परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

डिसी नेपाल
६ असोज २०७८ ६:३७

काठमाडौं। सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका छन् ।

सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म बुधबार नभए बिहीबार परराष्ट्रमन्त्री नियुक्त हुने भएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभाको साइड लाइन मिटिङका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने सरकारलाई बाध्यता छ । न्यूयोर्कमा सार्क राष्ट्रका विदेशमन्त्रीको भेला पनि हुने भएकाले सरकारलाई परराष्ट्र मन्त्री यथाशक्य चाँडो नियुक्त गर्न दबाब छ ।

‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ, अन्य मन्त्रालयमा पनि छिटै मन्त्री बनाउने सहमति गठबन्धनका शीर्ष नेताहरूबीच बनेको छ,’ गठबन्धनमा आबद्ध जनमोर्चाकी नेत्री दुर्गा पौडेलले भनिन् । यद्यपि, अन्य मन्त्रीका विषयमा दलहरूबीच सहमति जुटिसकेको छैन ।

अन्य प्रमुख मन्त्रालयमा पनि मन्त्रीहरू नियुक्त गर्दै जाने सहमति पाँच दलबीच भएको छ । बुधबार पनि पाँच दलको बैठक बस्ने भएको छ ।

परराष्ट्रमन्त्री कसलाई बनाउने भन्ने विषयमा निर्णय हुन बाँकी छ । यसका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुधबार दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । पदाधिकारी बैठकले परराष्ट्रमन्त्रीबारे टुंगो लगाउनेछ ।

स्रोतका अनुसार नारायण खड्का परराष्ट्रमन्त्री बन्ने सम्भावना छ । खड्का देउवाका विश्वास पात्र मानिन्छन् । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *