आईके गुजरालसँग ४५ मिनेट – Dcnepal

आईके गुजरालसँग ४५ मिनेट

संयुक्त राष्ट्रसङ्घको ६०औं वार्षिकोत्सवमा एउटा अतिथिका रुपमा मैले पनि सहभागिता जनाइरहेको थिएँ– पश्चिम बङ्गाल विधानसभाको सभाकक्षमा। दिन थियो– २४ अक्टोबर २००५ ।

पश्चिम बङ्गाल फेडेरेसन अफ यूएन एसोसिएसनको संयुक्त तत्वावधानमा कार्यक्रम भइरहेको थियो। मुख्य वक्ता हुनुहुन्थ्यो– विधानसभाका सभामुख हसिम अब्दुल हलिम। २००५ मा भएको कमन वेल्थ कन्ट्रिजको पार्लियामेन्ट एसोसिएसनको निर्वाचनमा उहाँ अध्यक्षसमेत हुनुभएको थियो।

उहाँले संयुक्त राष्ट्रसङ्घका बारेमा भन्नुभयो– ‘यूएनले आफ्नोे काम राम्रोसँग गर्न सकेको छैन। ४० वर्षको उमेर पुग्दा नपुग्दै यसलाई दीर्घरोगले गाँजेको छ। अमेरिकाले जे भन्छ, यूएनले त्यही गर्छ। त्यही भएर यसको कामको प्रभावकारिता नदेखिएको हो।’

आफ्नोे अनुभव सुनाउँदै उहाँले भन्नुभयो– ‘संसद्सम्बन्धी एउटा बैठकमा भाग लिनका लागि म दक्षिण अफ्रिका गएको थिएँ। राष्ट्रपति हुनुहुन्थ्यो– एफडब्लूडी क्लार्क। बैठकमा डी क्लार्कले भन्नुभयो– दक्षिण अफ्रिकामा शासन गर्नका लागि हामी गोराहरुलाई भगवान्ले पठाउनुभएको हो। म यो बैठकमा आउने थिइनँ। तर, पाहुनाहरु आउनुभएको छ भनेर मात्र यहाँ आएको हुँ।’

राष्ट्रपतिजस्तो ओहोदाका व्यक्तिले यसरी हेपेर कुरा गरेको आफूलाई मन नपरेको हसिम अब्दुल हलिमले यसरी सुनाउनुभयो– ‘रिस उठ्यो। तर, रिस उठेको देखाउनु पनि उचित थिएन। केही भन्नै प¥यो भन्ने ठानेर जुरूक्क उठेँ र भनेँ– महामहिम! तपाईंलाई थाहा हुनुपर्ने हो जेसस क्राइस्ट गोरा जातिको हुनुहुन्थेन। उहाँ अफ्रिकामा जन्मिनुभएको पनि होइन । उहाँले गोरा र काला जातिका बीचमा विभेद गर कहिल्यै भन्नुभएन।’

हलिमले अगाडि सुनाउनु भयो– ‘मैले यति भनेपछि राष्ट्रपति क्लार्कको अनुहार रातो भयो । केही बोल्नुभएन। जुरmक्क उठेर अमर्यादित तरिकाले हिँड्नुभयो। यस्तो रङ्गभेदी सरकारको सन्दर्भमा यूएनले कहिल्यै केही कदम चाल्न सकेन।’

त्यो सभामा पश्चिम बङ्गालका मन्त्री, विधानसभा सदस्य, प्राज्ञ र प्रतिष्ठित व्यक्तिहरुको राम्रो जमघट थियो। बेलारूसका अवैतनिक वाणिज्य दूत सीताराम शर्मासँग संयुक्त राष्ट्रसङ्घसम्बन्धी विभिन्न विषयमा मेरो कुराकानी भयो। उहाँ मेरो मित्र। विभिन्न समयमा समसामयिक मुद्दाउपर हाम्रो छलफल हुन्थ्यो।

संयुक्त राष्ट्रसङ्घको विषयउपर कुरा गर्दै जाँदा भारतका पूर्वप्रधानमन्त्री आईके गुजरालबारे प्रसँग उठ्यो।

मैले भनेँ– ‘उहाँ ज्यादै विद्वान् र परिपक्व नेता हुनुहुन्छ। उहाँसँग कुरा गर्न पाए धेरै कुरा सिकिन्छ।’

‘के तपाईं उहाँलाई भेट्न इच्छुक हुनुहुन्छ?’

‘किन नहुनु? विद्वान्हरुसँग भेट्न मलाई ज्यादै मन पर्छ।’

‘त्यसो हो भने मैले एउटा कार्यक्रममा उहाँलाई आमन्त्रण गरेको छु । तपाईं आउनँस् है?’
‘हुन्छ’– मैले सहर्ष स्वीकार गरेँ।
– – –

२०६३ जेठ १० गते सीताराम शर्माको फोन आयो– ‘पर्सि एउटा कार्यक्रम छ । पूर्वप्रधानमन्त्री आईके गुजराल प्रमुख अतिथिका रुपमा आउँदै हुनुहुन्छ। निम्ता पठाइसकेको छु। आउनुहोला। ज्यादै सीमित मानिसलाई मात्र बोलाएको छु।’

म समयमै पुगेँ। एउटा कोठामा १२–१३ जना थियौं। सबै जना जम्मा भइसकेपछि सीताराम शर्माले आईके गुजराललाई अर्काे कोठाबाट लिएर आउनुभयो।

सीताराम शर्माले सबैको परिचय गराउनुभयो। मबाहेक सबै कोलकाता निवासी। नेपालको महावाणिज्य दूतको नामबाट मेरो परिचय गराइएपछि उहाँले ‘नेपालको खबर के छ ?’ भनेर चासो राख्नुभयो।

सामान्य रुपमा मैले– ‘ठीकै छ। शान्तिपूर्ण रुपमा राजनीतिले आफ्नोे बाटो लिँदैछ।’ लामो कुरा गर्ने समय थिएन। करिब एक घन्टाको छलफलपछि उहाँ जान लाग्नुभयो। छलफलको विषय राजनीतिक थिएन। कोलकाताको व्यापार व्यवसायसँग सम्बन्धित थियो।

सीताराम शर्माले आईके गुजराललाई भन्नुभयो– ‘नेपालका कन्सुल जनरलले तपाईंसँग भेटेर कुरा गर्न चाहनुहुन्छ। तपाईंसँग समय होला?’
‘अहिले त मलाई दिल्ली फर्कनु छ। अर्कोपटक दिल्ली वा कोलकाता जहाँ उपयुक्त हुन्छ, भेटौंला’-मलाई हेर्दै नम्रतापूर्वक जवाफ दिनुभयो।
दुवैले हात मिलायौं। अनि, उहाँ नमस्कार गर्दै बाहिरिनु भयो।
– – –

नेपाल र भारतका भन्सार महानिर्देशकहरुको बीचमा भन्सारसम्बन्धी दुई देशीय बैठक २६ र २७ भदौ २०६३ मा नयाँ दिल्लीमा हुने खबर आयो काठमाडौंबाट। उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको सदस्यका रुपमा मलाई सहभागी बनाइएको खबर पनि आयो। यस हिसाबले कार्यक्रम सुरू हुने दिनभन्दा एक दिनअगावै नयाँ दिल्ली पुग्नुपर्ने भयो।

मैले सीताराम शर्मालाई फोन गरेँ।

‘मलाई दिल्ली जानुछ, सरकारी काममा। त्यहाँ गएका बेला भूपू प्रधानमन्त्री आईके गुजरालसँग भेट्न पाए राम्रो हुन्थ्यो। समय मिलाउन सक्नुहुन्छ?’

‘किन नसक्नु? मैले कुरा गरेर तपाईंलाई खबर गर्छु–’ उहाँले भन्नुभयो।

मैले सीताराम शर्मालाई फोन गरेको भोलिपल्टै आईके गुजरालका स्वकीय सचिव बालकृष्ण मङ्गुनले उहाँलाई इमेल पठाउनु भएछ।

‘माननीय भूपू प्रधानमन्त्री गुजरालले नेपालका महावाणिज्य दूत डा. गोविन्दप्रसाद कुसुमलाई भेट्छु भन्नु भएको छ। उहाँलाई १३ सेप्टेम्बर (२८ भदौ)का दिन साँझ ६ बजे उपयुक्त हुन्छ, हुँदैन? खबर पाऊँ।’

सीताराम शर्माले मलाई फोनबाट सबै कुरा बताउनु भयो र इमेल फरवार्ड गर्नुभयो।

मैले सोधेँ– ‘सम्पर्क नम्बर दिनुहुन्छ कि?’

स्वकीय सचिवको नम्बर मलाई पठाइदिनुभयो।

केही दिनपछि, म नयाँ दिल्ली गएँ बैठकमा भाग लिनका लागि।

२८ भदौमा भूपू प्रधानमन्त्री गुजरालका स्वकीय सचिवलाई फोन गरेँ र मेरा एकजना मित्रसहित साँझ ६ बजे उहाँको निवासस्थलमा आइपुग्छु भनेर खबर गरेँ।

मैले साल्ट ट्रेडिङ कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत परमेश्वर महासेठलाई सँगै जाउँ भनेर अनुरोध गरेको थिएँ। उहाँलाई पनि भारतका भूपू प्रधानमन्त्रीसँग भेटेर कुरा गर्ने इच्छा थियो। त्यतिखेर उहाँ पनि काम विशेषले दिल्ली आउनुभएको थियो।

भूपू प्रधानमन्त्रीसँग भेटेर के कुरा गर्ने भन्नेबारेमा एउटा खेस्रामा बुँदागत टिपोट बनाएँ र ती टिपोटलाई मनमा राखेँ।
नयाँ दिल्लीको ट्राफिक जामले समयमा नपुर्‍याउला भन्ने आशङ्काले अलि चाँडै हिँडियो गन्तव्यतर्फ।

समयभन्दा १० मिनेटअगाडि पुगियो। तर, १० मिनेटसम्म बाहिरतिर सडकमै गाडीभित्र बसी रह्यौं, ताकि ठीक ६ बजे ढोकाको घन्टी बजाउन पुगियोस्।

आफूभन्दा अग्रज र मान्यजनकहाँ भेट्नु छ भने ठीक समयमा पुग्नुपर्छ– अगाडि पनि होइन, पछाडि पनि होइन। ‘पङ्कच्युयल’ भनेको दिइएको समयभन्दा अगाडि पुग्नुलाई भनिँदैन। ठीक समयमा पुग्नु नै पङ्कच्युयालिटी हो। यसबाट समयको महत्व बुझेको मानिन्छ भनेर सरकारी सेवामा प्रवेश गरेपछिको तालिममा मलाई पढाइएको थियो। आजपर्यन्त यही बानी बसेको छ।

पङ्कच्युयालिटीबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि मैले सिकेको छु। समयको पालनामा सचेत हुनुपर्छ भन्ने कुरा उहाँको समय पालनाले मलाई सिकाएको छ।

म उहाँको निजी सचिव हुँदा समयभित्र जहाँ पनि पुग्ने र आफूले दिएको समयभित्र नआउनेहरुप्रति आफ्नोे असन्तुष्टि घुमाएर देखाउने उहाँको बानीसँग म सचेत थिएँ।

६ बज्न दुई मिनेट बाँकी थियो। गेटमा रहेको घन्टी दबाएँ– टिनिन्न।

एक सुरक्षाकर्मी गेट खोल्न आए। उनलाई थाहा थियो, म आउँदै छु भनेर।

‘नेपालको महावाणिज्य दूत हो तपाईं ?’– उनले प्रश्न सोधे।
‘हो ।’

यति भनिसकेपछि म गेटभित्र छिरेँ, कारसहितै। हामीले प्रयोग गरेको कार ट्याक्सी थिएन। व्यक्तिगत थियो– एउटा भारतीय मित्रको। सुरक्षाकर्मीले हामी चढेको गाडीलाई आँगनमा पार्क गर्न लगाए।

कारबाट ओर्लन मात्रै के लागेका थियौं, स्वकीय सचिव बालकृष्ण आइपुग्नु भयो र हामीसँग हात मिलाउँदै आफ्नोे परिचय दिनुभयो। मैले आफ्नोे परिचय दिएँ र साथै परमेश्वर महासेठको पनि परिचय गराएँ। स्वकीय सचिव बालकृष्णले हामीलाई बैठक कोठामा लग्नुभयो।

१२ बाई १५ फिटको बैठक कोठा होला। तीनतिर दराज, दराजभरि किताब। पढौं पढौं लाग्ने माहौल। चारैतिर आँखा लगाएँ। साधारण कोठा। भूतपूर्व प्रधानमन्त्री बस्ने घर र कोठा कति सामान्य! न कुनै तडकभडक, न कुनै देखावटी सजावट। न त महँगा फर्निचर, न लाखौं पर्ने कार्पेट।

एउटा मध्यमवर्गीय व्यक्ति जसरी बस्छ, त्यस्तै अवस्थाको बैठक। दराजमा उहाँका केही फोटो सजाइएका थिए। बस्। सुरक्षाका नाममा दुई जना सुरक्षाकर्मी हतियारसहित ड्युटीमा थिए। नेपालमा जस्तो एकजना भूपू प्रधानमन्त्रीको घरमा दर्जनभन्दा बढी सुरक्षाकर्मी तैनाथ भएको देखिएन त्यहाँ।

यसको मतलव भारतका भूपू प्रधानमन्त्रीलाई भन्दा नेपालका भूपू प्रधानमन्त्रीलाई ‘थ्रेट’ बढी रहेछ भन्ने अर्थ लगाउनु प¥यो।
बैठक कोठामा बसेको दुई–तीन मिनेट मात्र भएको थियो– भूपू प्रधानमन्त्री आईके गुजराल भित्र छिर्नुभयो। हामी दुवै जनाले उठेर नमस्कार
गर्‍यौँ।

हाम्रो छेउमै आएर नमस्कार फर्काउँदै हात मिलाउनुभयो। सेतो कुर्ता–सुरmवालमा रहनुभएका उहाँ त्यो उमेरमा पनि फुर्तिलो देखिनुहुन्थ्यो। उहाँ सायद त्यतिखेर ८५ वर्षको उमेरभन्दा माथि नै हुनुहुन्थ्यो। तर, लाग्थ्यो उहाँभित्रको ऊर्जा चम्किरहेको छ।

उहाँले जसरी मसँग हात मिलाउनु भयो, मलाई लाग्यो– उहाँमा भएको शालीनता र आत्मीयताको सम्मिश्रणबाट एक प्रकारको ऊर्जा बाहिर निस्किँदैछ।

आफ्नोे युवा अवस्थामा कुनै बेला उहाँ अखिल भारत विद्यार्थी फेडेरेसन र भारतीय कम्युनिस्ट पार्टीसँग आबद्ध हुनुहुन्थ्यो भनेर मैले सुनेको थिएँ।
कुर्सीतर्फ देखाउँदै उहाँले मलाई भन्नुभयो– ‘बस्नुस्।’

‘धन्यवाद, महामहिम! मैले आफ्नोे परिचय दिँदै भने– ‘कोलकातास्थित नेपालको महावाणिज्य दूत हुँ र उहाँ मेरो साथी चार्टर्ड एकाउन्टेन्ट परेश्वर महासेठ।’

उहाँले शिर हल्लाउँदै भन्नुभयो– ‘हो, मलाई सीताराम शर्माले तपाईंका बारेमा खबर गर्नुभएको थियो। म कोलकाता गएको बेलामा तपाईंलाई भेटेको थिएँ। मलाई सम्झना छ।’

उहाँको यस भनाइले मलाई कुरा गर्न सहज बनायो। कुटनीतिक मर्यादाका केही वाक्य बोलिसकेपछि मैले नेपालको अवस्थाबारे भन्नै पथ्र्याे। तर, त्यसभन्दा अगाडि मैले गुजराल डक्ट्रिनबारे आफूले जानेको कुरा सुनाएँ।

‘महामहिम! ‘गुजराल डक्ट्रिन’बारे प्राज्ञिक क्षेत्रमा निकै चर्चा छ। मैले बुझेको गुजराल डक्ट्रिनले पाँचवटा विषयलाई सम्बोधन गर्छ– एउटा छिमेकी मित्रराष्ट्रसँग केही पाउँछु भन्ने आशाले होइन, छिमेकीलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले सुसम्बन्ध कायम गर्ने।

दोस्रो– दक्षिण एसियाका कुनै पनि देशले आफ्नोे छिमेकी राष्ट्रका विरूद्धमा आफ्नोे भूमि प्रयोग गर्न नदिने। तेस्रो– अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने।

चौथो– दक्षिण एसियाका सबै राष्ट्रले एकअर्काको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्ने। र पाँचौं– आपसी विवाद भएमा शान्तिपूर्ण तरिकाले द्विपक्षीय सहमतिमा विवादको समाधान गर्ने। … तर, महामहिम! दक्षिण एसियामा देखापरेको तनाव र विवाद किन बन्द हुँदैन?’ मैले प्रश्न गरेँ।

उहाँ मुस्कुराउनु भयो ।

‘तपाईंको जिज्ञासा जायज हो। सार्कले यस विषयमा भूमिका खेल्न सक्नुपथ्र्यो, त्यो भूमिका निर्वाह भएको पाइएको छैन। ठूलो देश भएको नाताले भारतले सार्कलाई बलियो र प्रभावकारी बनाउनका लागि सबै छिमेकीसँगको सम्बन्धमा न्यानोपन ल्याउनु जरूरी छ।’

‘नेपालको अहिलेको अवस्था के छ?’– उहाँले सोध्नुभयो।

मैले सङ्क्षेपमा भनेँ– ‘नेपालमा राजाले शासनको साँचो आफ्नोे हातमा लिई तीन वर्षभित्र निर्वाचन गराएर सरकार जनप्रतिनिधिको जिम्मा लगाउँछु भनेर घोषणा गर्नुभएको थियो। तर, शासनसत्ता हातमा लिएपछि त्यसलाई सञ्चालन गर्ने सन्दर्भमा कमजोरी देखियो।

फलतः राजनीतिक पार्टीहरुले आन्दोलन गरे। राजाले विघटित संसद्को पुनःस्थापना गर्नुप¥यो। अहिले माओवादी पार्टीले शान्तिपूर्ण तवरले संसदीय प्रणालीमा खुट्टा टेकेको छ । आशा छ, सबै राम्रोे हुनेछ।’

उहाँले बडो असजिलो पाराले आफ्नोे विचार राख्नुभयो– ‘के गर्नु! मैलै राजा ज्ञानेन्द्रलाई तीन–तीनपटक खबर पठाएँ– राजनीतिमा टेक लिनु हुँदैन र प्रजातन्त्रलाई कमजोर पार्ने काम गर्नुहुँदैन भनेर। तर, राजा अलि अव्यावहारिक र अदूरदर्शीजस्तो लाग्यो। हाम्रो कुरा सुन्नुभएन।

यदि मैले भनेको कुराउपर ध्यान दिएको भए सायद अहिलेको भन्दा राम्रो स्थिति राजाको हुन्थ्यो होला। राजनीति गर्नेले भविष्य हेर्न सक्नुपर्छ।’

उहाँको कुरा सटीक र सपाट थियो– यदि राजाले आजको अवस्थालाई २०१७ सालको आँखाबाट नहेरेको भए नेपालको राजनीतिक घटनाक्रम अर्कै खालको हुन सक्थ्यो।

बहुदलीय व्यवस्थाका पक्षधरहरुसँग बदला लिने, निर्दलीय व्यवस्थाको वकालत गर्ने र राजाबाट मात्र राम्रो काम हुन्छ, अरुबाट हुँदैन भन्ने मान्यता बोकेकाहरुको रजगज भएकै कारणले राजाको आसन भाँचिएको
थियो।

भारतका बुद्धिजीवीहरुले समेत यसबारेमा धेरै लेख लेखेर आफ्नोे समय खर्चेका थिए। खैर।

उहाँले सोध्नुभयो– ‘तपाईंको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य कस्तो छ?’

मैले जवाफमा भनेँ– ‘उहाँ राजनीतिमा ३० वर्षे युवाजस्तै जाँगरिलो भएर सक्रियतापूर्वक लागिरहनुभएको छ।’

उहाँले मुस्कुराएर भन्नुभयो– ‘योचाहिँ राम्रो हो। राजनीति गर्ने मान्छे थाक्नु हुँदैन। उहाँको सुस्वास्थ्य र राजनीतिक सफलताको कामना गर्छु भनेर उहाँलाई भनिदिनुहोला।’

यो कुरा गिरिजाबाबुसँग ११ असार २०६६ मा भेट हुँदा आफैंले भनेको थिएँ। यद्यपि, परराष्ट्र मन्त्रालयमा प्रतिवेदन पठाएर जाहेर पहिले नै गरिसकेको थिएँ।

पूर्वप्रधानमन्त्री आईके गुजरालले सोध्नुभयो– ‘गिरिजाप्रसाद कोइरालाको शेषपछि अर्काे नेता को हुन सक्छ?’ यो प्रश्न मेरा लागि अनपेक्षित थियो। त्यसैले कुटनीतिक शैलीमा मैले जवाफ दिनुपर्‍यो।

मैले भनेँ– ‘उहाँको जस्तो अनुभव र उचाइ भएको नेता अमुक व्यक्ति हो भन्ने स्थिति देखिँदैन। तर, जिम्मेवारी पाएपछि राजनीतिलाई सही ढङ्गले हिँडाउने नेताको कमी होलाजस्तो मलाई लाग्दैन।’

यतिबेला उहाँ हाँस्नुभयो।

मैले स्पष्टसँग जवाफ दिन सकिरहेको छैन र गिरिजाबाबुको हाइटमा पुगेको नेता अरु छैन भन्न हिचकिचाइरहेको कुरा उहाँले सहज अनुमान लगाई सक्नुभएको थियो।

त्यही भएर त उहाँ हाँस्नुभयो।

कुरा अगाडि बढ्दै थियो। ‘तपाईं के लिनुहुन्छ? चिया कि कफी?’– उहाँले सोध्नुभयो।
‘चिया।’

हामी दुईबीचको कुराकानी यसरी अगाडि बढ्दै थियो कि कुन बेला मेरोअगाडिको टेबुलमा चिया–बिस्कुट ल्याइयो, पत्तै पाइनँ। उतातिर ध्यानै गएन।

जब धेरैबेरसम्म मैले चिया लिइनँ– उहाँलाई अप्ठेरो लागेछ क्यारे! ‘तपाईंको चिया चिसो भैसक्यो। खानुस्’– उहाँको अफर थियो।
‘हस्, धन्यवाद महामहिम!’– मेरो जवाफ थियो।

र, मैले चिया लिँदै कुरा गर्न थालेँ। बिस्कुटको एउटा सानो टुक्रा खाएँ। बिस्कुट खुवाइले कुराकानीको क्रमभङ्गतालाई सहयोग पुग्न जाने अवस्था थियो। त्यही भएर बिस्कुट खाने कामलाई थाँती राखेँ।

चिया छिटो सकियोस् भन्ने चाहेको थिइनँ। चिया सकिनुको मतलब कामकुरा सकिनुजस्तो हुन्थ्यो।

आखिरमा मैले भनेँ ‘नेपालका परराष्ट्रमन्त्री केपी शर्मा ओलीले तपाईंको सुस्वास्थ्यको कामना गर्नुभएको छ।’

उहाँले भन्नुभयो– ‘परराष्ट्रमन्त्रीलाई मेरा तर्पmबाट धन्यवाद छ भनिदिनु होला।’ अब मोटामोटी कुरा सकिएका थिए।

उठ्दा उठ्दै मैले आग्रह गरेँ– ‘नयाँ दिल्ली आउँदा महामहिमसँग भेट्ने अनुमति पाउन सक्छु?’

खुसीसाथ स्वीकार्नु भयो– ‘जरmर ! जरmर ! मेरो ढोका खुला छ। फोन गरेर आउनुस्, स्वागत छ।’

हामी उठ्यौं । नमस्कार ग¥यौं। उहाँले पनि नमस्कार फर्काउनुभयो र हात मिलाउनका लागि हात अघि बढाउनुभयो।

हात मिलाउने विषय पनि शिष्टाचारभित्र पर्छ। समान तहको भेटघाटमा आतिथ्य दिनेले हात मिलाउनका लागि आफू अघि आउनुपर्छ भने आफूभन्दा अग्रज र मान्नुपर्ने व्यक्तिको हकमा उताबाट हात मिलाउनका लागि हात अघि बढाएपछि आफूले हात दिनुपर्छ।

तर, नमस्कारचाहिँ अग्रजलाई आफूले पहिले गर्नुपर्छ । शिष्टाचारभित्रको विषयउपर मैले सिकेको एउटा पाठ यो पनि थियो। र, यसरी उहाँको बैठक कोठाबाट बाहिर निस्कँदा घडीले साँझको ६.४५ बजाइसकेको थियो। ४५ मिनेटको भेटघाट पाँच मिनेटजस्तो थियो मेरा लागि।
म अर्काे दिन कोलकाता फर्कें।
– – –
पाँच वर्षपछि। अर्थात् कोलकाता छोडेको पाँच वर्षपछि म सचिव भएर पनि सेवानिवृत्त भइसकेको थिएँ।
१५ मंसिर २०६९ एक दिन टीभीमा समाचार आयो, भारतका पूर्वप्रधानमन्त्री इन्द्रकुमार गुजराल ९२ वर्षको उमेरमा आज संसारबाट बिदा हुनुभयो।

भारतका एउटा कुशल राजनीतिज्ञ, व्यवहारवादी कुटनीतिज्ञ र मानवतावादी व्यक्तित्वको अवसान भएको दिन।
‘मेरो ढोका खुला छ’ भनेर दोस्रोपटक भेट्का लागि मलाई आमन्त्रण गर्ने पूर्वप्रधानमन्त्री गुजरालसँग त्यो भेट नै अन्तिम भेट बन्ला भन्ने के थाहा?

डा. गोविन्दप्रसाद कुसुमको पुस्तक ‘प्रशासनभित्रको प्रशासन’बाट

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो