बन्धन र मुक्तिको पर्व इन्द्रजात्रा

डिसी नेपाल
२ असोज २०७८ १३:३०

इन्द्रजात्रा खासगरी काठमाडौंका नेवार समूदायको विशेष पर्व हो, जुन दशैं आउनु भन्दा करिव ३ हप्ता अघि भाद्र महिनामा मनाइन्छ। यसलाई नेवारीमा येंन्यापुन्ही पनि भनिन्छ। यें को अर्थ काठमाडौं हो भने पुन्हीको अर्थ पूर्णिमा र न्याको अर्थ पर्व मनाउनु हो।

यसरी काठमाडौंबासीले पूर्णिमाको अवसर पारेर मनाउने जात्रा भएकोले येंन्यापुन्ही भनिएको हो। यो जात्रा खासगरी दशौं शताब्दिताका राजा गुणकामदेवको पालादेखि मनाइँदै आएको बुझिन्छ भनेपछि जयप्रकाश मल्लको पालामा कुमारीको रथ तान्ने प्रचलन पनि यसमा जोडियो। भाद्र द्वादशी तिथीबाट सुरु हुने यो पर्व भाद्र पूर्णिमा हुँदै आश्विन कृष्ण चतुर्दशीमा टुँगिन्छ। यसपाली इन्द्रजात्राको मुख्य दिन भाद्र त्रयोदशी असोज ३ गते आइतवार पर्छ।

हरेक पर्वको पछाडि कुनै न कुनै पौराणिक कथा वा किंवदन्ती लुकेको हुन्छ। काठमाडौंमा मनाइने यो इन्द्रजात्रा पर्वसँग पनि जोडिएको एक पौराणिक कथा छ। हिन्दूहरुले मनाउने हरेक जसो चाडपर्वको सांकेतिक अर्थ हुन्छ र त्यो पर्व हाम्रो धार्मिक ग्रन्थ वेद, उपनिषद्, इतिहास, पुराणको प्रसंगसँग कुनै न कुनै रुपमा जोडिएको पाइन्छ।

किंवदन्ती अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा डाकिनीलाई कुनै विशेष पुजाको निम्ति आवश्यक पर्ने पारिजातको फूलको खोजी गर्दै ऐरावत हात्तिमा बसी स्वर्गबाट पृथ्वीमा ओर्लेर काठमाडौंमा आइपुग्छन् । उनले यहाँ एक किसानको बारीमा सुगन्धले युक्त सुन्दर पारिजातको फूल देखेर टिप्न भनी लाग्दा ती किसानले उनलाई चोर सम्झेर समात्छ र डोरीले बाँधेर राख्छ।

पछि स्वर्गबाट उनकी आमा आई उनलाई फेला पार्छ र ती किसानलाई सम्झाई बुझाई गरेर छोरालाई छुटाएर लैजान्छ। कथा अनुसार काठमाडौंबासीले इन्द्रलाई बन्धनबाट मुक्त गराइदिएकोे बदलामा हरेक वर्ष जाडोको समयमा शीत र कुहिरो पठाइदिने वाचा गरी इन्द्रसहित उनकी आमा स्वर्गमै फर्कन्छन्।

किंवदन्ती अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा डाकिनीलाई कुनै विशेष पुजाको निम्ति आवश्यक पर्ने पारिजातको फूलको खोजी गर्दै ऐरावत हात्तिमा बसी स्वर्गबाट पृथ्वीमा ओर्लेर काठमाडौंमा आइपुग्छन् । उनले यहाँ एक किसानको बारीमा सुगन्धले युक्त सुन्दर पारिजातको फूल देखेर टिप्न भनी लाग्दा ती किसानले उनलाई चोर सम्झेर समात्छ र डोरीले बाँधेर राख्छ।

त्यस बखतदेखि इन्द्र काठमाडौंमा पारिजातको फूल लिन आएको सम्झनामा हरेक वर्ष इन्द्रजात्रा पर्व मनाइन्छ र सो पर्वमा इन्द्र, डाकिनी आदि विभिन्न देवी देवताहरुको मुकुण्डो तथा मूर्ती राखेर पूजाआजा गरेर मनाइन्छ। सो अवसरमा काठमाडौंमा नचाइने पुलुकिसी नामक हात्ति इन्द्रको हात्ति ऐरावतकै प्रतीक मानिन्छ।

अब यस किंवदन्तीलाई अलि विश्लेषण गरेर हेरौँ। इन्द्रलाई कतिपय उपनिषद्मा आत्मा, मन वा इन्द्रीयकोरुपमा पनि लिइएको छ। कतै, कतै इन्द्रलाई वर्षाको देवता बादल वा पर्जन्य भनेर पनि सांकेतिकरुपमा लिइएको पाइन्छ। इन्द्र पारिजात फूलको खोजीमा आउनु भनेको मानिसको इन्द्रिय विषय, बासनाको खोजीमा भौतारिएको भन्ने साँकेतिक अर्थ लाग्छ। जब इन्द्रीय विषय, बासनातर्फ आकर्षित हुन्छ, जब मानिस कामनाको घोंडा यताउति दौडाउन थाल्छ तब ऊ समस्यामा पर्छ।

यसरी कामनाको पछि लाग्ने मानिस सांसारिक बन्धनमा पर्नु स्वाभाविक हो। सो कथामा इन्द्रलाई किसानले डोरिले बाँध्नुको अर्थ कामनाको दास बनेका मानिस सांसारिक बन्धनमा पर्नु भन्ने बुझिन्छ। पछि इन्द्रका आमाले काठमाडौं आई काठमाडौंबासीहरुलाई सम्झाइ, बुझाई गर्छन् अर्थात् इन्द्रीयले आफूलाई संयमित एवं अनुशासित गरी शान्त पार्छ, जसको कारण मानिस जन्म, मरणरुपी सांसारिक बन्धनबाट मुक्त हुन्छ।

हाम्रो शास्त्रले प्रवृत्ति र निवृत्ति गरी दुई मार्गको बारेमा बताएको छ। स्वाभाविक पाशविक प्रवृत्तिमा लाग्ने इन्द्रिय सांसारिक बन्धनमा पर्दछ भने शास्त्र विहित कर्म गरी विषयबाट निवृत्त भएपछि त्यसले आत्मदर्शन गर्छ र मुक्ति प्राप्त गर्छन। तसर्थ इन्द्रजात्रा बन्धन र मुक्तिको पर्व हो।

इन्द्र शब्दले मानिसको मन वा आत्मालाई जनाउने कुरा एक उपनिषद्मा उल्लेख गरिएको छ। ऐतरेयोपनिषद्का अनुसार आत्मा उत्पन्न भै त्यसले शरीरमा प्रवेश गरेपछि यहाँ मदेखि बाहेक अरु को रहेछ भनी हेर्दा आफ्नै स्वरुपलाई देख्छ, र भन्छ, इदम्द्र अर्थात् मैले आफैलाई देखेँ। यसरी मैले देखेँ अर्थात् इदम्द्र भनेको हुनाले त्यसलाई परोक्षरुपले इन्द्र भनियो । (ऐतरेय।१।३।१३)

यसरी चाडपर्वहरु मनाइँदा केवल मिठो खाने, राम्रो लगाउने, घुमघाम र रमाइलो मात्र नगरी शास्त्रमा बताइएको त्यसको अर्थ केलाई त्यसले गरेको संकेतलाई बुझेर त्यसको वास्तविकता र महत्वलाई आत्मसात गरी मनाउन सके त्यसबाट हामी लाभान्वित हुन सक्छौं।

कथा सरसर्ती हेर्दा प्रश्न उठ्नसक्छ, स्वर्गमा के नपुग हुन्थ्यो र इन्द्रलाई पृथ्वीसम्म आउने कष्ट गर्नको निम्ति ? अनि तीनैलोकमा शासन गर्ने स्वर्गका राजा इन्द्रलाई बाँध्ने डोरीे पृथ्वीका बासिन्दासँग होला र ? कुनै पनि विषयको वास्तविक ज्ञान पाउन केवल शाव्दिक अर्थ मात्र नहेरी त्यस अर्थ भित्र लुकेको गहिरो भावलाई बुझ्ने कोशिस पनि गरिनुपर्छ। तसर्थ इन्द्रले पारिजातको फूल खोज्न पृथ्वीमा आएको भन्ने यस कथाको प्रसँग कुनै विशेष अर्थ दर्शाउन संकेतस्वरुप प्रयोग गरिएको भनी बुझ्न गाह्रो पर्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *