले राम्रो खेलेको बताए। ‘खेल राम्रो भयो । सबैले रमाइलो गरे । पहिलो खेलको तुलनामा दोस्रो खेल राम्रो भयो। पिच राम्रो भएर पनि खेल राम्रो भएको हुनसक्छ । हुनुपर्ने जति राम्रो थिएन । तर अगाडिको भन्दा राम्रो थियो,’ क्रोयशियन नागरिक इगोरले भने।
दुई मैत्रीपूर्ण खेलसँगै नेपाली टिम साफ च्याम्पियनसिपको तयारी लागि कतार भ्रमणमा निस्कनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment