पर्यटनलाई चलायमान बनाउनुपर्छः पर्यटन सचिव कोइराला

डिसी नेपाल
११ असोज २०७८ २३:२०

काठमाडौं । ‘टुरिज्म फर इन्क्लुसिव ग्रोथ’ भन्ने मूल नाराका साथ ४२औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा साइकल ¥याली, वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।

बोर्डले आयोजना गरेको कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको पर्यटनलाई सुरक्षाका उपाय अपनाउँदै र अँगाल्दै चलायमान बनाउनुपर्ने बताए । उनले पर्यटन खुला गर्ने गरी नयाँ मापदण्ड आएकाले त्यसको अनुसरण गर्दै अगाडि बढ्न व्यवसायीलाई आग्रह गरे ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिड महामारी र त्यसबाट सृजित बन्दाबन्दीले पर्यटन व्यवसायमा ठूलो असर परेको उल्लेख गर्दै राज्यले यसको प्रवर्द्धनमा विशेष चासो दिनुपर्ने धारणा राखे । उनले महामारीबाट प्रत्यक्ष, अप्रत्यक्ष गरी करीब १० लाख जनशक्तिको रोजगार सङ्कटमा परेको बताउँदै पर्यटन क्षेत्रको जनशक्तिलाई अल्पकालीन रोजगारीका लागि बोर्डले युएनडिपीसँगको सहकार्यमा अल्पकालीन रोजगारीको कार्यक्रम सुरु गरेको जानकारी दिए ।

यस्तै बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका लागि नयाँ सुरक्षा प्रोटोकल सार्वजनिक भइसकेकाले त्यसका आधारमा विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले पर्यटन उद्योगलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि सरकार र निजी क्षेत्र मिलेर काम गर्दा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका सकारात्मक ऊर्जा मिल्ने धारणा राखे ।

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले कोभिडका कारण विगत वर्षमा धेरै काम गर्न नसकिएको बताउँदै विगत वर्षमा पर्यटनमा उत्कृष्ट योगदान गर्ने संस्था तथा व्यक्तिलाई यो वर्ष सम्मान गरिएको जानकारी दिए । बोर्डका निर्देशक हिक्मत सिंह ऐरले कोभिडका बीच अहिले पर्यटन खुल्ने निर्णयले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताए ।

बोर्डमा आयोजित कार्यक्रमअघि बिहान बोर्डबाट इलेक्ट्रिक साइकल र्‍याली आयोजना गरिएको थियो । साइकल ¥यालीको मन्त्रालयका सचिव कोइरालाले उद्घाटन गरेका थिए। उक्त साइकल र्‍याली ठमेल वसन्तपुरलगायत क्षेत्र परिक्रमा गरी बोर्डमा आई समापन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *