एमसीसीका उपाध्यक्ष र नायब उपाध्यक्ष भोलि नेपाल आउँदै

डिसी नेपाल
२३ भदौ २०७८ २१:५४

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउँदैछन् ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनीहरु नेपाल आउन लागेको हुन् । नेपाल भ्रमणमा रहँदा उनीहरुले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ । उनीहरुले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्नेछन् ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । राजनीतिक खिचातानिका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौतामा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ।

सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *