४२औँ विश्व पर्यटन दिवस मनाइँदै

डिसी नेपाल
१० असोज २०७८ २२:३५

काठमाडौं । आज ‘४२ औं विश्व पर्यटन दिवस’ विविध कार्यक्रम गरी मनाईदैछ ।

यसवर्ष ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाईदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

दिवस भव्यरूपमा मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै कम सङ्ख्याका उपस्थितिमा दिवस मनाइने बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिए । उनका अनुसार बोर्डको हलमा औपचारिक समारोह आयोजना हुनेछ ।

दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नक्सालस्थित संस्थाको सचिवालय परिसरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तादान गरिनेछ ।

नेपाल पर्वतारोहण सङ्घले पनि दिवसको अवसर पारेर सोमबार नागपोखरीस्थित आफ्नो नवनिर्मित भवनको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ । विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल (हान) ले आज विज्ञप्ति निकालेर विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल व्यवसायी उत्साहित भएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *