राजदरबारमा तीजको दर – Dcnepal

राजदरबारमा तीजको दर

दरबारलाई सबैको सरल पहुँच नहुने हुनाले होला सायद त्यहाँ के के न हुन्छ, हुन्थ्यो भन्ने कल्पना हुँदो हो सायद्। मैले केही समय नारायणहिटी राजदरबारमा केही समय सेवा गर्ने मौका पाएकोले दरबारभित्र कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन के गरिन्थ्यो?

त्यससँगै आउने तीजमा के हुन्थ्यो भन्ने बुझ्ने मौका पाएको र धार्मिक सांस्कृतिक कार्यहरुमा ब्राम्हण पण्डितको हैसियतले सहभागीसमेत हुन पाएकोले स्मरणका रुपमा केही कुराहरु लेख्न चाहन्छु।

बाहिर हल्ला भएजस्तै दरबार कुनै अचम्मको पोको थिएन तर आफ्नो सनातनी धर्म संस्कृतिका विषयमा सबै कर्म चलेका सदस्यहरुको सो सनातनी परम्पराप्रतिको सम्मान भने अवश्य उदाहरणीय हुन्थ्यो नै।

अहिले कथित आधुनिकताका नाममा अनेकौं जथाभावी गरेको देख्दा राजदरबारभित्र राजा र राजपरिवारले नेपालको सनातन परम्परालाई जगेर्ना गर्न योगदान दिएको छर्लंग हुन्छ।

नित्य औशी श्राद्ध हरेक महिनामा आउने औशीमा भइ नै रहन्थ्यो तर विशेष गरी वैशाख कृष्ण औंशी, मातातीर्थ औंशी आमाको मुख हेर्ने दिन र भाद्रकृष्ण औशी बुबाको मूख हेर्ने दिन विशेषरुपमै मनाइन्थ्यो। यी पर्वमा एक भाग सिदा श्री ५ राजहोइवक्सेको ठाउ श्रीसदन र निर्मल निवासमा बिहानै बाहुलीस्पर्श गर्न लगिन्थ्यो।

दरवारभित्रै रहेका नानी बज्यैहरूलाई तलबको सुरू स्केलको ३ भागको एक भाग दिने चलन थियो।

श्री ५ ले सिदा छोइसकिवक्सेपछि पूजाकोठाका डोलेले सो सामग्रीलाई मूल पूरोहितको घरमा पुर्‍याइदिन्थे। भोलिपल्ट प्रतिपदाको दिनमा शाही नातेदार चेलीवेटी, भाञ्जी बुहारीसमेतलाई खर्च विभाग राजदरवारबाट दर पुर्‍याउन कर्मचारीहरू जान्थे।

तर दर आज जे देखिन्छ नि त्यो कदापि थिएन। अहिले त दर पुर्याउने नाममा सम्पत्तिको होडबाजी नै देखिन्छ। चाडबाड मनाउने भन्दा पनि धनको तुजुक देखाएर बडप्पन देखाउने चलनले बास्तविक चाडको महत्वलाई चुनौती दिएको झैं लाग्छ ।

राजदरबार चाडलाई मर्यादित बनाउने र वास्तविक सनातन संस्कृतिको रक्षा गर्नेतर्फ केन्द्रीत थियो, पैसाको होडबाजी चलाउने र अपसंस्कृति चलाउनेहरुले यो कुरा बुझ्नु जरुरी छ। राजदरबारबाट दर कति पठाउने भन्ने तोकिएको हुन्थ्यो ।

अधिकतम १०१ देखि न्यूनतम ११ रुपैयाँसम्ममात्र तोकिएको दर ससम्मान घर घरमा पुर्‍याइन्थ्यो। फेरि दरवारमा राज होइवक्स्सेका श्री ५ बडामहारानी लगायत सबै महिला सरकारहरुमा पनि बागदरवार र केन्द्र निवासबाट केही दरहरू आउथ्यो र दरवारभित्रै रहेका नानी बज्यैहरूलाई तलबको सुरू स्केलको ३ भागको एक भाग दिने चलन थियो।

तत्कालीन कानुनी व्यवस्थामा दरवारमा चाहिने सामान विदेशवाट मगउँदा राजस्व नलाग्ने व्यवस्था थियो तर पनि रेष्टुरा पाटिप्यालेस वा होटेलमा गएर तीजको दर खाने कार्यक्रम सम्म पनि गर्न दरबारले चाहेन, गरेको देखिएन। ब्रतको अगिल्लो दिन वा शुद्ध हविष्य खानुपर्नेमा कताको मांस र मदिराजन्य पदार्थका साथ दर खाने हो र?

आजकाल मासु रक्सीसहितको दर खाइरहेको देख्दा मलाई कताकता आधुनिक संसार नबुझेको जस्तो पो लाग्छ आफैंले अहिले त। हो, दरवारमा पनि मासुजन्य पदार्थ चल्थ्यो। तर, दर खाने दिनभन्दा पहिले नै। कुनै दिन कहिले पनि ब्रत पूजाको अगिल्लो दिन, एकादशी, औशी, कृष्णष्टमी, शिवरात्रि अन्य यस्तै ब्रतमा मासु मदिरा हुँदैन थियो। खाने चलन थिएन र छैन पनि।

सनातन शास्त्रीय परम्पराको अनुसरण गर्ने र त्यसको रक्षा गर्ने राजसंस्था अहिले नेपालमा छैन, हटाइएको छ तर राजसंस्था हटेपछि प्रकट भएका अनेकौं छोटे राजाहरु र तिनका कार्यकर्ताहरुले सनातन परम्पराको खिल्ली उडाइरहेका छन्।

हरेक पार्टीका कार्यकर्तालाई आज नेता कार्यकर्ताले खाने दरमा लार्खौ लाखको खर्च, गणतन्त्रयता हरेक शिव मन्दिर, विष्णु मन्दिर वरिपरि निर्वाध चलाइएका मासु र मदिराका व्यापारले सनातन परम्परालाई चुनौति दिइनै रहेका छन्।

तीजको महत्वपूर्णमध्येको एक दिन अर्थात् ऋषि पञ्चमीका दिन राजदरबारका सबै महिला सदस्यहरु जो मासिक रज धर्म वा उमेर पुगेका होइबक्सन्थ्यो उहाँहरु सबैले एउटै नियम पालना गर्नु पर्दथ्यो। उहाँहरुले दतिवन, माटो, गोवर र कुशले स्नान गरिबक्स्न्थ्यो।

अर्थात् राजदरबारका बडामहारानीदेखि महिला कर्मचारीसम्मलाई एउटै नियम थियो। त्यस्तै एकै ठाउबाट आएको दतिवन अन्य दरवारभित्र रहेका महिला कर्मचारीलाई पनि उही उस्तै गरी दिइएको हुन्थ्यो र सबैले एउटै नियम पालन गरेर पञ्चमी स्नान गर्नु पथ्र्यो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो