भारतमा कोरोनाजस्तै लक्षण भएको निपाह भाइरस भेटियो, नेपालमा सतर्क रहन आग्रह

तर्कबहादुर थापा
२८ भदौ २०७८ १४:५३

काठमाडौं । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि सचेत रहन आग्रह गरेको छ। संक्रमण भएका व्यक्तिहरुमा ४५ देखि ७० प्रतिशत बढी मानिसहरुको मृत्यु गराउन सक्ने भाइरस भारतमा देखिएको छ।

नेपालसँगको खुल्ला सिमानाका कारण उक्त भाइरसले नेपालमा पनि संक्रमण फैलाउन सक्ने र महामारी पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सचेत रहनका लागि आग्रह गरेको हो।

भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापा १० प्राणघातक रोगमध्येको एक निपाह भएको बताउँछन्। उनले विश्व स्वास्थ्य संगठनलाई उदृत गर्दै उक्त रोगबाट संक्रमण भएका मध्ये ४० देखि ७० प्रतिशत मानिसको ज्यान जाने गरेको बताए।

नेपालमा अहिलेसम्म यसका संक्रमित फेला नपरे पनि सचेत हुनुपर्ने थापाको भनाइ छ। थापाका अनुसार निपाहको सम्पर्कमा आएका कुनै पशु चौपाया, फलफूल, पशुको मलमूत्र र मानिसबाट मानिसमा सर्न सक्ने हुन्छ।

भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ । यो भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ। सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ।

कोरोनासँग मिल्दो जुल्दो ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस जस्ता लक्षणहरु यो भाइरसको सम्पर्कमा आएपछि देखिन्छन्।

कोरोना भाइरसँग मिल्दो जुल्दो लक्षण भएका कारण बिरामीहरुलाई धेरै गाह्रो हुनसक्ने जनस्वास्थ्यविद्हरुको भनाइ छ। सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन कुनै पनि रोगलाई सामान्य रुपमा नलिन आग्रह गर्छन।

डिसी नेपालसँग कुरा गर्दै उनले विश्व स्वाथ्य संगठनले १० वटा प्राणघातक रोग मध्ये एक निपाह भनेको बताए। उनले भने, ‘सरुवा रोगहरुको बच्ने विधि पनि उस्तै खालको हुन्छ। अरुको संसर्गमा जानु भन्दा पहिला हामीले आफू सुरक्षित भएको सूनिश्चित गर्नु पर्छ। भीडमा जाँदा, बजारमा जाँदा जहाँ जाँदा पनि आफ्नो ख्याल गर्नुपर्छ।’

भारतको केरला राज्यमा नै सन् २०१८ मा १९ जनालाई निपाह भाइरस संक्रमण भएको थियो भने उनीहरुमध्ये १७ जनाको ज्यान गएको तथ्याङ्क छ।

खुल्ला सीमा भएका कारण नेपालमा फैलिन सक्छः मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताएका छन्।

उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन्। निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यो भाइरस प्राकृतिकरुपमा ‘फ्रुट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ।

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने डा. पौडेलको भनाइ छ। यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्न सक्ने उनले जानकारी दिए।

उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ । यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *