पुस्तक समीक्षाः अस्मितालाई नियाल्दा – Dcnepal

पुस्तक समीक्षाः अस्मितालाई नियाल्दा

कुनै पनि पुस्तकको समीक्षा गर्न बिषयस्तुको गहन अध्ययन पश्चात् त्यसभित्रका अन्तरवस्तुलाई निफन्ने, एकएक गरी केलाउने, पक्ष विपक्षलाई छुट्याए पश्चात् उक्त पुस्तकको भाव या आशय प्रकट गर्न सकिएला, तर ऐना जस्तै छर्लङ्ग बनाउन ज्यादै जटिल र जोखिमपूर्ण काम हुन् । सम्बन्धित पुस्तकप्रति आफ्नो स्वतन्त्र धारणा राख्दै गर्दा अति प्रशंसा या अति आलोचनाको भयका कारण कतिपय महानुभावहरु सन्तुलित किसिमले पुस्तक समीक्षा गरेको पाइन्छ तर मेरो विचारमा त्यो चलाखीपूर्ण तरिकाले गरिएको समीक्षा सन्तोषजक मान्न सकिन्न र उचित पनि होइनन् ।

एक समीक्षकको आँखाले देखेको, ब्रह्मले जाने बुझेको कुरालाई तटस्थ रुपले जस्ताको त्यस्तै गरिएको समीक्षा नै खरो समीक्षा मानिन्छ । सर्जक स्वयम् विद्वान ब्यक्तिको सृजनामा मैले केही राय ब्यक्त गर्नु सूर्यलाई दियो देखाए सरह हुनेछ । तथापि आफूले अनुरोधलाई अस्वीकार गर्न सकिन र उक्त धरातलमा टेकेर जाने बुझेको कुराहरू राख्ने जमर्को गरेको छु । समीक्षाको असर, प्रभाव र चिन्ता गर्ने हो भने न्यायसंगत समीक्षा मानिने छैन तसर्थ जो देख्छु त्यही ब्यक्त गर्ने हो ।

लेखक परिचय ः

सिन्धुली जिल्लाको सुनकोशी गाउँपलिका–७ मा डा. के.आर. दाहालजीको जन्म भएको हो । उहाँको प्रारम्भिक शिक्षा महोत्तरी जिल्लाको गौशाला तथा काठमाडौ, न्यू दिल्ली र तत्कालीन सोभियत संघमा भएको थियो । उहाँले एमएस्सी सिभिल इन्जिनियरिङ, समाज शास्त्रमा एमए, वातावरण बिज्ञानमा विद्यावारिधि गरेर आफ्नै लुम्बिनी इस्टिच्यूट अफ साईन्स एण्ड टेक्नोलोजी संस्था, जावलाखेल ललितपुरमा प्रोफेसर तथा क्याम्पस प्रमुख भएर शैक्षिक जगतमा लामो समयदेखि अनवरत रूपमा लाग्नु भएको छ । बाँकी आफ्नो फुर्सदको समयमा आफूलाई मनमा उब्जेका सृजनाहरु लेख्ने बानीका कारण थुप्रै रचनाहरु प्रकाशित छन् । उहाँले आफ्नो छात्रजीवन देखि नै नारी उत्पीडन पीडाको छापको आधारमा ‘बहिनीको बिलौना’ नामक नाटक २०३८ सालमा लेख्नु भएको थियो ।

त्यसपछि २०३८ सालमा पुल्चोक क्याम्पसमा कविता, नाटक लेख्दा, बाचन गर्दा धेरै पटक प्रथम पुरस्कार प्राप्त गर्नु भएको थियो । उता बुटवल कार्यक्षेत्र रहँदा लुम्बिनी अञ्चल भरिमा वातावरण पत्रकारिताको क्षेत्रमा उत्कृष्ट लेखन प्रथम पुरस्कार २०६६ सालमा प्राप्त गरेदेखि पत्रकारिताको लेखन क्षेत्रलाई तिखार्दै लगेको पाउँछु । यसरी नै उहाँले लुम्बिनी अञ्चलको ६ वटा जिल्लाका सधै ओझेलमा तथा छायाँमा पर्दै आउनु भएका ३८ जना उत्कृष्ट समाजसेवीहरुको साझा संगालो २०६६ सालमा ‘प्रेरणाका श्रोतहरु भाग–१’ प्रकाशित भएको थियो । यस बाहेक अन्य फुटकर कविता नाटक र भिडियो क्लिप आदि प्रशस्तै पढ्न र सुन्न पाइएको छ ।

पुस्तक परिचय ः

‘अस्मिता’ भित्र विविधता छन, जस्तै एउटी तरुनीको खातिर कामरेडले सत्ता र पावरको चरम दुरुपयोग र चर्तिकलाको वृतान्त छ, दलितलाई मन्दिर प्रवेशमा उच्च जातिको आक्रमण छ, हिन्दु धर्म र संस्कृतिको प्रतीक गाई (सोबर्नी) को दुरावस्थाको चित्रण छ, आर्थिक अबस्थाले उब्जाएको धर्म परिबर्तनको बाध्यता, दशवटी स्वास्नी ल्याउन छुट दिने समाजमा पुरुषको अहंकार छ, भारतीय थिचोमिचो र राज्यको गैरजिम्मेवारीपनाको पराकाष्ठा, मुलुकलाई रसातलमा पुर्याउने स्याल, ब्वाँसा, गिद्ध र चिलहरुको रजाइँको कथा र ब्यथाहरु ईत्यादि बिषय उपर अस्मिताले जोडदार रुपमा ध्यानाकर्षण गराएको पाउँछौ ।

पुस्तकमा औल्याएका यी यावत बिषयहरु ओजपूर्ण छन् । फेरि पनि कसले कुन बिषय र पाटोलाई महत्व दिने भन्ने कुरा ब्यक्तिको शिक्षा संस्कार पृष्ठभूमि तथा जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा निर्भर गर्दछ । आकाशमा उडिरहेको हुटिट्याउँ चराले हुटिट्याउ हुटिट्याउ मात्र भनेको हुन्छ तर एउटा धार्मिक ब्यक्तिले सधैं सीताराम ! सीताराम ! मात्र सुने जस्तै ब्यक्ति बिषेशको आ–आफ्नो क्षमताले छोड्ने र ग्रहण गर्दै जाने कुरामा निर्भर गर्दछ ।

लेखकमा बिहङ्गम दृष्टिकोण छ, आफ्नो विद्यार्थी जीवन कालदेखिकै महिला हिंसा तथा वर्ग बिभेदको छाप मन र मस्तिष्कमा झाङ्गिदै गएपछि अन्ततः पुस्तकले आफ्नो आकार प्रकार ग्रहण गरेको पाउँछौ । यस उपन्यासलाई सरसर्ती सिहावलोकन गर्दा अस्मिताले समष्टिगतमा एकातिर सामाजिक दुरावस्थाको बस्तुगत चित्रण गरेको छ भने अर्कोतिर अंशबण्डाको उदेकलाग्दो राजनीतिप्रति आक्रोश पनि पोखेको पाइन्छ । विद्यमान समाज भित्र रहेका अस्वस्थकर परम्परा तथा विभेदहरुलाई खोतलेर औल्याउने प्रयास गरेको छ । विकास र अवसरमा नकारात्मक असर पुर्याउने सरकारको गलत नीतिको भण्डाफोड गरेको छ । धार्मिक तीर्थ स्थलहरुको सुन्दर वर्णनले हिन्दुत्वको महिमा झल्काएको छ । यसका अतिरिक्त मुलुकका जल्दाबल्दा बिषय बस्तुहरुमा ध्यानाकर्षण गराएर जनमानसमा जागरुकता ल्याउन खोजेको प्रष्ट बुझिन्छ ।

आफू जन्मेको, हुर्केको तथा कार्यक्षेत्रको सेरोफेरोमा रचिएको उपन्यासमा गीत, मन्त्र, श्लोक, प्रेम प्रसंग तथा सुन्दर प्रस्तुतीकरणले पाठक वर्गमा आलस्यता या पट्याई लाग्ने कुनै ठाउँ देखिन । ‘अस्मिता’ पुस्तकको बाहिरी मुख्य पृष्ठका बस्ती फोटोले नेपालीको मौलिक जनजीवनलाई झल्काएको छ भने, मन्दिर पूजा गर्ने अस्मिता एक आदर्श नारीको रुपमा समाजमा सकारात्मक सन्देश फैलाएकी छिन भने, अर्की आधुनिकताको नाउँमा बाटो बिराएकी नखरमसुली पिकलाले समाजमा नकारात्मक सन्देश दिएकी छिन् । एउटी आध्यात्मिकवादी अर्की भौतिकबादी यी दुवैको भूमिका नदीका दुई किनारा जस्तै अलग धार, अलग आस्था र मूल्य मान्यताले उपन्यासमा एकपछि अर्को कौतुहलता भने प्रशस्तै जगाएको पाईन्छ ।

उपन्यासका सरल शब्दको प्रयोगले बुझ्न सहज बनाएको छ । बिषय, प्रसंग, घटनाक्रम, भाषा शैली, शब्द चयन, तथा परिवेश आदिको सुन्दर समायोजनले उपन्यासलाई पठनीय एवं जीवन्तता प्रदान गरेको आभास मिल्दछ । यदाकदा केही भाषागत अशुद्धिहरु देखिएका छन्, जसलाई औल्याउने प्रयास भएको छ । यस बाहेक राजनीतिसँग सुरा र सुन्दरीहरुको रासलीलालाई जोड्न अनि झोला भिरेर वैदेशिक रोजगारीमा जाने हजारौं हजार युवायुवतीहरुको आर्तनादलाई उपन्यासमा सम्बोधन गर्न सकेको भए आजको टड्कारो आवश्यकताले जनजीवनलाई बढी छुन सक्थ्यो । यद्यपि यी आशयहरु अस्मितामा झल्कन्छन् तर प्रमुख मुद्दा गौण नबनोस भन्ने अभिप्राय मात्र हो । यस बाहेक पुस्तकका अन्य पक्ष सबल सुन्दर र रोचक छन् ।

लेखक स्वयं वातावरण विज्ञ तथा पेशाले एक इन्जिनियर जो नक्साको आधारमा बिकास संरचना तैयार पार्ने ब्यक्तिमा देखिएको साहित्यिक अभिरुचि चिन्तन र लेखन स्वागतयोग्य रहेका छन । नेपाली भाषाप्रतिको पकड र साहित्य माथिको दखल आफैमा अति सराहनीय पाइन्छ । डा. के. आर .दाहालजीले अस्मिता मार्फत आफ्ना जीवनका भोगाइ तथा चिन्तन मनन, संगालोका बिषय बस्तुहरुलाई साकार रुप प्रदान गर्न दुई बर्षको लगानी अनि निरन्तरको परिश्रममा कताकता घरको असल संस्कार अनि आमा बुवाको आशीर्वादकै प्रतिफल आजकी ‘अस्मिता’ हुन् भन्ने मेरो ठम्याई रहेको छ । यस उपन्यासले केवल विभेद र अराजकताप्रति आक्रोश मात्र पोखेको छैन, बल्की देश र समाजको खातिर केही गर्न घचघचाएर ब्युझाई पनि रहेको छ । त्यसैले ‘अस्मिता’बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड भने जस्तै हो ।

अन्तमा, यहाँको अथक प्रयास स्वरुप परिवर्तनको बाहक ‘अस्मिता’लाई हार्दिक बधाई छ । हजुरको सुस्वास्थ्य तथा प्रगतिको कामना गर्दै आउदा दिनहरुमा नयाँ नयाँ बिषयहरुमा यहाँको लेखनी अझै धारिलो र परिष्कृत बन्दै जाओस् । शुभकामना ! शुभकामना ! शुभकामना !

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो