‘पाठकलाई हल्लायो, रन्थन्यायो भने त्यो नियात्रा हो’

तर्कबहादुर थापा
२ असोज २०७८ ८:४०

नियात्रा चित्रमय हुन्छ। नियात्रा पढ्ने व्यक्ति नियात्रासँगै यात्रा गर्न बाध्य हुनेगरी लेखिनु पर्दछ। नियात्रालाई चित्रमय बनाएर पस्किने नेपाली नियात्राकारमध्ये राष्ट्रियताबाट ओतप्रोत भएर लेखिएको ‘देशको माटो’ र ‘हिमाल’ लेख्ने नियात्राकार हुन् प्रतीक ढकाल

भुटानमा जन्मिएका ढकाल सानैमा झापा आए। यतै हुर्किए। नेपालको प्रशासन क्षेत्रमा लामो समय काम गरे। प्रशासनको लामो अनुभव बोकेका नियात्राकार ढकालका १० वटा पुस्तक बजारमा आएका छन्।

दुईचार दिन अघिमात्र बजारमा आएको ‘त्यो उज्यालो कर्णाली’ उनको पछिल्लो कृति हो। नेपाली भाषाको ‘हिमालपारि पुगेपछि’ को सातौं संस्करण बजारमा आएको छ। त्यसको तेस्रो संस्करण अंग्रेजी भाषामा बजारमा छ।

उनका ‘हिमालपारि पुगेपछि’, ‘सेती पनि काली पनि’, ‘सगरमाथाको आधारशिविरबाट’, ‘चीनको विचित्र चित्र’, ‘पाइतलाका छापहरु’, ‘गण्डकीको मुहान तिर’, ‘परिक्रमा अन्नपूर्ण’, ‘आनन्द भूमिको आगन’, ‘त्यो उज्यालो कर्णाली’ लगायतका कृतिहरु बजारमा छन्।

अनुभूतिको पराकम्पनले पाठकलाई हल्लाउन सक्नु नै नियात्राको उपलब्धि ठान्ने ढकाल पर्यटन क्षेत्रका विज्ञ हुन्। उनले विदेशमा रहेका हरेक नेपालीले नेपालको बारेमा जान्ने बुझ्ने र विदेशीलाई नेपाल ल्याउन ठूलो भूमिका खेल्नु पर्ने अपेक्षा राखेका छन्। अवोलकनलाई शब्दचित्रमा पस्किन खप्पिस ढकालले आफ्ना कृतिहरुमार्फत पाठकलाई विस्तारै राष्ट्रियता प्रति चनाखो बनाएउँदै लगेको पाइन्छ ।

विदेशमा भएका ५० लाख नेपालीलाई पुस्तकको माध्यमबाट राजदूत बनाउने अभियानमा लागेको छु भन्ने नियात्राकार ढाकालसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

कसरी वित्यो कोरोना काल ?
अरुबेला पनि हामी कागजकै मान्छे हो। सधैं लेख्ने पढ्ने बानी परेको हामीलाई खासै फरक पर्दैन रहेछ। लेखन, परिमार्जन, हेर्ने, मिलाउने गरिराख्या हुँदा र विशेष गरी कोरोनाकालमा घरभित्र बसाई अलि बढी भएकाले मैले त यही ‘त्यो उज्यालो कर्णाली’लाई राम्रो सम्पादन गर्ने अवसर पाएँ। आफ्नो काम गरे पनि मानिस स्वतन्त्र प्राणी भएका कारण बाहिर हिँड्न पाइएन भन्ने त रह्यो।

मैले धेरै पटक पाण्डुलिपी पढेर, सम्पादन गरेर त्रुटिरहित बनाउन पाएँ। यो मेरो पहिलो किताब हो जसलाई मैले धेरै पटक सम्पादन गर्ने अवसर पाएको छु। किताब निस्केपछि २/३ ठाउँमा मात्र त्रुटि भेटाएँ। अघिल्ला पुस्तकहरुमा छन्। मुद्रा त राक्षस नै हो नी छलिहाल्दो रहेछ । तर, यो किताबमा भने छल्न पाएको छैन।

भर्खरै बजारमा आएको ‘त्यो उज्याले कर्णाली’को प्रतिक्रिया कस्तो पाउनु भएको छ?

राम्रो प्रतिक्रिया पाइरहेको छु। बजारमा आएको ३/४ दिनमा नै प्रिन्ट भएको आधा जति पुस्तक विक्रिभएको जस्तो लाग्छ। हुन त पाठकको हातमा पुगेको छैन होला त्यो अर्को पाटो रह्यो। तर, प्रकाशकले वितरण गरेका छन्।

यो मुलुकमा जन्मेर यो मुलुक नै नहेर्नु भनेको त दुर्भाग्य नै हो। पर्यटन मन्त्रालयले खटाएर पनि जुन जुन कर्मचारी हिमाल तिर गएनन् नि ती सबै यो धर्तिका सबैभन्दा अभागी कर्मचारी हुन्। अर्काले पैसा तिरेर सगरमाथा हिड भन्दा पनि नजाने त्योभन्दा कच्छित नेपाली को हुन्छ।

मेरो पहिलेदेखिको लगाव नै यो देशलाई संसारसामु चिनाउने भयो । संसार भरीका मान्छेले हिमालको देश भनेर चिन्छन्। कहाँबाट आएको? उत्तरमा म नेपालबाट भन्दा चिन्दैनन्। सगरमाथाको देशबाट भन्दा चिन्छन्। मैले पनि हिमाललाई चिनाउनु पर्छ भनेर हिमालतिर लाग्दा लाग्दा अब त ब्राण्ड नै भयो। त्यसैले धेरैको प्रतिक्षामा पनि मेरो किताब थियो झै लागेको छ।

त्यो उज्यालो कर्णाली किन पढ्ने?

हिमालका गाथा पढ्दै आउनु भएको छ। हिमासँगै हाम्रो देशमा सभ्यता र संस्कृतिको धनि कर्णाली पनि छ भन्ने कुरा चिनाउनु छ। कर्णालीलाई अहिलेसम्म हामीले अध्यारो भनेर पढ्यौ। रोगी भनेर बुझ्यौ।

भोको कर्णाली भन्ने जहिले लागि रह्यो। जिर्ण जिर्ण टालाले ज्यान ढाकिएको कर्णाली भनेर चिन्ने गर्यौं। औषधि उपचार नपाईने कर्णाली भनेर पनि चिन्यौं। अब त्यो होइन हाम्रो कर्णाली कुनै स्वर्गभन्दा कम छैन। आठवटा ‘ज’ ले भरिपूर्ण छ कर्णाली भन्ने कुरा थाहा पाउनको लागि त्यो उज्यालो कर्णाली पढ्नु पर्छ।

हामीले चिनेको कर्णालीभन्दा धेरै फरक छ। सिंगो देशलाई कर्णालीले पाल्न सक्छ भन्ने कुरा बुझाएको छु। कारणहरु पनि दिएको छु। यो कुनै कल्पना मात्र पनि होइन्। अष्ठ ‘ज’ अभियानको कुरा गरेको छु। त्यो गरेपछि कर्णालीका मान्छेलाई धर्तिको उपासाना मात्र गरेर पुग्छ। पर्यटनले नै खान पुर्याउँछ कर्णालीले भन्ने लेखेको छु। कर्णालीलाई चिनाउने तस्बीर हो त्यो उज्यालो कर्णाली।

कर्णालीको बारेमा यसभन्दा पहिलाको कृतिमा पनि लेख्नु भएको छ नि?

‘त्यो हिमालपारि पुगेपछि’ कृतिमा पनि माथिल्लो डोल्पाको बारेमा छ। जहाँ मैले २६ दिन बिताएको छु। कर्णालीमा जागिरको शिलशिलामा जानेहरु आफूलाई चेपुवामा परेको सम्झिन्थे। घुम्नै गएकाहरु पनि शे फोक्सुण्डोसम्म मात्र पुग्छन्। आम नेपालीलाई एजिर गुम्बा।

शे फोक्सुण्डोबाट ११ बास माथि छ। म यति सुन्दर देशमा जन्मिन पाएको छु। विदेशीहरुले रोयल्टी तिरेर जान्छन्। तिनीहरुसँग म सित्तैमा जान पाएको छु। यो मुलुकमा जन्मेर यो मुलुक नै नहेर्नु भनेको त दुर्भाग्य नै हो। पर्यटन मन्त्रालयले खटाएर पनि जुन जुन कर्मचारी हिमाल तिर गएनन् नि ती सबै यो धर्तिका सबैभन्दा अभागी मान्छे  हुन्। अर्काले पैसा तिरेर सगरमाथा हिड भन्दा पनि नजाने त्योभन्दा कृतघ्न नेपाली को हुन्छ।

हिमालपारि पुगेपछिबाट छुटेका कुराहरु त्यो उज्यालो कर्णालीमा आएका हुन्?

कतिपय आएको छ। किन भने त्यही बेल्टको बारेमा लेखेको छु। जस्तै शब्द निर्माणको बारेमा कुरा गर्दा पूर्वतिर जटिल छ। पश्चिम तिरको शब्द निर्माण प्रक्रिया सजिलो छ। पात, पतिंगर, गासँ जे लिन पनि कोही बन जान्छ भने त्यो बनारी हो। धान रोप्न, कोदो रोप्न, जे रोप्न बोलाएको खेताला भए पनि त्यो रोप्नारी हो। बाख्रा गोठालो जानेलाई बख्रेलो, बख्रेली भनिन्छ। त्यो सम्पन्नता अन्त छैन।

नेपालमा कुनै यस्तो गाउँ छ। मान्छे मरेको दिन स्वर्गको राजा इन्द्रलाई लल्कार्छ। मेरो फलाना ठाउँबाट फलाना मान्छे आउँदै छ। खबरदार राम्रो गर्नु। सुनकै ऐसनी, सुनकै बैसनी, सुनकै जगतकन धार…। कर्णाली यो सभ्यता हो। मरेको मान्छेलाई स्वर्गमा कमी हुनु हुदैन भनेर इन्द्रलाई थर्काएर मर्छन्।

सगरमाथाबाट पुस्तक विमोचन गर्ने पहिलो व्यक्ति पनि हो हजुर । साझा पनि यहाँकै पुस्तक गरेको थियो । त्यो कसरी सम्भव भयो ?

म त्यहीँ काममा भएका कारण सगरमाथाको आधारशिविरलाई चुचुरोबाट विमोचन गर्न पाएको भए भन्ने लाग्यो। अरुले पनि मेरो यस्तो र उस्तो भयो भनेर भनेका छन्। पर्यटन मन्त्रालयले त्यसरी मान्यता दिँदैन।

त्यो टोली हिड्नुभन्दा अगाडि नै सगरमाथा चढ्ने टिमले डिक्यिर गरेर हिड्नु पर्छ। आपा शेर्पाले १७ औँ पटकमा मेरो कृति बिमोचन गर्नु भएको हो। त्यो पर्यटन मन्त्रालयको रेकर्डमा छ ।

अरुले मैले यसो र उसो गरेँ भनेको मन्त्रालयसँग रेकर्ड छैन। त्यसरी हुदैन। मन्त्रालयले हेरेर अनुमति दिएर औपचारिक गिनिजबुकलाई लेखिदिएको चाहिँ मेरो नै हो।

अरु जस्तै यहाँ पनि कविताबाट साहित्यमा आउनु भयो र नियात्रा लेखिरहनु भएको छ। कविताबाट नियात्रातिरको यात्रा सजिलो कि अप्ठेरो ?

हरेक मान्छेले जीवनको पहिलो चरणमा कविता नै लेख्छ। दुईचारवटा कविता, गीत र दुई चार ठाउँमा आँखा नलगाएको जवानी त के जवानी भन्ने चलन छ नि।

लेखनको सुरुवात अधिकांश मान्छेको कविताबाट नै हुन्छ। कोही कवितामा परिपक्क हुन्छन्। मैले कविता लेख्न छोडेको भए पनि मेरो गद्दमा भाषा कवितात्मक छ भन्ने कुरा पाठकहरुले सुनाई रहनु भएको हुन्छ। त्यो प्रभाव त रह्यो नि। भावको कविता रह्यो विधा मेरो नियात्रा भयो। नेपाली साहित्यमा विदेशको गुणगान गाएरमात्र हजारौँ पृष्ठ भरिएका छन्। म पनि विदेश नगएको होइन।

अरुलाई नराम्रो भन्न खोजेको हैन की मलाई के लाग्यो भने मेरो देश नै लुकेको स्वर्ग हो। धर्ती मूनिको अभिलेख हो मेरो देश। यत्रो तपोभूमि, बुद्ध भूमि, यत्रो आनन्द भूमि, समूद्रको सतहको गहिरो भाग, सबैभन्दा अग्लो हिमाल भएको देशको बारेमा लेख्छु भनेर लागेँ। कविताबाट आउँदा झन् भाषाशैलीको हिसाबले राम्रो भयो। सजिलो भयो।

नियात्रा हिमालको वरिपरि रहेर मात्र लेखिरहनु भएको छ । कारण के हो?

नेपालका ३०/३५ राजदूत विदेशमा छन्। अझै भनौ पार्टीका मान्छे, नेताहरुका झोलाभित्रका, नाता भित्रका, कृपावाद भित्रका मान्छेहरु छन्। जसले यो देश नै चिनेका छैनन्। उनीहरु राजदूत छन्।

मेरो अभियान त के हो भने कामको शिलशिलामा विदेश गएका झण्डै ५० लाख नेपालीलाई राजदूत बनाउने हो। नेपालका हिमालहरुको बारेमा लेखेर जब ती ५० लाख राजदूतले विदेशीलाई बुझाउँन सक्छन्। एक जना बराबर २ जनाको दरले विदेशीहरु नेपालमा ल्याउन सक्दछन्।

तब, यो देशको अवस्था के हुन्छ? तब यो देश कहाँ जान्छ? हाम्रा हिमाल, हाम्रा गोर्खाली, हाम्रा शेर्पाको बारेमा बुझेर हरेक दिन थोरै थोरै अरुलाई सिकाए भने के हुन्छ? १ करोड विदेशीले नेपालमा आएर हजार डलरमात्र खर्च गरेको अवस्थामा देशको स्थिति के हुन्छ?

मैले हिमाल लेख्नुमा, मैले नेपाल लेख्नुको पछि देशको समृद्धि रहेको छ। एक जना पर्यटकले २६ जनालाई रोजीरोटी चलाउँछन्। टुरिजमको चक्र, डेप्लोमेसी, इकोनोमिक र नेपालका १० वटा हिमालको बारेमा थाहा नपाएकाहरुलाई मुलुकको मार्केटिङ गर्न पठाएर हुन्छ त? त्यसैले पनि मैले देशको बारेमा लेख्नु परेको हो।

हामी नियात्रासँग सम्बन्धित रहेर कुरा गरिरहेका छौं। राम्रो नियात्रा हुन के कुरा हुनुपर्छ?

नियात्रा चित्रमय हुनुपर्छ। नियात्रा पढ्ने व्यक्ति नियात्रासँगै यात्रा गर्नु पर्छ। कति पेज बचेको छ भनेर हेर्दै पढ्ने हुनु हुँदैन। मैले हिमालमा गएर विचित्रको ठाउँहरु देख्छु।

२५ मिटरको अग्लो पहरो पुरै जमेको छ। जस्तापाताको खोल्सीमा झरेको शित रेसमको पर्दा जस्तो भएर तल झरेको छ। पाँच पोखरीको हिउँ त पोखरी हो। पुरै पोखरी जमेको छ। म त हिडेर पार गरेँ।

मैले देखेँ। मैले देखेको कुरा अरुलाई सुनाउँछु। शित चुडिन सकेको छैनभन्दा नपत्याउलान कि भनेर फोटो राखिदिन्छु। हिउँको खम्बाले ढुङ्गाको टोपी लगाएको हुन्छ।

नपत्याउलान कि भन्यो फोटो राखिदियो। मेरो किताब चित्रमय हुने कारण पनि यही हो। अनुभूतिका त्रिब्रतम पराकम्पनले पाठकलाई हल्लाउन सक्नु पर्छ। यदि पाठकलाई हल्लायो, रन्थन्यायो भने त्यो नियात्रा हो।

अबको नियात्रामा के लेखिनु पर्छ?

अबको नियात्रा भूगोलको सूचना दिएर मात्र हुँदैन। त्यो त गुगलले दिएको हुन्छ । हाम्रोमा म यहाँे ठाउँमा पुगेँ। अमेरिकामा फलानो भिषामा, फलानालाई भेटेँ भन्ने तरिकाले मात्र नियात्रा चल्दैन। अबको नियात्रामा देश लेखिनु पर्छ। अनुभुति लेखिनु पर्छ। गतिशिल हुनै पर्छ।

मुलुक चिनाउनु पर्छ। मुलुकलाई लाल्छना लाउने हैन। मुलुकको गौरवबोध नै लेखिनु पर्छ। मुलुकको माटो नै लेखिनु पर्छ। राष्ट्रको विभाजक तत्वलाई बल गर्नु हुँदैन। ‘कनेक्टर’ तत्वलाई लेख्नु पर्छ। त्यसैले देश नै लेख्नु पर्छ। माटो नै लेख्नु पर्छ । माटोबाट छुटेका दिन केही पनि हुँदैन। पखेटै भएर पनि चरो रुखमै बासबस्न आउँछ। हामीलाई बुद्ध र सगरमाथामात्र लेख्यो भने पनि पुग्छ।

सफल नियात्राकार बन्नका लागि के गर्नु पर्छ ?
धेरै लेखकहरुले आफू नपढ्ने, अनि आफ्नो किताब धेरे बिक्री होस् भन्ने चाहानु हुन्छ र पो फेल भएको दखिन्छ। हामीले दालभात, तरकारी, अचार, दही, दुध खाएपछि जसरी शरिरले एउटै मात्र प्रतिक्रिया शक्तिवान भएर दिन्छ।

पढ्ने कुरामा पनि जे भेट्नु हुन्छ त्यही पढ्नुहोस्। त्यसको प्रतिफल लेखाइमा देखिन्छ। त्यसैले भाषामा प्रभाव पर्छ। पहिलो शर्त भनेको अध्ययन, दोस्रो शर्त पनि अध्ययन र तेस्रो शर्त भनेको पनि अध्ययन नै हो।

अध्ययन, अध्ययन, अध्ययन त्यसपछि लेखन र अनि परिमार्जन। युद्ध र शान्ति भन्ने उपन्यास सात पटक परिमार्जन गरिएको थियो। त्यसपछिमात्र सफल साहित्यकार हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *