दैनिक १ हजार ज्याला, जागिर गुमाएका श्रमिकले पाए काम

डिसी नेपाल
२७ भदौ २०७८ १९:४६

काठमाण्डौं । कोरोना महामारीका कारण रोजगारी गुमाएका पर्यटन क्षेत्रका श्रमिकलाई लक्षित गरी सरसफाइ कार्यक्रम शुरु गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत पर्यटन क्षेत्रबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी ल्याइएको हो । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार अगाडीबाट कार्यक्रम शुरुवात गरिएको हो ।

होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै प्रथम उपाध्यक्ष शाहले यस कार्यक्रमको प्रशंसा गर्दै प्रभावित श्रमिकहरुलाई दशैं अगाडि केही राहत पुग्ने र काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटोघाटो सरसफाई र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौं महानगरपालिकालाई पनि सहयोग पुग्ने बताए । कार्यक्रममार्फत कोभिड–१९ बाट अतिप्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी ल्याइएको कार्यक्रमको कार्यान्वयका लागि होटल संघ नेपाल र नेपाल पर्यटन बोर्डबीच सम्झौता भए अनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा उक्त कार्यक्रम सुरुवात भएको हो ।

उनले यस कार्यक्रमको श्रम दिन पाँच हजार रहेको र एउटा श्रमिकले बढीमा ४० दिन काम गर्न सक्ने गरी योजना बनाइएको पनि जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *