यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

डिसी नेपाल
१३ असोज २०७८ १६:३१

काठमाडौं । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दशैंको लागि च्याङ्ग्रा नल्याउने भएको छ ।

हरेक वर्ष कम्पनीले बजार सन्तुलनको लागि सीमित संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गरी बिक्री गर्दै आएकोमा यो वर्ष भने नल्याउने भएको हो । दशैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसी/बोका मात्र बिक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।

उनका अनुसार बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । “एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौँ, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बत्बाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन”, उनले भने । कम्पनीले गत वर्षको दसैँमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै बिक्री वितरण गरेको थिएन ।

मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाएको छ । सूचना अधिकारी न्यौपानेले दाङबाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको जनाउँदै आवश्यकता अनुसार थप खरिद गर्ने जानकारी दिनुभयो । दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट बिक्री सुरु गर्ने जनाएको छ ।
कम्पनीले दशैंका लागि प्रति किलो खसी तथा बोकामा रु दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र कर्णीको सिमिमा रु १० छुट दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *